मनसुनी वायुको प्रभावले देशभर मौसममा बदली, पहाड र तराईका विभिन्न स्थानमा भारी वर्षाको सम्भावन
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा रहे पनि पश्चिमी भू-भागमा भने सरदरभन्दा उत्तरतर्फ रहेको महाशाखाले जनाएको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ। हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी प्रदेशको तराई भू-भागका केही स्थान, मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
भोलि बिहीबार दिउँसो पनि देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ। हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्नेछ भने पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेश र बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बिहीबार राति देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशका पहाडी तथा तराई भू-भाग र बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, पर्सि शुक्रबार दिउँसो पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्नेछ भने तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
शुक्रबार राति पनि देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ। हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ। कोशी प्रदेशका पहाडी तथा तराई भू-भाग र बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले आगामी तीन दिन देशका विभिन्न भू-भागमा वर्षा, मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले सर्वसाधारणलाई मौसमसम्बन्धी पूर्वसूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
