रैथाने अन्नको संरक्षणदेखि मौलिक नेपाली परिकारको प्रवर्द्धनसम्म : दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै

नेपालमा शताब्दीयौँदेखि विभिन्न जातजाति तथा समुदायले खेती, संरक्षण र उपभोग गर्दै आएको कोदो नेपालको महत्वपूर्ण रैथाने अन्नबाली हो। विशेषगरी पहाडी क्षेत्रमा मकैपछिको प्रमुख बालीका रूपमा खेती हुँदै आएको कोदो नेपाली कृषि प्रणाली, खाद्य संस्कृति, परम्परा तथा ग्रामीण जीवनसँग गहिरोसँग जोडिएको छ।

पौष्टिक, खडेरी सहनशील तथा जलवायु अनुकूलन क्षमतायुक्त अन्नबालीका रूपमा परिचित कोदोमा मानव स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषण तत्त्व पाइन्छन्। उपलब्ध तथ्याङ्कअनुसार कोदोमा करिब ७६.३२ प्रतिशत कार्बोहाइड्रेट, ९.२ प्रतिशत प्रोटिन, ६.१ प्रतिशत खनिज पदार्थ र १.३ प्रतिशत चिल्लो पदार्थ पाइन्छ। कम उर्वराशक्ति भएका जमिन तथा सीमित कृषि स्रोत भएका क्षेत्रमा समेत उत्पादन गर्न सकिने भएकाले खाद्य तथा पोषण सुरक्षाका दृष्टिले कोदो महत्वपूर्ण बाली मानिन्छ।

जलवायु परिवर्तनका कारण कृषि उत्पादन प्रणालीमा देखिएका चुनौती बढ्दै गएका बेला कोदो जस्ता खडेरी सहनशील तथा जलवायु अनुकूलनशील बालीको संरक्षण, उत्पादन र प्रवर्द्धनको आवश्यकता अझ बढेको छ। नेपालको कृषि जैविक विविधता तथा मौलिक खाद्य प्रणालीमा कोदोको महत्वपूर्ण स्थान रहेको छ। कोदो, कागुनो, धानकोदो, सामा, घोगे, चिना र जुनेलो लगायतका रैथाने अन्नबालीले नेपालको विविध कृषि प्रणाली तथा खाद्य संस्कृतिलाई समृद्ध बनाएका छन्।

कोदो तथा अन्य रैथाने अन्नबालीको संरक्षण, प्रवर्द्धन, उत्पादन, प्रशोधन, बजारीकरण तथा उपभोगलाई प्रोत्साहन गर्ने उद्देश्यले दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ विविध कार्यक्रमसहित मनाइने भएको छ। “कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन” भन्ने मूल नाराका साथ आगामी २०८३ श्रावण १५ गते शुक्रबार काठमाडौंको धापासीस्थित रैथाने एग्री प्रडक्ट्स नेपालको कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रमअन्तर्गत “कोदेबालीको अवस्था, चुनौती र अवसर” विषयमा प्रस्तुति, अन्तरक्रिया तथा छलफल आयोजना गरिनेछ। कार्यक्रममा वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीबाट विशेष प्रस्तुति रहनेछ भने अन्तरक्रिया तथा छलफल कार्यक्रम दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ। यसै अवसरमा कोदेबाली विशेष रैथाने कृषि बजार तथा मौलिक नेपाली खाना परिकार मेला भने बिहान ११ बजेदेखि नै सञ्चालन हुने आयोजकले जनाएको छ।

मेलामा कोदो तथा अन्य रैथाने अन्नबालीबाट उत्पादित खाद्य सामग्री, कृषि उपज तथा मौलिक नेपाली परिकारको प्रदर्शनी तथा बिक्री गरिनेछ। साथै, कोदोजन्य बालीका बीउहरूको प्रदर्शनमार्फत स्थानीय तथा रैथाने बीउको संरक्षण, प्रवर्द्धन तथा आदान–प्रदानमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। रैथाने कृषि तथा स्थानीय खाद्य प्रणालीको संरक्षण र प्रवर्द्धनमा पत्रकारितामार्फत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका तीन जना पत्रकारलाई कार्यक्रममा सम्मान तथा प्रशंसापत्र प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा शिक्षक, विद्यार्थी, पत्रकार, पर्यटन व्यवसायी, किसान, व्यापारी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, उद्यमी तथा उपभोक्तालगायतको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार कृषि मेला तथा प्रदर्शनीका क्रममा करिब रु. ५ लाख बराबरको कारोबार हुने अनुमान गरिएको छ।

रैथाने एग्री प्रडक्ट्स नेपालले कोदो तथा अन्य रैथाने बालीको संरक्षण र प्रवर्द्धनलाई खाद्य तथा पोषण सुरक्षा, कृषि जैविक विविधता संरक्षण, स्थानीय अर्थतन्त्रको सुदृढीकरण तथा दिगो कृषि विकाससँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिँदै आएको छ। आयोजकका अनुसार कोदो केवल एउटा अन्नबाली मात्र नभई नेपालको कृषि इतिहास, मौलिक खाद्य संस्कृति, जैविक विविधता तथा स्थानीय जीवनशैलीसँग जोडिएको महत्वपूर्ण सम्पदा हो। यसको संरक्षण तथा प्रवर्द्धन किसान, उपभोक्ता, सरकार, निजी क्षेत्र, अनुसन्धान तथा विकास साझेदार र आम नागरिकको साझा जिम्मेवारी भएको आयोजकको भनाइ छ।

कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न टोखा नगरपालिका, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, राष्ट्रिय जीन बैंक, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन, विश्व प्रकृति संरक्षण नेपाल, रैथाने संरक्षण नेपाल तथा रैथाने मिडिया रिसर्च सेन्टर लगायतका संस्थाको सहकार्य रहने आयोजकले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?