अलैंचीमा नयाँ प्रविधि सिक्दै किसान

संखुवासभा — खाँदबारी सेकाहाका अलैंची कृषक छत्रमणि काफ्ले नयाँ प्रविधिको जानकारी लिन लमजुङ पुगे  । उनीसहितको टोलीले लमजुङको बेंसीसहर नगरपालिका १० खाँचेका अलैंची बगानमा प्रयोग गरिएको प्रविधिबारे जानकारी लिए  ।

खेतीमा नयाँ प्रविधि र आधुनिक भट्टीको प्रयोगले अलैंचीको गुणस्तर राम्रो भएकाले विभिन्न देशमा माग बढेको छ । ‘केही वर्षअघि अलैंचीले राम्रो आम्दानी गर्दै आएको थियो,’ उनले भने, ‘अहिले मूल्य घटेर गोदाममै थन्काउनुपरेको छ ।’

उनले संखुवासभामा विभिन्न गाउँ र नगरपालिकामा गुणस्तरीय अलैंची उत्पादन नभएकै कारण बिक्री हुन छाडेको बताए । उनले थपे, ‘नयाँ प्रविधि सिक्न लमजुङ गयौं र धेरै सिक्यौं । अलैंची अवलोकन गर्न यहाकाँ १० वटै स्थानीय तहका ३० जना कृषक लमजुङ पुगेका हुन् । कृषकको समूहले अलैंची बारीको स्थलगत अवलोकन गरेर त्यसको विषयमा लमजुङका कृषकसँग जानकारी लिएको कृषक पासाङ शर्पाले बताए ।

अलैंची खेतीको प्रचलित प्रजातिको चिनारी, प्रसारण विधि, नर्सरी व्यवस्थापन, बिरुवा रोपण, स्याहार, रोग किरा नियन्त्रण, उत्पादन, आधुनिक भट्टी र बजारीकरणलगायत विषयमा कृषकलाई जानकारी गराइएको हो । ताप्लेजुङपछि सबैभन्दा बढी अलैंची उत्पादन संखुवासभामा भए पनि गुणात्मक हिसाबले पछि परेको मकालु अलैंची जोनका अध्यक्ष तथा अलैंची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सुमन श्रेष्ठको भनाइ छ ।

गुणस्तरीय अलैंची उत्पादन र बजारीकरणबारे जानकारी लिने उद्देश्यले लमजुङमा भ्रमण गरिएको अध्यक्ष श्रेष्ठले जनाए । पछिल्लो समय अलैंचीको उत्पादन बढे पनि मूल्यमा उतारचढाव आएसँगै कृषक चिन्तित बनेका छन् । अलैंचीबारे विभिन्न जानकारी लिएकाले आगामी दिनमा यो जिल्लालाई व्यावसायिक रूपमा अलैंची उत्पादन गर्न ठूलो सहयोग मिल्ने उनको भनाइ छ । अलैंचीका विषयमा पूर्ण रूपमा जानकारी पाएपछि कृषकहरू खुसी भएको अध्यक्ष श्रेष्ठ जनाए ।

परम्परागत भट्टी प्रयोग गर्दै
संखुवासभा– मकालु गाउँपालिका नुमका कृषक दुर्गा पराजुलीले दुई वर्षअघि आधुनिक भट्टीबाट सुकाएको अलैंचीको मूल्य पाएनन् । परम्परागत शैलीबाट सुकाएको अलैंचीको मूल्यउस्तै भएपछि उनी पुरानै भट्टीमा फर्किए । आधुनिक भट्टीमा सुकाउँदा धूवाँ कम लाग्ने र राम्रो रङको अलैंची निस्किए पनि सुक्न लामो समय लाग्ने उनको भनाइ छ । ‘परम्परागत भट्टीमा सुकाउँदा करिब ३६ घण्टामा सुक्ने अलैंची आधुनिक भट्टीमा एक साता लाग्छ,’ उनले भने, ‘लामो समय लगाएर सुकाएको राम्रो अलैंचीको मूल्य पनि उस्तै छ ।’ गाउँका सबै कृषकले परम्परागत भट्टीको प्रयोग गरी अलैंची सुकाउने गरेको उनले बताए ।

मकालु गाउँपालिकामा मात्र नभएर अन्य स्थानका कृषकले पनि पुरानै शैलीको भट्टीमा अलैंची सुकाउने गरेका छन् । ‘मूल्य उस्तै भएकाले उनीहरूले पुरानै शैली छाड्न सकेका छैनन्,’ उनले भने, ‘मिहिनत लगाएर अलैंची सुकाए पनि मूल्य नबढ्ने हो भने कृषक थप मारमा पर्नेछन् ।’ ‘मैले लामो समय आधुनिक भट्टीमा सुकाएर लगेको अलैंची पनि परम्परागत भट्टीमा सुकाएको सँगै मिसाएर उही मूल्यमा बेचें,’ सिलिचोङ ३ ताम्कुका कृषक तुलाबहादुर कुलुङले भने, ‘पछिल्लो समय यहाँ गुणस्तरसम्बन्धी कुनै ज्ञान नभएका बिचौलियाहरूले अलैंची संकलन गरिरहेका छन् ।’

अलैंची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सुमन श्रेष्ठले गुणस्तरको अलैंचीलाई राम्रो मूल्य दिने गरेको बताए । धूवाँरहित रातो रङको अलैंचीलाई प्रतिमन तीन देखि चार हजारसम्म बढी मूल्य दिन्छौं,’ उनले भने, स्थानीय व्यापारीले गुणस्तरयुक्त र गुणस्तरहीन अलैंचीलाई मिसाएर ल्याउँछन् अनि एउटै मूल्य पाउँछन्, आधुनिक भट्टी प्रयोग गर्न अग्रसर हुँदैनन् ।’ ‘कतिपय कृषकले तौल बढाउन सुकेको अलैंचीमा पानी छर्कने र ओसिलो ठाउँमा राख्छन्,’ उनले भने, ‘यसो गर्दा गुणस्तर घटछ र मूल्यमा पनि कमी हुन्छ ।’

‘गुणस्तर नभएको अलैंचीले मूल्य पाउँदैनन्,’ उनले भने, कृषकको आफ्नै कमजोरीले समस्या छ ।’ कृषकको व्यक्तिगत स्वार्थ खाजेर छिट्टै नाफा कमाउने उद्देश्य राखेपछि मूल्यमा कमी आएको उनको भनाइ छ । कान्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments