यार्सागुम्बा बिक्री नहुँदा लाखौँ घाटा

दार्चुला, दार्चुलामा यो वर्ष व्यवसायीले खरिद गरेको यार्सागुम्बा बिक्री भएको छैन । गत असारदेखि भदौसम्म खरिद गरिएका यार्सागुम्बामध्ये दुई क्विन्टलभन्दा बढी अझै बिक्री हुन नसक्दा व्यापारी र सङ्कलक दुवै समस्यामा परेका छन् ।
स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतका  रूपमा रहेका यार्सागुम्बा बिक्री नभएपछि सङ्कलकहरूलाई हातमुख जोर्न समस्या भएकोे छ । यार्सागुम्बा सङ्कलकले व्यापारीबाट यार्साबापतको रुपियाँ मागिरहेका छन् तर व्यापारीले खरिद गरेको यार्सागुम्बा बिक्री गर्न नसक्दा तिर्न नसकेको बताएका छन् । यार्सागुम्बा गुणस्तर हेरेर प्रतिकिलो १७ लाखदेखि २२ लाख रुपियाँसम्म बिक्री हुने गरेको व्यापारी तेजबहादुर बमले बताउनुभयो । काठमाडौँमा प्रतिकिलो १० लाख रुपियाँभन्दा बढी मूल्यमा बिक्री गर्न नसक्दा यार्सागुम्बामा प्रतिकिलोग्राम आठ लाखसम्म घाटा ब्यहोर्नु परेको बमको भनाइ छ । उहाँले भन्नुभयो, स्थानीय सङ्कलकबाट उधारोमै यार्सागुम्बा खरिद गरिएको छ, खरिद मूल्यसमेत नपाउँदा समस्या परेको छ ।
यार्सा व्यापारीहरूले बैङ्कको ऋण, आफन्तबाट निकालेको ऋण तथा सङ्कलकलाई तिर्नुपर्ने रकम कसरी दिने भन्ने समस्या भएको बताएका छन् । अधिकांशले जिल्लामै यार्सागुम्बा थन्काएका छन् भने केहीले यार्सागुम्बा काठमाडौँ पु¥याएका छन् । व्यापारीका अनुसार झण्डै दुई क्विन्टल यार्सागुम्बा जिल्लामै रहेको छ । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार हालसम्म जिल्लाबाट ५५५ किलोग्राम यार्सागुम्बा निकासी गरिएको छ । कार्यालयले यो वर्ष यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका २०७३ अनुसार ८२० क्विन्टल यार्सागुम्बा निकासी गर्न सकिने उल्लेख छ ।
ओसारपसार गर्ने म्याद सकिए पनि अझै व्यापारीले मूल्य नपाएको भन्दै यार्सागुम्बा जिल्लाबाहिर लिएका छैनन् । चीनमा यार्सागुम्बा निर्यात गर्ने ठूला व्यापारीबाट लागत मूल्य पनि नपाएपछि यार्सागुम्बा त्यतिकै थन्किएको व्यापारी धनसिंह जागरीले बताउनुभयो ।
दार्चुलाका अपी हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोतका रूपमा यार्सागुम्बा र जडीबुटी हो । जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लीङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ । गोरखापत्र

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments