उखुको न्यूनतम मूल्य कार्यान्वयन भएन

मोरङ — उखुको न्यूनतम समर्थन मूल्य कार्यान्वयन हुन सकेको छैन  । सरकारले तोकेको न्यूनतम मूल्यमा चिनी उद्योगीहरूले कृषकको उखु खरिद नगरेपछि किसान समस्या परेका छन्  ।

न्यूनतम मूल्य कार्यान्वयनमा सरकारले चासोसमेत नदेखाएको गुनासो किसानको छ । मन्त्रिपरिषद् बैठकले पुसमा उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको थियो । यसमा ६५ रुपैयाँ २८ पैसा सरकारले कृषकलाई अनुदान उपलब्ध गराउने र चिनी उद्योगीले ४ सय ७१ रुपैयाँ २८ पैसा प्रतिक्विन्टल दिनुपर्ने तोकेको थियो ।

सरकारी मूल्यमा उद्योगीले कृषकसँग उखु खरिद गरे/नगरेकोबारे अनुगमन/निरीक्षणसमेत भएको छैन । सुनसरीको बर्जु गाउँपालिका ५ स्थित इस्टर्न सुगर मिल्सले कृषकलाई गलाएर प्रतिक्विन्टल ४ सय ४१ रुपैयाँ २८ पैसामा उखु बिक्री गर्न बाध्य पारेको छ । उखु खेतमै फुलेर सुक्न थालेपछि यहाँका कृषक सरकारले तोकेको न्यूनतम मूल्यभन्दा ३० रुपैयाँ कममा उद्योगीलाई बिक्री गर्न बाध्य छन् । सुनसरी, मोरङ र झापाका कृषकले बिक्री गर्दै आएको उखु इस्टर्न सुगर मिल्सले मूल्य विवादका कारण क्रसिङमा ढिलाइ गरेपछि सरकारले तोकेको मूल्यभन्दा कममा बिक्री गर्न बाध्य भएका हुन् ।

विराटनगर ११ का कृषक ध्रुवराज कोइरालाले उखु खेतमा फुलेर दिन प्रतिदिन सुक्दै गएकाले जसरी पनि बिक्री गर्नैपर्ने अवस्थामा मिल्सले भनेकै मूल्यमा बिक्री गर्न बाध्य भएको गुनासो पोखे । ‘खेतमै सुकाउनुभन्दा कम मूल्यमा भए पनि बिक्री गर्न बाध्य भयौं,’ उनले भने । कृषक सत्यजीवन कामतले सरकारले तोकेको प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसामा उद्योगीले खरिद गर्न नमानेपछि ३० रुपैयाँ उखु विकासको नाममा खर्च गर्ने भन्दै ५ सय ६ रुपैयाँ ५६ पैसामा बिक्री गर्नका लागि सहमति गर्न बाध्य भएको बताए ।कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments