चियाको पहिलो टिपाइ ‘फस्ट फ्लस’ शुरु

इलाम, यो वर्षको चियाको पहिलो टिपाइ ‘फस्ट फ्लस’ शुरु भएको छ । ‘फस्ट फ्लस’ लाई चियाको सबैभन्दा गुणस्तरीय उत्पालन र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत मानिन्छ ।
यो सिजनको चिया प्रशोधन गर्न पनि उत्तिकै ध्यान दिइयो र गुणस्तरीयता कायम राख्न सकियो भने त्यसले किसान, उद्योगी र उपभोक्तालाई समेत फाइदा पुग्ने कञ्चनजङ्घा अर्गानिक चिया प्रशोधन उद्योग सञ्चालन गर्दै आएकी इलाम साँखेजुङकी सञ्चालक मिलनकुमारी खत्रीले बताउनुभयो ।

कञ्चनजङ्घा अर्गानिक चिया प्रशोधन उद्योगले गत चैत सात गतेदेखि यो वर्षको प्रशोधन शुरु गरेको छ । गत वर्ष २० टन तयारी चिया उत्पादन गरेको उद्योगले उत्पादनको ५० प्रतिशत चिया विदेश निर्यात गरेको खत्री बताउनुहुन्छ । उद्योगमा चिया बिक्री गर्ने प्रायः सबै किसानको चिया अर्गानिक प्रमाणीकरण भइसकेकाले यो वर्ष तेस्रो मुलुकका नयाँ–नयाँ व्यापारीबाट चियाको माग उच्च रहेको खत्रीले जानकारी दिनुभयो । फस्ट फ्लसलाई उत्पादन गर्छौं, सेम्पलिङ गर्छौं र तेस्रो मुलुक पठाउनेमै जोड दिन्छौँ, खत्रीले भन्नुभयो, अहिलेदेखि आगामी जेठ महिनासम्मको चियाले वर्षैभर उत्पादन हुने चियाको गुणस्तर र मूल्य धान्ने हुँदा पनि यही सिजनलाई बढी ध्यान दिनुपर्छ ।

अर्गानिक प्रमाणीकरण भइसकेको चमैताको तीनजुरे चिया कारखानाले यो वर्षको चिया प्रशोधन गर्ने तयारी गरेको छ । तीनजुरे चिया सहकारी संस्थाद्वारा सञ्चालित कारखानामा सोमबारदेखि प्रशोधन शुरु गरिने संस्थाका सचिव सोम शर्माले बताउनुभयो । गत वर्ष उत्पादन भएको सबै चिया विदेश निकासी भयो, शर्माले भन्नुभयो । यो वर्ष पनि भारतका व्यापारी आएका छन् तर अर्गानिक प्रमाणीकरण भएकाले भारतलाई भन्दा तेस्रो मुलुकका व्यापारीलाई नै प्राथमिकता दिनु राम्रो हुन्छ, त्यसैले फस्ट फ्लसलाई राम्रो र गुणस्तरीय बनाउनेमा लागिपरेका छौँ । इलाम टी प्रोडुसर्स प्रालिले पनि आफ्नो पञ्चकन्या र अन्तु दुवै स्थानका कारखानाबाट प्रशोधन शुरु गरेको छ । पहिलो पटक साढे आठ सय किलो चिया प्रशोधन गरिएको प्रोडुसर्स पञ्चकन्याका लेखापाल हेमचन्द्र चापागाईंले बताउनुभयो । यो वर्ष पहिलो टिपाइको उत्पादन राम्रो भएको छ, चापागाईंले भन्नुभयो, मौसमले साथ दियो भने चिया उत्पादन राम्रो हुने अवस्था छ । बगानमा मुना राम्रोसँग पलाउन थालेको छ । जिल्लाका सबैजसो चियाका ठूला तथा साना उद्योगहरू फस्ट फ्लसको चिया प्रशोधनको तयारीमा छन् ।गोरखापत्र

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments