टनेल बनाउन कृषकलाई प्लाष्टिक वितरण

मान्म,कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा सुनौला हजार दिनका आमाहरुलाई बेमौसमी तरकारी उत्पादनमा जोड दिन प्लाष्टिक वितरण गरिएको छ । तिलागुफा नगरपालिकाको कृषि विकास शाखाले स्थानीय स्तरमा रहेको कुपोषणको समस्यालाई न्यूनिकरण गर्न सुनौला हजार दिनका आमाहरुलाई बेमौसमी तरकारी उत्पादनका लागि प्लाष्टिक वितरण गरिएको हो ।
नगरपालिका भित्रका गर्भवती तथा सुत्केरी महिलाहरुको घरमा करेसाबारी स्थापना तथा बेमौसमी तरकारी खेती गर्न सहजताका लागि प्लाष्टिक वितरण गरिएको कृषि प्राविधिक निराजन पाण्डेले बताउनुभयो । उहाँले नगरपालिका भित्र रहेका २२ जना सुनौला हजार दिनका आमाहरुलाई एक दिने प्लाष्टिक घर निर्माण सम्बन्धी अभिमुखीकरण सहित प्रत्येकलाई एक एक वटा प्लाष्टिक घर वितरण समेत गरिएको बताउनुभयो । हरेक सुनौला हजार दिनका आमाहरुलाई प्लाष्टिक घर सहित, काउली, बन्दा, कांक्रा, गाँजर, मुला लगायतको तरकारीको बीउ समेत वितरण गरिएको छ ।
यस्तै कृषि प्राविधिक पाण्डेले तरकारीको रुपमा प्रयोग गर्न सकिने, तराई तथा मध्य पहाडमा उत्पादन हुने तर कालिकोटमा नचिनिएको बाली सितल चिनिको बीउ पनि वितरण गरिएको जानकारी दिनुभयो । जसको पात, काण्ड, फल र जरा समेत तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोगबाट मधुमेह, एचआईभी लगायतका रोगहरु न्यूनिकरणका साथै यसलाई निकै पोसिलो तरकारीको रुपमा मानिन्छ ।
तिलागुफा नगरपालिकाका उपप्रमुख दर्शना नेपालीले गाँउमा सिजनमा मात्र तरकारी खेती हुने भएकाले बेमौसमी तरकारी खेतीमा महिलाहरुलाई आकर्षित गर्न सुनौला हजार दिनका आमाहरुलाई प्लाष्टिक घर तथा तरकारीको बीउ सहयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, तिलागुफा नगरपालिकामा बालबालिकाहरुमा कुपोषणको समस्या धेरै छ । हरेक बार खाना चार बनाई कुपोषणको समस्या न्यूनिकरण गर्नका लागि पनि यसले सहयोग पुग्नेछ । तिलागुफा नगरपालिकामा लागु भएको शुभारम्भ परियोजनाले पनि तीन बर्ष मुनीका बालबालिकाहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । सेभ द चिल्ड्रेन र भिडिसेफ नेपालको साझेदारीमा लागु भएको परियोजनाले नगरपालिकाको स्वास्थ्यको तथ्यांकका हिसावले निकै कम्जोर रहेको नगरपालिकामा हरेक स्वास्थ्य संस्थाहरुको व्यवस्थापनमा सुधार, स्वास्थ्यकर्मीहरुको क्षमता विकास, स्थानीय तहका पदाधिकारीहरु तथा अन्य सरोकारवालाहरुको क्षमता विकास गरी कुपोषणको समस्याका साथै घरमा सुत्केरी हुने समस्याको न्यूनिकरण गर्ने अभियान थालिएको तिलागुफा नगरपालिका स्वास्थ्य शाखा उप संयोजक बास्मती शाहीले बताउनुभयो । गोरखापत्र

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments