लक्ष्यको ७१ प्रतिशत मात्र धान खरिद

काठमाडौँ, गत वर्षहरूभन्दा एक महिना ढिला गरी धान खरिद प्रक्रिया सुरु गरेको नेपाल खाद्य संस्थानले लिएको लक्ष्यमा ७१ प्रतिशत मात्रै धान खरिद गरेको छ । संस्थानले धान खरिद गर्न सुरु गरेको चार महिनामा कञ्चनपुरदेखि झापासम्म गरेर त्यो परिणाम बराबरको धान खरिद गरेको हो । संस्थानले यस वर्षका लागि तीन लाख ५० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकोमा दुई लाख २५ हजार क्विन्टल मात्रै खरिद गर्न सफल भएको छ । जुन यो वर्ष लिएको लक्ष्यभन्दा एक लाख २५ हजार क्विन्टल कमी हुन आउँछ ।

अघिल्ला वर्षहरूमा कात्तिकको सुरुदेखि धान खरिद प्रक्रिया सुरु गर्दै आएको संस्थानले यस पटक मङ्सिरको पहिलो सातादेखि मात्रै धान खरिदको प्रक्रिया सुरु गरेको थियो ।
संस्थानका प्रवक्ता शङ्करप्रसाद सापकोटाले यसपटक धान महँगो भएकाले पनि लक्ष्यअनुसार धान खरिद गर्न नसकिएको बताउनुभयो । प्रवक्ता सापकोटाले गएको साउनमा सरकारले गरेको निर्णयअनुरूप तोकिएको समर्थन मूल्यमा धान खरिद गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थानले यस वर्ष तीन लाख ५० हजार क्विन्टल धान खरिद गर्ने योजनासहित ९१ करोड बजेट विनियोजन गरेको थियो ।

गत साउन २३ गतेको मन्त्रिपरिद्को बैठकले मोटो धानको प्रतिक्विन्टल दुई हजार ३३१ रुपियाँ २२ पैसा र मध्यम धानको दुई हजार ४६० रुपियाँ ५७ पैसा न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कात्तिक १५ गते संस्थानलाई कार्यान्वयनका लागि निर्देशनअनुरूप सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । संस्थानका विर्तामोड, मोरङ, लहान, जनकपुर, वीरगन्ज, भैरवा, नेपालगञ्ज, राजापुर, धनगढी, टीकापुर तथा महेन्द्रनगर गरी ११ स्थानबाट खरिद गरिएका धानको कुटनीसमेत व्यवस्था गरेको जानकारी दिनुभयो ।

संस्थानले यस अवधिमा खरिद गरेका धानको विवरणअनुसार मध्यम खालको धान एक लाख ९७ हजार ५४ केजी रहेको छ भने मोटा धान २८ हजार १४ क्विन्टल ३४ केजी खरिद गरिएको छ । संस्थाले यस अवधिमा खरिद गरेका धानमध्ये सबैभन्दा धेरै सिराहाबाट ६९ हजार ९९५ क्विन्टल खरिद भएको छ भने सबैभन्दा कम बर्दियाबाट ३३० क्विन्टल मात्रै खरिद भएको छ । यस्तै बाँकेबाट ५१ हजार ५५२ क्विन्टल, कैलालीबाट धनगढीबाट २१ हजार ६३२ क्विन्टल, झापाबाट २८ हजार २९४ क्विन्टल, मोरङबाट १९ हजार ९९० क्विन्टल, पर्साबाट २४ हजार ५८७ क्विन्टल, रूपन्देहीबाट २४ हजार ९९६ क्विन्टल, धनुषाबाट पाँच हजार ६८ क्विन्टल, झापाबाट २४ हजार १० क्विन्टल खरिद गरेको छ । यस्तै कञ्चनपुरबाट ५१० क्विन्टल गरी दुई लाख २५ हजार ९२० क्विन्टलको धान खरिद गरिसकेको संस्थानले जनाएको छ । गत वर्ष दुई लाख ७६ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकोमा एक लाख ८५ हजार क्विन्टल मात्रै धान खरिद गर्न सफल भएको थियो । यस वर्ष र गत वर्ष संस्थानले धान खरिदको प्रगति तुलना गर्दा यो वर्ष थोरै सुधार भएको देखिन्छ । संस्थानले गत वर्ष लक्ष्यको ७९ प्रतिशत धान खरिद गरेको थियो । गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments