धौधौमा जुजु धौ

Krishi Suchana - Agriculture in Nepal

भक्तपुर — पाल्पालाई ढाकाले र भोजपुरलाई खुकुरीले चिनाएजस्तै भक्तपुरलाई जुजु धौले चिनाउँछ भन्ने सामान्य ज्ञानका विद्यार्थी सबलाई थाहा छ  । यो ज्ञानमा अब भने धक्का लाग्लाजस्तो छ  ।

किनभने भक्तपुरको चिनारी जुजु धौ संकटमा पर्दै छ । जुजु धौ अर्थात् राजा दहीलाई चाहिने गुणस्तरीय दूध उपलब्ध नहुनाले बनाउनै मुस्किल हुन थालेपछि व्यवसायी, भक्तपुरवासी मात्रै होइन, संस्कृतिविद् पनि चिन्तित छन् । फ्याटयुक्त दूध कम हुँदै आएपछि विगतमा भन्दा दहीको गुणस्त घट्दै आएको छ । ‘राम्रो जुजु धौ बनाउन दूधमा सात प्रतिशत चिल्लोपन चाहिन्छ तर अहिलेको दूधमा मुस्किलले जम्मा साढे चार प्रतिशत मात्र त्यो पाइन्छ,’ दही व्यापार गर्दै आएका सैंजु दही भण्डारका कृष्णगोपाल सैंजु भन्छन्, ‘दूधै नहुनाले जुजु धौ बनाउन सकिएको छैन ।’

४ दशमलव ५ प्रतिशतभन्दा कम चिल्लोपन अर्थात् फ्याट भएको दूध दही बनाउन योग्य नभएकाले भक्तपुरको पहिचान जुजु धौ संकटमा परेको अर्का व्यवसायी जयराम त्यातले बताए । व्यवसायीहरूका अनुसार कृषकका गाईले खाने दानापानीमा प्रदूषण भएकाले दूधको चिल्लोपनमा कमी आएको हो । पहिले प्रांगारिक मलमा उम्रेका घाँसपात, पराल, हिमा, पिसेको तोरीजस्ता खाद्यवस्तुले गाईभैंसीको आवश्यक पोषण आपूर्ति गर्ने हुँदा गुणस्तरको दूध पाइन्थ्यो ।‘अहिले खेतबारीमा सबैले कीटनाशक औषधि हाल्छन् जो मन्दविषजस्तै हो,’ जगतराम भन्छन्, ‘त्यसैले दूध पनि न पोसिलो छ न चिल्लोपनले युक्त नै ।’ नेपाली मात्र नभएर विदेशी पर्यटकका माझ पनि ख्याति कमाएको जुजु धौ मागअनुसार उत्पादन गर्नै नसकिने अवस्था आइलागेको उनी बताउँछन् । भक्तपुरका छालिङ, नगरकोट, आसापुरी, सुडाल, ताथली र झौखेललगायतका काँठ क्षेक्रबाट जुजु धौका लागि व्यवसायीहरूले दूध किन्दै आएका थिए । अहिले युवा जनशत्ति वैदेशिक रोजगारमा लाग्नाले पशुपालनमा कम हुन गएको छ । उत्पादन भएको दूधसमेत गुणस्तरको पाइन मुस्किल हुन थालेको व्यवसायीहरूको गुनासो छ । पशुपालन कम भइरहेको छ भन्ने तथ्यांक जिल्ला पशु सेवा कार्यालय भक्तपुरले पुष्टि गरिदिएको छ ।

२०७०/७१ मा स्थानीय, वर्णसंकर र उन्नत गरी जम्मा १९ हजार ६ सय ७६ दुहुना गाईभैंसी भक्तपुरका किसानले पालेका थिए । २०७४/७५ को तथ्यांकमा घटेर १८ हजार ६ सय २८ मा झरेको छ । जनसंख्या बढ्ने, दहीको खपत पनि बढ्ने तर दूध दिने चौपायाचाहिँ घट्ने क्रम आफैंमा निराशाजनक भएको अधिकारीहरू बताउँछन् । तथ्यांकबमोजिम भक्तपुरे किसानबाट २०७०/७१ मा १९ हजार २ सय ३५ टन दूध आपूर्ति भएको थियो भने २०७४/७५ मा घटेर ७ हजार ८ सय १३ दशमलव ३३ टन दूध आपूर्ति भएको छ । यसले दूध उत्पादन तुलनात्मक रूपले तीव्र दरमा घट्दै गएको देखाउँछ । पहिले भक्तपुरमा बढी भएको दूध किसानहरूले दुग्ध विकास संस्थान र काठमाडौंका बजारमा बेच्थे । अहिले भक्तपुरकै उत्पादनले नपुगेर काभ्रेदेखि ल्याउनुपरेको दही उत्पादकहरू बताउँछन् ।

छैनन् घसिया
घसिया भक्तपुरको किसान समाजमा गाउँबाट दूध बटुलेर बजारमा पुर्‍याउने मान्छे हुन् । व्यवसायी कृष्णगोपाल राजभण्डारीका अनुसार पहिले दूधको समस्या हल गर्न घसियालाई गाईभैंसी किनेर दिने चलन थियो । घसिया पूजा भनेर वर्षमा एक दिन घसियालाई पूजाआजा गरी भोजभतेर गर्ने प्रचलन पनि थियो । हाल यो पनि सम्भव नभएको उनले बताए । संकटमा पर्दै गएको जुजु धौ स्वादका लागि मात्रै चिनिएको नभएर भक्तपुरको संस्कृतिमा पनि उत्तिकै महत्त्वपूर्ण छ । परिवारका सदस्यले काममा सफलता हासिल गर्दा, दुर्घटनाबाट बच्दा, विदेश जाँदा आफन्तलाई ‘धौ स्वगं’ भनेर दहीको टीका लगाइन्छ । सगुन दिन, गर्भवती महिलालाई पोषण पुर्‍याउन, नातागोताकामा जाँदा कोसेलीका रूपमा लगेर अत्मीय सम्बन्ध बनाउन भक्तपुरमा जुजु धौको प्रयोग गरिन्छ । विशेषगरी नेवार समुदायका मानिसहरूले कुनै पनि उद्देश्य प्राप्त होस्, मनले चिताएको पुगोस्, सुख तथा सुस्वास्थ्यको कामना र सफलताको कामना गर्नका लागि दहीको टीका सगुन दिने चलन छ । जन्मदिन, भाइटीका, मातातीर्थ औंसी, गोकर्ण औंसी तथा विभिन्न चाडवाडहरूमा पनि दहीको सगुन दिने र छोरी गर्भिणी हुने बेला माइती खलकले दहीको सगुन दिएर मात्र मिठो भोजन गराउने प्रचलन रहेको संस्कृतिविद् ओम धौवडेल बताउँछन् ।

सगुन भनेको राम्रो गुणको प्रतीक हो, त्यस्तै दही पूरा चन्द्रमाको । नेपालीमा ‘चन्द्रमा दाहिने पर्नु’ भन्दा मानिसको भाग्य चम्किनु भनिन्छ । त्यसैले मानिसको भाग्य जुनसुकै बेला चम्कियोस् भनी निधारको दाहिने भागमा दहीको सगुन लगाइदिने प्रचलन रहिआएको वागीश्वरी उच्च माविका सहप्राचार्य ज्ञानसागर प्रजापतिले बताए । नेवार समुदायको भोजमा दहीको सगुन लगाएर अन्तिममा राखिदिने चलन यसैले चलेको हो । यसको अर्थ भोज सम्पन्न भएको र जुठो भएकालाई चोख्याउने कार्य गर्ने संस्कृतिविद् प्रजापतिले बताए । भोजमा पेयपदार्थ सेवन गर्दा शरीरको सन्तुलन बिग्रे पनि दहीको टीकाले सन्तुलन गर्ने मान्यता रहिआएको उनी बताउँछन् । दूध उत्पादन घटेको पछिल्लो परिस्थितिले प्रतिष्ठित जुजु धौ सामान्य ज्ञानमा मात्रै सीमित होला कि भन्ने चिन्ताले जानकारहरूलाई सताउन थालेको छ ।कान्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments