तरकारी मूल्य : तथ्यांकमा घट्यो, बजारमा घटेन

काठमाडौँ — सहज आपूर्तिसँगै बजारमा तरकारीको भाउमा केही कमी आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार एक महिनाको अवधिमा हरियो तरकारीको भाउ ५१ प्रतिशतसम्म घटेको छ ।

‘तरकारीको राम्रैसँग भित्रिएको छ । आपूर्तिमा कुनै समस्या छैन,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘भारतबाट पनि पर्याप्त भित्रिएपछि मूल्य घटेको छ ।’

श्रेष्ठका अनुसार यसअघि दैनिक ६ सयदेखि साढे ६ सय टन भित्रिन्थ्यो । अहिले बढेर ७ सय टन पुगेको छ । बीचमा गोलभेंडाको मूल्य बढेको थियो । अहिले गोलभेंडाको पनि घटेको उनले दाबी गरे । समितिको तथ्यांकअनुसार गोलभेंडाको मूल्य १५.३८ प्रतिशतले घटेर ५५ रुपैयाँ पुगेको छ ।

बोडी, भिन्डीलगायत तरकारीको सिजन सुरु हुन थालेकाले केही दिनमा मूल्य फेरि घट्ने उनले दाबी गरे । ‘भिन्डी, बोडीको सिजन सुरु हुन लाग्यो । गर्मीको सिजन, लोकल तरकारी पनि आउँछ,’ उनले भने, ‘भारतबाट पनि आयात भइरहेको छ । अब थप मूल्य घट्छ ।’
समितिको तथ्यांकअनुसार काउली, भिन्डी, प्याज हरियो, ब्रोकाउली, भान्टा लाम्चो, बोडी, घिउसिमी, लौका, फर्सी हरियो, मटरकोसालगायत तरकारीको मूल्य घटेको उल्लेख छ । बजारमा भने उपभोक्ताले राहत पाएका छैनन् ।

उपभोक्ताले चर्को मूल्य तिर्दै आएका छन । ‘कालीमाटीमा बजारको हकमा मूल्य घटेकै हो,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘खुद्रा पसल र फुटपाथ बजारमा कालोबजारी भएको छ ।’ फुटपाथ बजारमा मनोमानी मूल्य भएको उनले बताए ।
सबै उपभोक्ताहरू कालीमाटी तरकारी बजारमा पुग्न सक्दैनन् । त्यसैले फुटपाथमा बिक्री गर्नेले मनोमानी असुल्दै आएको उनको दाबी छ । फुटपाथलाई व्यवस्थित गर्ने दायित्व नगरपालिकाको हो । ‘नगरपालिकाले अनुगमन गरे उपभोक्ताले सस्तोमा खरिद गर्न सक्थे,’ उनले भने, ‘अनुगमन भने छैन ।’

मूल्यका सन्दर्भमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि गर्छ । विभागको अनुगमन कालीमाटी बजारमा मात्रै केन्द्रित छ । बेलाबखतमा कालीमाटी तरकारी बजारमा अनुगमन गरे पनि खुद्रामा गरेको छैन । जसले गर्दा बजारमा सुधार हुन नसकेको जानकारहरू बताउँछन् ।

कालीमाटीको तथ्यांकअनुसार भन्टाको मूल्य प्रतिकिलो १८.१८ प्रतिशतले घटेर ४५ रुपैयाँमा कारोबार भएको छ । बोडी ५१.१६ प्रतिशतले घटेर १ सय ५ रुपैयाँमा झरेको छ । प्रतिकिलो ९५ रुपैयाँ पर्ने मटरकोसा घटेर ७५ रुपैयाँ, १ सय २५ रुपैयाँ पर्ने घिउसिमी घटेर ६५ रुपैयाँ पुगेको जनाएको छ । समितिका अनुसार प्रतिकिलो १ सय ९५ रुपैयाँ पर्ने तितेकरेला घटेर ९५ रुपैयाँ, ८५ रुपैया पर्ने लौका घटेर ५५ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै १ सय ३५ रुपैयाँ पर्ने परबल घटेर ९५ रुपैयाँ, ५५ रुपैयाँ पर्ने हरियो फर्सी ३५ रुपैयाँ, १ सय ४० रुपैयाँ पर्ने भिन्डी घटेर १ सय २५ रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ । प्याज, ब्रोकाउली, लसुनको मूल्य पनि घटेको तथ्यांकमा उल्लेख छ । प्याज घटेर किलोको ३५, ब्रोकाउली ६५ र लसुन सुकेको २ सय ४५ रुपैयाँमा बिक्री भएको उल्लेख छ ।

उपत्यकामा मुख्यतः धादिङ, चितवन, मकवानपुर, काभ्रेलगायत जिल्लाबाट तरकारी भित्रिन्छ । ऊक्त तरकारी कालीमाटी, बल्खु, मनोहरा, चाबहिल, टुकुचा, बालाजु होलसेलबाट अन्य क्षेत्रमा बित्री हुन्छ । एउटै क्षेत्रबाट आयात भएको तरकारी पसलपिच्छे फरक मूल्यमा बिक्री हुन्छ ।

सिजन सुरुसँगै धादिङको धार्के, पालुङलगायत वरिपरिका क्षेत्रबाट तरकारी भित्रिन्छ । उत्यकामा मुख्यतः धादिङ, नुवाकोट, काभ्रेबाट भित्रिन्छ । चितवन, मकवानपुरबाट पनि आउँछ । तराई तथा भारतबाट तरकारी कालीमाटी तरकारी बजारमा भित्रिएको तरकारीले उपत्यकाको ७० प्रतिशत माग धान्छ ।कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?