भारतीय माछा छ्यापछ्याप्ती
विराटनगर — भारतीय माछा आयातमा रोक लगाइए पनि विराटनगर बजारमा भने छ्यापछ्याप्ती छ । व्यापारीले शतप्रतिशतसम्म मूल्य बढाएर ग्राहक ठगिरहेका छन् । झापा र मोरङका विभिन्न छोटी नाकाबाट दैनिक चार टनसम्म माछा भित्रने गरेको छ ।
यहाँको गुदरी बजारमा मात्रै दैनिक सरदर ५ टनसम्म माछाको किनबेच हुन्छ । त्यसमध्ये झन्डै ४ टन भारतीय माछाको खपत छ । थोक बिक्रेता मालबाबु सहनीका अनुसार स्थानीय उत्पादन सरदर दैनिक मुस्किलले एक टन उपलब्ध हुन्छ ।
सरकारले आयातमा रोक लगाए पनि भारतीय माछा भित्रिन नछाडेको सहनीको भनाइ छ । उनका अनुसार आयातमा रोक लगाएपछि थोक मूल्यमा प्रतिकेजी ४० देखि ५० रुपैयाँसम्म बढेको छ । विराटनगर बजारमा दैनिक कम्तीमा ५ टन माछाको आवश्यकता पर्ने सहनीको भनाइ छ । ‘चोरी पैठारीबाट भए पनि भारतीय माछा आयात भइरहेकाले बजारमा अभाव छैन,’ उनले भने, ‘आयात नहुने हो भने स्थानीय उत्पादन प्रतिकिलो हजार रुपैयाँमा पनि पाइँदैन ।’
खुला बजारमा साताअघि प्रतिकेजी ३ सय ५० रुपैयाँमा पाइने माछा अहिले ७ सयसम्म पुगेको छ । होटल व्यवसायी भूषण श्रेष्ठले भने, ‘सरकारले भारतीय माछा आयातमा रोक लगाएको छ । बजारमा भने सर्वत्र पाइन्छ ।’ त्यही माछा साताअघि प्रतिकेजी ३ सय ५० रुपैयाँसम्ममा पाइने गरेको श्रेष्ठले बताए । अहिले त्यही माछालाई किलोको ७ सय रुपैयाँ पर्छ ।
प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मोरङमा तीन वर्षको अवधिमा करिब ४ करोड रुपैयाँ किसानलाई माछा खेतीका लागि अनुदान दिइसकेको छ । परियोजनाले किसानलाई एक हेक्टरमा पोखरी खन्न ३ लाख रुपैयाँ अनुदान दिँदै आएको छ ।कान्तिपुर
