बेमौसमी मकैबाट फाइदा खोज्दै किसान

maize

देउखुरी, बीस वर्षदेखि निर्माणाधीन कुलो सञ्चालनमा आएपछि बेमौसमी मकै खेती थालिएको छ । स्थानीय निकायमा जनप्रतिनिधि आएसँगै कुलो बनेकाले दाङको राजपुर गाउँपालिका ६ नयाँ बस्तीका स्थानीयले खेती गर्न पाएको बताएका छन् । वडा नम्बर ६ को बजेटबाट आठ लाख रुपियाँको लागतमा कुलो निर्माण भएर सिँचाइ भएपछि स्थानीयले सात बिघा क्षेत्रफलमा मकै खेती थालेको स्थानीय दीपक चौधरीले जानकारी दिनुभयो । उहाँले १२ कट्ठामा मकै खेती गर्नुभएको छ । सिँचाइको सुविधा पनि भयो, मकै सुपरजोनले पनि बिउ दियो त्यसैले बेमौसमी खेती गरेका हौँ चौधरीले भन्नुभयो ।

सोही गाउँकै ओमप्रकाश नेपालीले पनि १५ कट्ठामा मकै लगाउनु भएको छ । बाँझो जग्गामा चैतमा पनि हरिया मकै देख्दा स्थानीय खुसी भएका छन् । मकै खेती कार्यक्रमलाई स्थानीय जनप्रतिनिधिले पनि सघाएका छन् । कुलो मर्मत गरी सिँचाइको व्यवस्था भएपछि स्थानीय जनप्रतिनिधिको समन्वयमा सुपरजोनले प्राविधिक सहयोग गर्दै आइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ मकै सुपरजोन कार्यक्रमका प्रमुख कृषि अधिकृत पीतम्बर बस्नेतले जानकारी दिनुभयो । नमुना प्रदर्शनका लागि र किसानलाई मकै खेतीतर्फ आकर्षित गर्न खनजोत, मल बिउ सबै मेसिनको सहायताले गरिएको उहाँले बताउनुभयो ।

आफ्नो वडामा मकैका राम्रो बिरुवा देख्दा जनप्रतिनिधि पनि मक्ख छन् । मकै खेतीका लागि गरिएको पहल सफल भएको छ । निन्न आय भएका स्थानीयले मकै खेतीबाट फाइदा ल्याउने अवसरका रूपमा हामीले लिएका छौँ, वडा नम्बर ६ का वडा अध्यक्ष श्यामबहादुर रोकाले भन्नुभयो । लामो समय बाँझो जग्गामा मकै खेती भएको देख्दा आफूलाई पनि खुसी लागेको भन्दै अध्यक्ष रोकाले कृषि क्षेत्रबाट पनि आयआर्जनको प्रयास थालिएको बताउनुभयो ।राजपुर गाउँपालिका १ को गुरुङ खोलाको बागदुलामा पनि व्यावसायिक मकै खेती थालिएको छ । स्थानीयस्तरमै रहेको पानीको स्रोत प्रयोग गरी मकै खेती थालिएको वडा नम्बर १ का वडा अध्यक्ष विष्णु बुढाले जानकारी दिनुभयो । वडा कार्यालयको तीन लाख रुपियाँको लागतमा लिफ्ट प्रविधिबाट सिँचाइको व्यवस्था मिलाएपछि आठ बिघामा मकै खेती लगाइएको छ ।गोरखापत्र

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments