तरकारी खेतीले जीविकोपार्जन सहज

बाजुरा,बाजुराको बूढीगङ्गा नगरपालिका १० का देउसु साउँदले गाउँमा रहेको पाँच रोपनी बाँझो जमिनमा तरकारी खेती थालेपछि जीविकोपार्जन सहज भएको छ । भारतमा रहेर चौकीदारी कामले घरखर्च चलाउन नसकेका साउँदले आफूसम्म गाउँमा रहेको पाँच रोपनी बाँझो जमिनमा तरकारी खेती गरेर राम्रो कमाइ हुन थालेपछि अहिले उहाँलाई घर चलाउन मुस्किल छैन ।
साउँदले पाँच रोपनी जमिनमा बन्दा, काउली, मूला, रायो, टमाटरलगायत मौसमी तथा बेमौसमी तरकारी खेती गरेर घरमै राम्रो कमाइ गर्न थालेपछि घरपरिवार पनि खुसी छ ।
भारतको चौकीदारी कामबाट घरको सामान्य गुजाराबाहेक अन्य केही कमाइ गर्न नसकेका साउँदले अहिले घरमा आएर गाउँमा रहेको बाँझो जमिनमा तरकारी खेती गर्दा मासिक लाख रुपियाँसम्म कमाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, अहिले तरकारी खेतीबाट भएको कमाइले छोरा र छोरीलाई पढाउन र घरखर्च गर्नमा पनि सहज भएको छ ।

कामको खोजी गर्दै विदेशमा भौँतारिने यहाँका धेरै युवाले स्वदेशमा नै कृषि उद्यम गरे भने जीवन धान्न सकिने उहाँले बताउनुभयो । उद्यम गरे भने बारीमा पनि पैसा फल्दो रहेछ । तरकारी खेती गरेर राम्रो हुन थालेपछि उहाँले माछा तथा सँुगुरपालन पनि सुरु गर्ने योजना बनाउनुभएको छ । अहिले मेरो घरपरिवार पनि सुखले चलेको छ साउँदले बताउनुभयो ।
तरकारी खेती गर्दा मैले सरकारी तथा गैरसरकारीस्तरबाट कुनै पनि सहयोग पाएको छैन । सिँचाइको समस्या छ । अहिले खेत जोत्न पनि हाते ट्याक्टर वितरण हुन्छन् । गाउँमा सिँचाइका ठूलाठूला योजना बन्छन् तर मैले तरकारी खेती गर्नका लागि धेरै सरकारी तथा गैरसरकारी सङ्घ–संस्थासँग तालिमको प्रास्ताव राख्दा पनि कतैबाट यो सम्भव भएन, साउँदले गुनासो गर्नुभयो ।

मौसम परिवर्तनसँगै वर्षाको बेला कीरा लाग्ने र धेरै टमाटर सडेर जाने गरेको छ । हामीजस्ता धेरै कृषकले यसको व्यवस्थापन गर्न सकिरहेका छैनन् । जसले गर्दा बारीमा तरकारी सड्दा लाखाँैको हानि नोक्सानी बेहोर्नु परेको छ । त्यसैले आफूजस्तै तरकारी खेतीमा उत्साहित कृषकलाई यसबारे केही तालिमको आवश्यकता रहेको उहाँले बताउनुभयो । मिहिनेत गरे भने पैसा कमाउन केही समय लाग्दैन रहेछ । तरकारी खेतीका साथै कुखुरापालन, बङ्गुरपालन गरे भने मासिक तीन लाख रुपियाँसम्म कमाउन सकिने साउँदले बताउनुभयो । स्थानीय सरकारले गाउँमा कृषिमा लाग्नेलाई केही उद्यम कार्यक्रम ल्याउनुको साटो सडकमा मात्र बजेट खर्च गरी डोजर मालिक र गाउँका अगुवालाई पाल्ने काम गरेको गुनासो उहाँले गर्नुभयो । गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments