दुई करोडको लगानीमा युवाद्वारा सामूहिक च्याउखेती

नेपालगञ्ज,बाँके बैजनाथ गाउँपालिका–१ का युवाहरूले दुई करोडको लागतमा गरिरहेको सामूहिक च्याउखेतीबाट वार्षिक ८० लाखसम्म आम्दानी भइरहेको छ । सुरुमा एक करोडको लागतमा आधुनिक प्रविधिबाट च्याउखेती सुरु गरेका ती युवाहरूले च्याउको माग बढ्दै गएपछि थप एक करोड लगानी गरी दुई करोड लगानी पु¥याएको भ्याली एग्रो फर्मका सञ्चालकमध्ये एक मिलन बस्नेतले बताउनुभयो । युवाहरू मिलन बस्नेत, सन्तोष शर्मा, अङ्कित अग्रवाल, सुरेश बोगटीलगायतको समूहले बाँकेको बैजनाथ गाउँपालिका–१ गाभरमा भ्याली एग्रो फर्म स्थापना गरेर अर्गानिक च्याउखेती गर्दै आउनुभएको छ । च्याउखेतीबाट वार्षिक ८० लाख रुपियाँसम्म आम्दानी भएको सञ्चालक बस्नेतले बताउनुभयो ।

दुई वर्षअघि एक करोडको लगानीमा सुरु गरिएको सो व्यवसायमा व्यक्तिगत ६५ लाख र साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको अनुदान रकम ३१ लाख ५७ हजार ७३७ गरी ९७ लाख २८ हजार ३०९ थप लगानी गर्दा सुरूदेखि अहिलेसम्म दुई करोड लगानी भइसकेको फर्मका सञ्चालक बस्नेतले बताउनुभयो ।उहाँका अनुसार विगतमा वार्षिक ३० हजार किलो च्याउ उत्पादन भए पनि लगानी थपिएसँगै अहिले च्याउको उत्पादन बढेको छ । सो फर्मबाट अहिले वार्षिक एक सय १२ टनसम्म च्याउ उत्पादन हुन्छ । भ्याली एग्रो फर्ममा उत्पादित सबै च्याउ बजारमा सहजै खपत भइरहेको र माग अझै पनि बढ्दै गएको अर्का सञ्चालक अङ्कित अग्रवालले बताउनुभयो ।

गाभरमा उत्पादित च्याउ कोहलपुर, नेपालगञ्ज, सुर्खेत, बुटवल, पोखरा नारायणगढ र काठमाडौँमा खपत भइरहेको अग्रवालले जानकारी दिनुभयो । उहाँले बजारमा च्याउको माग बढ्दै गएको जनाउँदै अहिलेको उत्पादनले मागानुसार आपूर्ति गर्न नसकेको बताउनुभयो । त्यसैले अब उत्पादन क्षमता अझै बढाउने योजनामा छौँ । अबको केही महिनाभित्र च्याउको उत्पादन वृद्धिका लागि तीनवटा नयाँ च्याउ उत्पादन भवन निर्माण गरिने योजना रहेको जनाउँदै अर्का सञ्चालक सन्तोष शर्माले एउटै भवनमा उत्पादन गरिएको च्याउबाट बजारको माग पूर्ति गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, नयाँ तीनवटा भवन थपिएपछि च्याउको उत्पादन बढ्छ र हामी बजारको मागलाई पूरा गर्छौं । गाभरमा च्याउ फर्म स्थापनाले त्यहाँका महिलाको आयस्तरसमेत वृद्धि भएको छ । फर्ममा दैनिक २० जना महिलाले रोजगारी पाएका छन् । स्थानीयस्तरमै उपलब्ध हुने गहुँको भुस, कुखुराको सुली र चोक्करलगायतको सदुपयोग भइरहेको सञ्चालक शर्माले बताउनुभयो । नेपालमै पहिलो पटक बाँकेको बैजनाथको गाभरमा आधुनिक एसी प्रविधिबाट च्याउ उत्पादन भइरहेको दाबी गरिएको छ । गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?