हावाहुरीले कृषिमा ५० करोड क्षति

काठमाडौँ — बारा र पर्सामा आएको हावाहुरीबाट कृषि क्षेत्रमा ५० करोड रुपैयाँभन्दा बढीको नोक्सान भएको छ । कृषि मन्त्रालयले प्रभावित क्षेत्रको अवलोकनपश्चात् तयार पारेको प्रतिवेदनअनुसार हुरीबाट बालीमा ५० करोड करोडको क्षति पुगेको छ ।

मन्त्रालयले ७५ लाख ८३ हजार रुपैयाँ बराबरको पशुधन नोक्सान भएको जनाएको छ ।मन्त्रालयका उपसचिव गंगा आचार्यका अनुसार बारामा मात्रै ३८ करोड २४ लाख रुपैयाँको कृषि उपजको क्षति पुगेको छ । पर्सामा ११ करोड ७९ लाख रुपैयाँको क्षति छ ।

‘जिल्लामा कृषि प्राविधिकको अभाव भए पनि प्रतिवेदन तयार पारेका छौं,’ उनले भने, ‘कृषिमा करिब ५० करोडको क्षति भएको देखिन्छ ।’ मन्त्रालयका अनुसार दुई जिल्लामा दुईवटा मात्रै ज्ञान केन्द्र छन् । पशुविज्ञ भएको केन्द्र एउटा मात्रै छ ।

प्रतिवेदनअनुसार क्षेत्रफलका आधारमा ४ हजार ५ सय ५२ हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेको छ । जसमध्ये १ हजार ४ सय ३५ हेक्टरमा पूर्ण रूपमा क्षति भएको छ भने ३ हजार १ सय १६ हेक्टरमा आंशिक रूपमा क्षति भएको छ ।

बारामा १ हजार ९६ हेक्टर पूर्ण रूपमा क्षति पुगेको छ । पर्सामा ३३९ हेक्टरमा पूर्ण रूपमा क्षति भएको उल्लेख छ ।

क्षति पुगेको क्षेत्रको पुनरोत्थानका लागि प्रदेश सरकारले अग्रसरता लिएको छ । स्रोतमा कमी भए केन्द्र सरकारले पनि उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । ‘केन्द्रबाट सोझै पैसा पठाउन सकिँदैन तर स्रोतको कमी हुन भने दिँदैनौ,’ उनले भने, ‘तत्कालका लागि प्राविधिक पनि उपलब्ध गराउँछौ ।’ गत आइतबार आएको हावाहुरीले २९ जनाको मृत्यु भएको थियो । करिब दुई हजार घर परिवार प्रभावित भएका थिए ।कान्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments