साढे पाँच सय हेक्टरमा मुङ खेती

Krishi Suchana - Agriculture in Nepal

धनगढी,सुदूरपश्चिम प्रदेशमा यस वर्ष साढे पाँच हेक्टर जमिनमा मुङ खेती विस्तार गरिँदैछ । कैलाली र कञ्चनपुर गरी दुई जिल्लामा मात्रै मुङ खेती बढाउन लागिएको हो । दलहन बाली विस्तार गर्ने लक्ष्यअनुरूप दुई जिल्लामा मुङ खेती विस्तार गर्न लागेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । कोसेदार बालीका रूपमा रहेको मुङ हरियो मलसमेत रहेकाले दुई जिल्लामा यसको खेतीमा विस्तार गर्न लागिएको हो । कृषकलाई मुङ खेतीतर्फ आकर्षित गर्नका लागि मन्त्रालयले शतप्रतिशत अनुदानमा बिउ उपलब्ध गराउने कार्यसमेत सुरु गरेको छ ।

अहिलेसम्म ३२० हेक्टरका लागि अनुदानमा बिउ उपलब्ध गराइसकेको कृषि महाशाखा प्रमुख यज्ञराज जोशीले जानकारी दिनुभयो । कञ्चनपुरको बेलौरीमा साढे चार सय बिघा जमिनमा मुङ खेती गर्ने भनेर सूचना आएको छ, उहाँले भन्नुभयो । अरूतिरबाट पनि मुङ खेती गर्नका लागि किसानले निवेदन दिएकाले यो वर्ष हामीले लक्ष्य निर्धारण गरेकोभन्दा बढी जमिनमा मुङ खेती हुने सम्भावना छ । रासायनिक मल प्रयोगको कारण खेती योग्य जमिनको उर्वराशक्ति तीव्र रूपमा ह्रास भइरहेको बेला जमिनको उर्वराशक्ति बढाउनका लागि पनि मुङ खेती वृद्धि गर्ने लक्ष्य राखेको मन्त्रालयले जानकारी दिएको छ । मुङ खेती गर्दा यसले माटोको उर्वराशक्ति बढाउने बताइएको छ । मुङ आफै हरियो मल पनि हो ।

चैतबाट लगाउन सुरु गरिने मुङले ५० दिनभित्रै उत्पादन दिन्छ । पाँच पटकसम्म कोसा टिप्नका लागि चैत पहिलो हप्तामै र दुई पटकसम्म कोसा टिप्नका लागि वैशाख १२ गतेसम्म मुङ लगाउन सकिने कृषि महाशाखा प्रमुख जोशीले बताउनुभयो । मुङ खेती गर्दा अरू कृषिबालीको जस्तो मिहिनेत गर्नु नपर्ने र सिँचाइ पनि दुईपटक मात्रै आवश्यक हुने गरेको उहाँले उल्लेख गर्नुभयो । ‘मुङ खेतीमा अरू बालीको जस्तो मिहिनेत नगरी छोटो समयमा नै उत्पादन लिन सकिन्छ, जोशीले भन्नुभयो । कीरा प्रकोप समस्या भने बढी रहन्छ तर विषादी छर्केमा जोगाउन सकिन्छ ।मन्त्रालयका अनुसार राम्रो गरी खेती गरिएमा प्रतिहेक्टर जमिनमा एक हजार दुई सय किलोसम्म मुङ उत्पादन हुने गर्दछ । सुदूरपश्चिममा यसको हालको बजार मूल्य प्रतिकिलो ९० देखि बढीमा दुई सय रुपियाँसम्म रहेको छ । यस वर्ष प्रदेशमा करिब तीन लाख ५० हजार किलो मुङ उत्पादन गर्ने लक्ष्य रहेको जनाइएको छ ।गोरखापत्र

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments