चियामा चुलिँदै समस्या

इलाम, विसं १९२० देखि सुरु भएको चियाखेतीमा देखिएको समस्या पछिल्लो समयमा चुलिँदै गएको छ । चिया क्षेत्र हेर्नका लागि गठन भएको चिया तथा कफी विकास बोर्डले वैशाख १५ मा २३औँ चिया दिवस मनाउने तयारी गरिरहेका बेला चियामा देखिएको समस्या भने बढ्दो छ । चिया निर्यात तथा बजारीकरणका लागि नेपाली चियाको लोगो ‘ट्रेडमार्क’ कार्यान्वयनमा आउन नसक्दा नेपाली चियाले उचित मूल्य पाउन नसकेको किसानले गुनासो गरेका छन् । गत वर्ष नै तयार गरिएको ट्रेडमार्क सञ्चालनमा ल्याउन र चिया निर्यात हुने मुलुकको दर्ता प्रक्रियामा ढिलाइ हुँदा यो वर्ष पनि अन्तर्राष्ट्रिय बजारबाट प्राप्त हुने मूल्यमा अन्योल रहेको केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द दाहालले बताउनुभयो ।

अब ट्रेडमार्क सञ्चालनमा आउँछ भन्ने अपेक्षा हराएको छ, दाहालले भन्नुभयो– एक वर्षसम्म पनि सञ्चालनमा ल्याउन नसक्नु चिया किसान र सहकारीहरूका लागि पनि दुर्भाग्य हो । बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४÷७५ मा २८ हजार ५९५ हेक्टर क्षेत्रफलमा चियाखेती विस्तार भएको छ । इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाका अलावा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङ आदि जिल्लामा चियाखेती विस्तार भइरहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार दुई करोड ४८ लाख केजी तयारी चिया उत्पादन भएको छ । जसमा ५९ लाख किलो अर्थोडक्स चिया र एक करोड ८८ लाख किलो सीटीसी चिया उत्पादन भएको जनाइएको छ । १३ हजार ९२७ हेक्टरमा साना किसानतर्फको खेती विस्तार भएको छ भने साना चिया किसानको सङ्ख्या करिब १५ हजार एक सय पुगेको बोर्डले जनाएको छ तर पछिल्लो समय चिया श्रमिकको आन्दोलन, किसानको माग अनुसारको अक्सन बजारको व्यवस्थापन नहुँदा समस्या चुलिँदो अवस्थामा रहेको केन्द्रीय सहकारी सङ्घका अध्यक्ष दाहाल बताउनुहुन्छ । अक्सन बजार निर्माणको कुरा त सकियो, अध्यक्ष दाहालले भन्नुभयो– थोरै अपेक्षा रहेको ट्रेडमार्क कार्यान्वयनको विषय पनि करिब करिब बन्द भएको हो भन्ने बुझ्नुपर्ने अवस्था आएको छ । यता चिया तथा कफी विकास बोर्डले भने वैशाख १५ गते २३औँ राष्ट्रिय चिया दिवस मनाउने तयारी गरेको छ ।गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments