रोगले २० घार मौरी मरे

Krishi Suchana - Agriculture in Nepal

बैतडी– अज्ञात रोगले मौरी मरेपछि दशरथचन्द नगरपालिका–५, पोटाका सुदर्शन लेखक चिन्तित भएका छन्। व्यवसायिक रुपमा मौरीपालन गर्दै आएका लेखकका केही दिनअघि २० घार मौरी मरेका हुन्।

केही वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएका उनी वार्षिक दश लाख रुपैयाँ आम्दानी गर्दै आएका थिए। सेरेना जातको मौरी पालेका लेखकले मह र मौरीका घार बेचेर आम्दानी गरेका उनलाई यो वर्ष अज्ञात रोग लागेर मौरी मर्न थालेपछि व्यवसाय नै चौपट हुने डरले सताउने गरेको छ। घारभित्र खाना नखाएर अचानक मौरी मरेपछि उनी समस्यामा परेका हुन्। एक सय २० घार मौरी पालेका उनी अन्य मौरी पनि मर्ने चिन्तामा छन्। कृषि प्राविधिक ल्याएर रोग पत्ता लगाउने प्रयास गरे पनि सफल नभएको उनले बताए। मौरी मरेपछि उनलाई करिब साढे तीन लाख क्षति भएको छ।

सँगैका दौंतरी जागिर र वैदेशिक रोजगारीमा भौंतारिएका बेला गाउँमै मौरी व्यवसायबाट मनग्ये आम्दानी गर्दै आएका छन्। नागार्जुन मौरीपालन उद्योग दर्ता गरी व्यावसायिक मौरीपालनमा लागेका लेखकले दुई जनालाई रोजगारीसमेत दिएका छन्। मौरीको रेखदेख गर्न, छुट्टिएर भाग्ने, घार चोरी हुनसक्ने तथा अरिङ्गालले खाने समस्या रहेको भन्दै रेखदेखका लागि दुई जनालार्ई मासिक तलब दिने गरी रोजगारी दिएका हुन्। गत साउनयता मात्रै उनले १५ क्विन्टल मह बेचेको थिए। यस वर्ष मौरीको घार थपेको र रोगले नोक्सान नगरे अझै मह उत्पादन हुने आस थियो,’ अचानक चार दिनको अन्तरमा हुलका हुल मौरी मरे।’ रोग पत्ता लागे उपचार गर्न सहज हुने भएपनि मौरी मर्ने रोग पत्ता लगाउन नसकेको उनको गुनासो छ।

सेरेना जातको माहुरीको मह भीर माहुरीको जस्तै गुणस्तरीय हुने भएकाले मनग्ये आम्दानी हुने गरेको छ। वर्षमा दुई दर्जनभन्दा बढी मौरीसहितका घारसमेत बिक्री हुन्छन्। मौरीका लागि चरन क्षेत्र उपयुक्त भएकाले यो व्यवसाय फस्टाउँदै आएको लेखकको भनाइ छ। मौरीका लागि चरन क्षेत्र चिउरीलगायतका फलपूmल प्रशस्त फल्ने जिल्लाको दशरथचन्द नगरपालिका, सिगास, दोगडाकेदार, डिलासैनी गाउँपालिकाका केही वडा उपयुक्त मानिन्छन्। अन्य ठाउँमा पनि किसानहरु व्यवसायिक मौरीपालनमा लागेका छन्। जिल्लाका अन्य ठाउँबाट मौरी मरेको जानकारी नआएको कृषि ज्ञान केन्द्रका प्रमुख कर्णबहादुर चन्दले बताए। मौरी मरेपछि अनुगमनका लागि गएका प्राविधिकले खाना नपाएर मौरी मरेको हुनसक्ने अनुमान गरेका छन्।

केही वर्षअघि घरको भित्ता र मुढेघारमा एक–दुई घार मौरी पाल्ने बैतडीका किसान पछिल्लो समय व्यवसायिक मौरीपालनमा आकर्षित हुन थालेका छन्। गत वर्ष बैतडीमा ९५ मेट्रिक टन मह उत्पादन भएको थियो। यो वर्ष १० मेट्रिक टन मह उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लामा चार हजार सात सय आधुनिक घार र सात हजार आठ सय मुढेघार रहेको केन्द्रले जनाएको छ। उपयुक्त मौसम र मौरीमा रोगको प्रकोप नदेखिएकामा बर्सेनि मह उत्पादन बढने भएपनि समय–समयमा रोगकै कारण मौरी मर्दा मह उत्पादन तुलनात्मक रुपमा बढन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख चन्दको भनाइ छ ।नागरिक

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments