खसीबोकाको मासु अभाव

भरतपुर, सरकारले भारतबाट आयात हुने खसीबोकामा कडाइ गरेसँगै नेपालमा मासुको अभाव देखिएको छ । नेपालमा उत्पादन हुने खसीबोकाले आन्तरिक माग धान्न नसक्ने भएपछि मासुको अभाव भएको हो । पहिला भारतबाट सजिलै खसीबोका आयात हुँदा मासु पनि सजिलो थियो तर अहिले खसी पनि आउँदैन र नेपालमा पनि सजिलै खसीबोका पाइँदैन, नारायणगढका मासु व्यवसायी रुस्तम अलि मिया भन्नुहुन्छ, खसी नै कम भएपछि मासुको मूल्य पनि बढेको छ ।

सामान्यतः चितवनमा प्रतिकिलो ८०० रुपियाँ पर्ने मासु अहिले बढेर प्रतिकिलो ९०० रुपियाँ पुगेको छ साथै पोखरामा र काठमाडौँमा पनि बढेको छ । व्यवसायीका अनुसार पोखरामा प्रतिकिलो ९८० रुपियाँमा पाइने मासु अहिले प्रतिकिलो एक हजार ८० रुपियाँ र काठमाडौँमा प्रतिकिलो एक हजार रुपियाँमा पाइने मासु प्रतिकिलो एक हजार २०० रुपियाँ पुगेको छ । भारतबाट खसी आउन छाड्यो । नेपालमा भएका खसी बढी पैसा तिरेर किन्नुपर्ने बाध्यता छ, व्यवसायी मियाले भन्नुभयो, पहिला जिउँदो खसी प्रतिकिलो ४०० रुपियाँमा पाइनेमा अहिले ५०० तिर्दा पनि सजिलै पाइँदैन । यही अवस्था रहे आगामी दशैँमा खसीबोकाको मासुको मूल्य अझै अकासिने पनि उहाँले जनाउनुभयो ।

व्यवसायीका अनुसार चितवनमा हरेक वर्ष ४५ हजार ६२५ का हाराहारीमा खसीबोका काटिन्छन् । एउटा खसीको औसत १५ किलो मासु मान्दा चितवनमा एक वर्षमा छ लाख ८४ हजार ३७५ केजी मासु खपत हुन्छ । बाख्रापालक किसान महासङ्घका नेता तथा जगतपुर बाख्रा फार्मका सञ्चालक योगेन्द्र खड्काका अनुसार हरेक वर्ष नेपालमा आठ लाखभन्दा बढी खसीबोका काटिन्छन् । यसलाई औसत केजीमा मान्ने हो भने एक करोड २० लाख केजी हुन आउँछ । काठमाडौँको बजार प्रतिकेजी एक हजार २०० का दरलाई आधार मान्दा नेपालमा अहिले वर्षमा एक अर्ब ४४ करोड रुपियाँ बराबरको खसीबोकाको मासु खपत भइरहेको छ ।

नेपालमा खपत भएका आठ लाख खसीबोकामध्ये पाँच लाख भारत र चीनबाट आएका हुन् भने तीन लाख मात्र नेपालमै उत्पादन भएका हुन्, खड्काले भन्नुभयो । उहाँका अनुसार खसीबोका उत्पादनका लागि नेपालमा अघिल्लो वर्षसम्म एक करोड दुई लाख बाख्रा पालिएका थिए भने यो वर्ष यो सङ्ख्या बढेर एक करोड पाँच लाख पुगेको छ ।
यो तथ्यलाई हेर्दा पनि नेपालमा उत्पादित खसीबोकाले यहाँको माग थेग्न नसक्ने देखिन्छ । वैशाख जेठजस्ता विवाहको सिजनमै खसीबोकाको मासुको अभाव भएपछि होटल तथा क्याटरिङ व्यवसायी महँगो मूल्य तिरेर खसीबोकाको मासु खरिद गर्न बाध्य छन् ।

खसीबोका मासु व्यवसायी सङ्घ चितवनका महासचिव गणेशप्रसाद कँडेल चितवनमा उत्पादित खसीबोका चितवनमै खपत हुने हो भने चितवनमा मासुको अभाव नहुने तर्क गर्नुहुन्छ तर त्यो सम्भव छैन । जिल्लामा उत्पादित खसीबोका अहिले पोखरा, काठमाडौँलगायतका सहरमा पुगिरहेका छन् । चितवनको उत्पादन पोखरा र काठमाडौँ पुग्छ । मासुको अभाव भएपछि छिमेकी देश भारतबाट आयात गरेर माग पूरा गर्ने हो तर अहिले त्यो रोकिएको अवस्था हो, कँडेलले भन्नुभयो । सरकारले पशु वधशाला तथा मासु जाँच ऐनलाई कडाइका साथ लागू गरेपछि भारतबाट आयात हुन नसकेको हो । नेपालमा पशु वधशाला तथा मासु जाँच ऐनको प्रक्रिया पूरा गरेर खसीबोका आयात गर्न धेरै झन्झटिलो भएकाले पनि समस्या परेको व्यवसायीको भनाइ छ ।गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments