जिल्लामा उत्पादित प्याज बजारमा सस्तो

Krishi Suchana - Agriculture in Nepal

सिमकोट , सदरमुकाम सिमकोट भन्दा चार दिन पैदल लाग्ने अदानचुली गाउँपाकिलाको श्रीनगरमा उत्पादित स्थानीय प्याज भेडा बाख्रामा बोकाएर बिक्रीका लागि सिमकोट ल्याइएको छ । यसपाली गाउँ गाउँमा प्याज उत्पादन राम्रो भएपछि सिमकोटको प्याजको माग पुरा गर्न र बिक्री वितरण गरेर आम्दानी बढाउन धेरै दिन पैदल ढुवानी गरेर भए पनि प्याज सिमकोट ल्याईएको हो ।

दक्षिणतर्फको गाउँपालिका अदानचुलीको श्रीनगरको जग्गामा फलेको १५ क्वीन्टल प्याज चार दिन पैदल बाख्रामा बोकाएर ल्याई सिमकोटमा प्रति केजी एक सय पचासमा बिक्री गरेको स्थानीय नन्द फडेराले बताउनु भयो । गर्मीको बेला दुख बढी छ त्यस अनुसार प्रतिफल पनि राम्रै हुने भएपछि प्याज ल्याएर बिक्री गरेको उहाँले बताउनु भयो । अफ सिजन भएको कारण सिमकोटमा नेपालगंजबाट आएको प्याज प्रति केजी दुई सय पचास रुपियाँमा पाईने गर्छ । यसले गर्दा सस्तो र हुम्लाको स्थानीय अग्र्यानिक प्याज किन्न पनि ग्राहकहरु तछाड मछाड गर्ने गरेको उहाँले बताउनु भयो । यो एक लटमा फडेराले दुई लाख पच्चीस हजार कमाई भएको उहाँले बताउनु भयो । प्याज राम्रो फलेको कारण अब बजारमा निरन्तर आउने उहाँले बताउनु भयो । यस पाली २५ केजी बोक्ने साठी बाख्रामा प्याज बोकाएर ल्याई बिक्री गरिएको थियो । आफु जस्तै आधा दर्जन किसानहरुले गाउँमै प्याज फलाएर नजिकको पालिका केन्द्र र सदरमुकाम सिमकोटसम्म पुर्याउने गरेको उहाँले बताउनु भयो ।

उत्पादनमा वृद्धि हुने देखिए पछि गहुँ र उवा लगाउने जग्गामा गत माघ मै प्याज लगाएर यो सिजनमा किसानहरु प्याज बजारमा ल्याउन सफल भएका हुन । यसले गर्दा किसानहरु अब परम्परागत बाली भन्दा पनि चाँडो फल्ने र तत्काल फाईदा दिने बालीतर्फ आर्कषित भएको कृषि ज्ञान केन्द्रका प्राविधिक रुद्र बहादुर शाहीले बताउनु भयो । अहिले प्याज फलेका खेतमा अब धान लगाउनमा पनि मिल्ने उहाँले बताउनु भयो ।गोरखापत्र

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments