हावाहुरीले सय हेक्टरको केरा खेती नष्ट

कञ्चनपुर — तीव्र गतिको हावाहुरीले कञ्चनपुरमा केरा खेती नष्ट गरेको छ । बिहीबार साँझको हुरीले करिब सय हेक्टरमा लगाएको केरा खेतीमा क्षति पुगेको हो । सबैभन्दा बढी कृष्णपुर नगरपालिकामा नोक्सान भएको छ । उक्त क्षेत्रमा ९० प्रतिशत केराका बोट ढलेका छन् ।

भीमदत्त नगरपालिका रबेलौरी नगरपालिकामा पनि ठूलो क्षति भएको छ । ‘जिल्लाभरिमा ५० प्रतिशत बढी केराका बिरुवा नष्ट भएका छन्,’ केरा उत्पादन तथा प्रवर्द्धन कृषि सहकारी संस्थाका अध्यक्ष पूर्णसिंह साउदले भने, ‘करिब २ देखि ३ लाखसम्म केराका बिरुवा हावाहुरीले ढालेको छ ।’

साउदका अनुसार कृष्णपुरका अर्जुन जेठाराको २० बिघा, सुरेन्द्र चौधरीको ७ बिघा, विक्रम देउवाको ५ बिघाको केरा पूर्ण रूपमा नोक्सान भएको छ । एक/दुई बिघा नोक्सान हुने कृषकको संख्या पनि ठूलो छ ।

भीमदत्त नगरपालिकाको नौलाखेतमा पनि केरा उत्पादन तथा प्रवर्द्धन कृषि सहकारी संस्थाले ७ बिघामा लगाएको केरामध्ये ३० प्रतिशतभन्दा बढी नोक्सान भएको छ । करिब २ हजार केराका बोट ढलेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासमा पनि केरामा ठूलो क्षति भएको छ । अन्य ठाउँको तुलनामा दक्षिणी क्षेत्रमा भने कम क्षति भएको कृषकले बताए ।

‘कृष्णपुरमा केरामा ९० प्रतिशत क्षति भएको छ, यो क्षति अझै बढ्न सक्छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत गोकुल बोहोराले भने, ‘अन्य क्षेत्रमा पनि ३० देखि ५० प्रतिशतसम्म नोक्सान भएको छ ।’ उनका अनुसार भीमदत्त नगरपालिकामा ५० प्रतिशत र बेलौरी तथा पुनर्वास क्षेत्रमा ३० प्रतिशत हाराहारीमा केरा खेतीमा नोक्सान भएको छ ।

यसैगरी कैलालीको गोदावरी र धनगढी क्षेत्रमा पनि ५० प्रतिशतभन्दा बढी नोक्सान भएको छ । ‘हामीहरू क्षतिको विवरण संकलनमै छौं, अहिले नै यति क्षति भयो भन्न सकिने अवस्था छैन,’ बोहराले भने, ‘कतिपय केराका बोट नढले पनि हुरीले पेलेर कच्याककुचुक पारेको छ, त्यस्ता बोट एक–दुई दिनमै आफैं ढल्छन् ।’ उनले ज्ञान केन्द्रमा पर्याप्त जनशक्ति नभएका कारण सबै स्थानीय तहलाई विवरण संकलनका लागि आग्रह गरिएको बताए । यसैगरी आँप, कागती र सूर्यमुखी फूलमा पनि ठूलो क्षति पुगेको ज्ञान केन्द्रले जनाएको छ ।

चार वर्षअघि भूकम्पका बेला पनि यस क्षेत्रमा ठूलो हावा हुरी आएको थियो । त्यतिबेला पनि केरा खेतीसँगै अन्य फलफूलमा पनि ठूलो क्षति पुर्‍याएको थियो । अधिकांश कृषकले बिमा नगरेको हुँदा कुनै पनि क्षतिपूर्ति वा राहत पाएका थिएनन् । यस वर्ष पनि कतिपयले बिमा नगरेका कारण ठूलो मर्कामा परेका छन् ।

कञ्चनपुरमा ५ सय हेक्टर बढीमा केरा खेती गरिन्छ । पछिल्लो समय बजारसँगै राम्रो आम्दानीका कारण थुप्रै कृषकहरू यसतर्फ आकर्षित भएका छन् । बिरुवा उत्पादनदेखि खेतीमा समेत प्रविधिको प्रयोग पनि बढ्दै गएको छ । कृषकहरूले ठूलो लगानी गरेर व्यवासायिक रूपमै केरा खेती गरिरहेका छन् ।कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?