स्थानीय आँपलाई डेढ हप्ता कुर्नुपर्ने बजारमा भने छ्यापछ्याप्ती

काठमाडौँ, प्राकृतिक रूपमा बोटमै पाकेका स्थानीय आँप बजारमा आउन अझै एक डेढ साता लाग्छ तर एक डेढ महिनादेखि नै बजारमा पहेँलपुर आँप छ्यापछ्याप्ती पाइन्छ ।
हेर्दै आकर्षक र लोभलाग्दा आँप प्राकृतिक रूपमा पाकेका होइनन्, औषधि हालेर पकाइएका हुन् । आँप मात्र होइन अहिले बजारमा पाइने केरा, लिची, मेवा, अम्बालगायत फलफूल कृत्रिम तरिकाबाट पकाइएका हुन्छन् ।
यसरी फलफूल पकाउन क्याल्सियम कार्बाइड, इथिलिन र इथेफोन पाउडरलगायतका रसायनका प्रयोग गरिन्छन्, जुन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन् । कसैकसैले आगोको धूवाँबाट समेत पकाउने गरेका छन् ।
आगोको धूवाँबाहेक सरकारले क्याल्सियम कार्बाइड, इथिलिन पाउडर, इथेफोन प्रयोगमा बन्देज लगाइएको छ । फलफूल पकाउन यी वस्तु प्रयोग गर्न नहुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
विभागका प्रवक्ता पूर्णचन्द्र वस्ती भन्नुहुन्छ ‘‘क्याल्सियम कार्बाइड, इथिलिन पाउडर, इथेफोनजस्ता वस्तु फलफूल पकाउनका लागि प्रयोग नै गर्नुहँुदैन ।’’ उहाँ फलफूलमा यस्ता रासायनिक पदार्थको प्रयोग नहोस् भनी विभागले नियमित नियमन र अनुगमन गरिरहेको दाबी पनि गर्नुहुन्छ ।
उहाँले क्याल्सियम कार्बाइड वा अन्य त्यस्तै अखाद्य वस्तु प्रयोग गरेर फलफूल पकाउने गरेको फेला परेमा पाँच वर्ष जेल वा ५० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था स्पष्ट पार्नुभयो ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख डिल्लीराम शर्मा पनि आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग गर्न नहुने बताउनुहुन्छ ।

के हो क्याल्सियम कार्बाइड ?
प्रवक्ता वस्तीका अनुसार क्याल्सियम कार्बाइड विषादी होइन । यसले पानी मिसिएमा प्रतिक्रिया गरेर एसिटिलिन ग्यास निकाल्छ । यो ठोस पदार्थजस्तै हुन्छ । फलफूल भएको ठाउँमा राखेर त्यसमा पानी हालेपछि एसिटिलिन ग्याँस निस्किन्छ । यो ०.१ देखि १ मिलिग्राम प्रतिकिलोग्राम हावामा मिसिएपछि मात्र फलफूललाई पकाउँछ । यस्तोे ग्यासले आँपमा भएको हार्मोनलाई नष्ट गरिदिन्छ । कार्बाइडमा आर्सेनिक र फोस्फोरसजस्ता हानिकारक तŒव पनि हुन्छन् । जसले स्वास्थ्यमा असर गर्छ ।
कार्बाइड चीन, ताइवान र  दक्षिण अफ्रिकाबाट भारत हुँदै  नेपालमा आयात गरिन्छ । कार्बाइड घर पोत्ने चुनजस्तै सेतो र ढुङ्गाजस्तै कडा हुन्छ । जसमा अक्सिजन मिसाएपछि ताप उत्पन्न हुन्छ । हातले छुँदा फोका उठ्छ । फलफूलमा भएको आद्रता वा पानीसँग रासायनिक प्रतिक्रिया भई आर्सेनिक र एसिटिइलिन ग्यास उत्पन्न हुन्छ । एसिटिइलिन र अक्सिजनको मिसावटबाट दुई हजार डिग्री सेन्टिग्रेडको आगो बनाई पाक्ने क्रियालाई तीव्र बनाउँछ ।

स्वास्थ्यमा असर
नेपाल सरकारका कन्सल्टेन्ट जनरल फिजिसियन डा. सुनील पौडेलका अनुसार कार्बाइड प्रयोग भएको फलफूल खानै हुँदैन । क्याल्सियम कार्बाइडमा क्यान्सर गराउने तŒव हुन्छ । शरीरमा कार्बाइड पसेपछि त्यो रगतमा मिसिन्छ र त्यसले अक्सिजनमा कमी ल्याउँछ । कार्बाइडका कारण अक्सिजनको कमीले टाउको दुख्ने, रिङ्गटा लाग्ने, पेट दुख्ने, डाइरिया, छालामा विभिन्न रोग देखापर्छ । लामो समयसम्म कार्बाइड प्रयोग भइरह्यो भने स्मरण शक्ति कमजोर हुँदै जान्छ र विस्तारै अन्य रोगमा परिणत हुन्छ ।

कार्बाइड प्रयोग नगरेको दाबी
व्यापारी भने रुखमै पाकेको आँप बजारसम्म लगेर बेच्न सम्भव नहुने बताउँछन् । उनीहरू आँप, केरा वा अन्य फलफूलको बगैँचाबाट काँचो नै टिपेर त्यसलाई कृत्रिम रूपमा पकाएर बजारमा पठाउने गरेको बताउँछन् ।
तर, नेपाल फलफूल थोक व्यवसायी सङ्घका अध्यक्ष अमर बानियाँ क्याल्सियम कार्बाइड प्रयोग गरी आँप नपाएको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, गर्मी मौसममा आँप आफँै पाक्छ, पाकेन भने पनि हामी धूवाँबाट पकाउँछौँ । उहाँ कुनै खुद्रा व्यापारीले गरेको बदमासी भए त्यसको जिम्मेवार सङ्घ नहुने बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, खुद्रा व्यपारीलाई हामीले नियन्त्रण गर्न सक्दैनौँ, भारतबाट आउने आँप पनि इथिलिन पाउडर प्रयोग गरेर पकाउने गरिएको छ तर नेपाली आँपमा त्यस्तो हुँदैन ।
बानेश्वर शङ्खमूलमा साइकलमा आँप बेच्दै आएका रौतहटका व्यापारीले आफूहरू कालीमाटीबाट काँचो आँप ल्याएर घरमा औषधि हालेर पकाउने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘‘औषधिको नाम के हो थाहा भएन । पाउडरजस्तो हुन्छ कागजमा बेरेर आँपको बाकसमा राखेपछि रातभरिमा पाक्छ ।’’

कसले गर्ने नियन्त्रण ?
यसको नियमन तथा अनुगमनको जिम्मेवारी खाद्य तथा गुण नियन्त्रण विभागको रहेको छ । विभागले देशभरि अनुगमन गरिरहेको दाबी गर्दै आएको पनि छ । विभागका अनुसार उपत्यकाबाहिर क्याल्सियम कार्बाइड प्रयोग गरेर फलफूल पकाइएको पाइए पनि राजधानीमा भने फेला परेको छैन ।
भारतलगायत अन्य मुलुकबाट आउने त्यस्ता फलफूलको नमुना जाँचका लागि भन्सारले दिएपछि मात्र विभागले जाँच्ने नीति रहेको तर भन्सारले हालसम्म त्यस्तो नमुना नदिएको प्रवक्ता वस्तीले बताउनुभयो ।
अध्यक्ष बानियाँका अनुसार उपत्यकामा मात्र प्रत्येक दिन एक सय टनदेखि ७० टन आँप खपत हुन्छ । अधिकांश बल्खु तरकारी बजारबाट खपत हुने गरेको छ ।
विगतका वर्षभन्दा यस वर्ष आँप निकै महँगो छ । उहाँले विगतमा दुई महिनासम्म बजारमा नेपालको आँप पाइथ्यो तर यस वर्ष उत्पादन कम भएकाले एक महिना पनि बजार धान्न नसक्ने बताउनुभयो ।गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments