बाख्रापालनबाट वार्षिक ७० लाख भित्र्याउँदै मौजा गाउँ

पोखरा, अघिकांश उत्पादनमा आयातमा निर्भर रहँदै आएको मुलुकको ग्रामीण क्षेत्रको वास्तविकतालाई चुनौती दिँदै यहाँको एउटा गाउँले बाख्रापालनबाट मात्रै वार्षिक रु ७० लाख भित्र्याउने गरेको छ । पोखरा महानगरपालिकामा रहेर पनि विकट रहेको मौजामा व्यावसायिक रुपमा शुरु बाख्रापालनबाट किसानले प्रत्येक वर्ष पोखरा बजार र आसपासमा खसी, बोका माहु बाख्रा बिक्री गरेर गाउँमा उक्त रकम भित्रिएका हुन् ।

प्रदेशको ‘बाख्रा हब’को रुपमा विकसित सो गाउँका ४६ जना किसानले व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएको मौजा बाख्रापालन कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिनुभयो । गाउँमा यतिखेर दुई हजार ७०० को सङ्ख्यामा बाख्रा रहेको बताउँदै उहाँले बाख्रा खरीद, खोर निर्माण र घाँसको व्यवस्थापनलगायतमा किसानको हालसम्म रु चार करोडभन्दा लगानी भइसकेको छ ।

जमुनापारी, खरी, सिनाल, बोयर, सानानलगायत विभिन्न जातका बाख्रालाई उन्नत जातको बेयर बोकाबाट प्रजनन गर्दै नश्ल सुधार गर्दै आएको बताउँदै उहाँले अहिले प्रजननका लागि जिउँदो बोयर बोका प्रति केजी एक हजार र अन्य बोकाको मासुको लागि रु ५०० का दरले बिक्री हुने गरेको बताउनुभयो ।

“उत्पादित खसी बोका बिक्री हुँदैन कि भन्नुपर्दैन, पोखरा बजारबाट खरीदका लागि व्यापारी खोरमै आउने गरेका छन्,” अध्यक्ष गुरुङले भन्नुभयो । उहाँका अनुसार सहकारीमा आवद्ध अन्य शेयर सदस्यलाई समेत व्यावसायिक बाख्रापालनमा प्रेरित गर्ने सोच अघि बढाइएको छ ।

खोरमा कम्तीमा पाँचवटा बाख्रा हुने किसानलाई सहकारीको शेयर सदस्य बनाउने मापदण्ड बनाइएको उल्लेख गर्दै उहाँले एउटै खोरमा साना ठूला गरी दुई सय वटासम्म बाख्रा पाल्ने किसान रहेको जानकारी दिनुभयो ।

घाँसमा आधारित बाख्रापालनलाई जोड दिँदै आइएकामा त्यसका लागि राइखनियो, दुदेलो, इपिलइपिल जस्ता विभिन्न जातका घाँससमेत उत्पादन गर्ने गरिएको छ । हिउँदको मौसमको लगभग छ महीना बाख्रालाई जङ्गलमा घाँस चराउनका लागि सामूहिक खोर निर्माण गरिएको छ ।

विदेश जानका लागि आफन्तसँग लिएको ऋणबाट १० वटा माहु बाख्रा खरीद गरेर शुरु गरेको बाख्रापालन फस्टाएर अहिले मौजा आँटिघरमा रहेको खोरमा १२५ वटा बाख्रा पुगेका छन् । खशी, बोका र माहु बाख्रा बिक्रीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुने गरेको उहाँको भनाइ छ ।
स्थानीय बासिन्दा गोविन्द सापकोटाका अनुसार यतिखेर खोरमा साना ठूला गरेर दुई सय बाख्रा पुगेका छन्, खसी बोका बिक्रीबाट वार्षिक सात लाख भन्दा बढी आम्दानी हुने गरेको छ ।

सहकारीमार्पmत बाख्राका साथै मौसमी तथा बेमौसमी तरकारी खेती र व्यावसायिक भैँसी, लोकल कुखुरापालनमा जोड दिने तयारी गरिएको छ । व्यावसायिक कृषि एवं पशुपालनका लागि दक्ष प्राविधिक र उत्पादित वस्तु ढुवानीमा यातायात साधनको समस्या परेको दुखेसो उहाँले सुनाउनुभयो ।

मौजाकै हिराजङ्ग गुरुङले ११० वटा र टेकबहादुर गुरुङले ७० बाख्रा पाल्नु भएको छ । उहाँहरूले वार्षिक क्रमशः रु छ लाख र रु चार लाख आम्दानी गरी घर सञ्चालन गर्दै आएको रासससँग बताउनुभयो । बाख्रापालनमा सो क्षेत्रका युवाको पनि सक्रिय सहभागिता छ ।

स्थानीय जातका बाख्रालाई उन्नत जातको बोका दिएर गरिएको प्रजननबाट जन्मेका पाठापाठीबाट बढी उत्पादन हुने गरेको बताउँदै किसानले बाख्रामा अहिलेसम्म खासै रोग लागेको छ्रैन । जङगल र घरबारीमा लगायतको डाले घाँसले बाख्रापालनमा सहयोग पुगेको सामूहिक धारणा छ ।

पोखरा महानगरपालिका–२० का वडाध्यक्ष सिम गुरुङका अनुसार मौजालाई बाख्रा, भँैसी, कुखुरापालन र ताजा तरकारी उत्पादनको नमूना पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तह तीन वटै सरकारको सहयोग अपरिहार्य रहेको छ ।

सरकारबाट प्रदान गरिने अनुदान सर्वसुलभ तरिकाबाट वास्तविक किसानले पाउनुपर्नेमा जोड दिँदै उहाँले पशुपालन र कृषिका लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन आप्mनोतर्पmबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बाख्राको पकेट क्षेत्रमा सरकारी अनुदान

गण्डकी प्रदेश सरकारले मौजालाई बाख्राको पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ खोर र नश्ल सुधारका लागि किसानलाई रु २० लाख अनुदान प्रदान गरेको छ ।

सरकारबाट खोर सुधारका लागि रु १० लाख र बोयर जातको स्रोत केन्द्र निर्माणका लागि राष्ट्रिय पशु प्रजनन केन्द्र लामापाटन भेडीफर्मबाट तीन वटा बेयर जातका बोकासहित रु १० लाख बराबरको अनुदान प्राप्त भएको कृषि सहकारीका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

मुलुकमा भएको परिवर्तनसँगै सिंहदरबारको अधिकार घरघरमा भन्ने गरिए पनि सरकारबाट प्रदान गरिने अनुदान लिने प्रक्रिया झन्झटिलो भएको कारण अहिले पनि वास्तविक किसान पहुँचभन्दा टाँढा रहेको सामूहिक धारणा छ । (रासस)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments