तरकारीमा आफूखुसी मूल्य

बिर्तामोड — झापाको बिर्तामोडस्थित कृषि उपज बजारमा खुद्रा व्यापारीले तीन सय प्रतिशतसम्म मूल्य राखेर तरकारी बिक्री गर्ने गरेको पाइएको छ । बिर्तामोड नगरपालिका–५ स्थित कृषि उपज बजार परिसरभित्र होलसेलमा तरकारी खरिद गरेर व्यापारीले सोही बजारमा खुद्रा बिक्री गर्दा उपभोक्ताको ढाँड सेकिने गरी मूल्य निर्धारण गरिरहेका छन् ।

कृषि उपजका व्यापारीले तरकारीको मूल्य आफैं निर्धारण गर्छन् । कृषि बजार व्यवस्थापन समितिको थोक तथा खुद्रा मूल्यसूचीमा शुक्रबार स्कुसको मूल्य अधिकतम १० रुपैयाँ प्रतिकेजी उल्लेख छ । उपभोक्ताले सोही दिन स्कुस थोक मूल्यभन्दा तीन सय प्रतिशत बढी अर्थात् ४० रुपैयाँ केजीमा खरिद गर्न बाध्य भए ।

शुक्रबार नै व्यापारीले इलाम र धनकुटामा उत्पादन भएको घिउ सिमी प्रतिकेजी ३० रुपैयाँले खरिद गरेका थिए । उक्त घिउ सिमी उपभोक्ताले व्यापारीको खरिद मूल्यभन्दा एक सय प्रतिशत बढी (६० रुपैयाँ) केजीका दरले खरिद गर्नुपर्‍यो । तितेकरेला, लौका, घिरौला, फर्सी, भिन्डी, हरियो धनियाँ र तोरीको साग थोक मूल्यभन्दा एक सय प्रतिशत बढी मूल्यमा खरिद गर्न उपभोक्ता बाध्य भएका छन् ।

इलाम र धनकुटामा उत्पादन भएको काउली उपभोक्ताले ७५ रुपैयाँ केजीका दरले खरिद गरे । उक्त काउली व्यापारीले ३० रुपैयाँ केजीका दरले थोकमा खरिद गरेको कृषि बजार व्यवस्थापन समितिले जनाएको छ । गोलभेडाको थोक मूल्य ५० रुपैयाँ केजी छ ।
उपभोक्ताले ८० रुपैयाँ केजीका दरले खरिद गरिरहेका छन् । गाँजरको थोक मूल्य ५० रुपैयाँ छ । ८० रुपैयाँ केजीमा खरिद गरिरहेको उपभोक्ताले बताए । इलाममा उत्पादन भएको रायोको साग कृषि उपज बजारमै थोक मूल्य प्रतिकेजी २५ रुपैयाँ छ । व्यापारीले उक्त साग उपभोक्तालाई प्रतिकेजी ६० रुपैयाँमा बिक्री गरिरहेको पाइएको छ ।

‘व्यापारीको आफूखुसी मूल्य निर्धारणले तरकारी किनेर खान नसक्ने अवस्थामा पुगेका छौं,’ उपभोक्ता नीलभक्त अधिकारीले भने, ‘एउटै कृषि उपज बजारमा होलसेल मूल्यभन्दा खुद्रा मूल्य अत्यधिक हुँदासम्म प्रशासन मौन छ ।’ उनले बजारमा नियमित नियमन तथा अनुगमन नहुँदा व्यापारीले तरकारीको मूल्य आफूखुसी निर्धारण गर्ने गरेको बताए ।

कृषि बजार व्यवस्थापन कार्यालयका व्यवस्थापक सीताराम नेपालले पनि बजारमा तरकारीको मूल्य अस्वाभाविक भएको स्वीकार गरे । ‘एउटै बजारमा होलसेल र खुद्रा मूल्यमा सय–दुई सय प्रतिशतसम्म फरक पर्नु दुःखद हो । तर, मूल्य निर्धारण गर्ने र बढी मूल्य लिने व्यापारीलाई कारबाही गर्न सक्ने हामीलाई अधिकारी छैन,’ नेपालले भने ।

फलफूल तथा तरकारी व्यवसायी संघका जिल्ला अध्यक्ष उमाकान्त ढुंगेलले व्यापारीले निश्चित मूल्य राखेर तरकारी बिक्री गर्नुपर्नेमा अस्वाभाविक मूल्यले उपभोक्ता मारमा परेको बताए । उनले कृषि उपज बजारलाई सञ्चालन गर्ने सिस्टमको अभावमा उपभोक्ता बढी मूल्य तिर्न बाध्य रहेको बताए ।

‘तरकारी चाँडै बिग्रिने व्यवसाय हो । कतिपय अवस्थामा लागत उठाउन पनि बढी मूल्य लिन व्यापारी बाध्य हुन्छन्,’ ढुंगेलले भने, ‘व्यापारी र उपभोक्ता दुवैलाई क्षति हुन नदिने गरी बजारलाई एउटा सिस्टममा सञ्चालन गर्न जरुरी छ । नियमन निकायको सक्रियता पनि नियमित हुन आवश्यक छ ।’ कृषि बजार व्यवस्थापन समितिका सदस्य खगेन्द्र महतोले बाहिर हल्ला भएजस्तो व्यापारीले बढी मूल्य नलिएको दाबी गरे ।कान्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments