मल बाटामै हारालुछ

नुवाकोट — नुवाकोट र रसुवामा रासायनिक मलको अभाव छ । कृषि ज्ञानकेन्द्र धाए पनि पुग्ने मल नपाएको गुनासो किसानको छ । ‘मकै गोडमेल सकियो, मल राख्ने समय घर्किन लाग्यो,’ रसुवा उत्तरगया गाउँपालिका ५ बोगटीटारकी रीता पाण्डेले भनिन्, ‘थोरै पाइन्छ त्यसले छोपै लाग्दैन ।’ रासायनिक मल अभावले किसान पिरोलिएका छन् ।

‘मल नहाली मकै र धान फल्दैन,’ रसुवा भोर्लेमनका टीकाराम पौडेलले भने, ‘अलिकति पाइन्छ । लिन आउँदा आउँदै हैरान भइयो ।’ रासायनिक मलका लागि ज्ञान केन्द्रबाट सिफारिस पत्र लिन आएका पौडेलले मलका लागि धर्ना बस्नुपर्ने बाध्यता रहेको बताए । यी किसान सहकारीबाट मल लिन आएका हुन् ।

‘३०–४० बोरा पाउन पनि हम्मे छ,’ सूर्यगढी गाउँपालिका ५ का मुकुन्द पौडेलले भने, ‘गाउँमा हात्तीको मुखमा जिरा भने जस्तो भएको छ ।’ उनी उदयश्री बहुउद्देश्यीय सहकारी संस्थाबाट मल लिन आएका हुन् । ‘जमिन भिज्ने पानी परेको भए मलका लागि लडाइँ पर्थ्यो,’ पौडेलले भने ।

गाउँमा मल खरिद गर्न आएकालाई बोरा दिनुको सट्टा १५/२० किलो चिनी बाँडे जस्तो भएको गुनासो किसानको छ । सदरमुकामबाट मल लगेपछि स्थानीय बाटो ढुकेर बसेका हुन्छन् । ‘एउटालाई मात्रै धैरै दिन भएन,’ पौडेलले भने, ‘सबैलाई दिनुपर्‍यो ।’ लगेको मल गोदाममा नथन्क्याउँदै हारालुछ हुने गरेको छ ।

मकैका लागि अधिकांशले युरिया मल प्रयोग गर्छन् । प्रतिरोपनी जग्गामा मकैलाई २ किलो मल हाल्नुपर्छ । ‘सिजनमा मल हालिएन भने मकै गाईबस्तुलाई हाल्नुबाहेक त्यसमा दाना लाग्दैन,’ रसुवा जीवजीवेका टीकाराम पौडेलले भने । नुवाकोटमा १५ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । मलको समस्या हल हुँदै गएको कृषि ज्ञानकेन्द्र प्रमुख केशव खनालले बताए । नुवाकोटमा कम्तीमा ९ हजार टन रासायनिक मल चाहिन्छ भने रसुवामा यसको एक चौथाइ चाहिने केन्द्रले जनाएको छ ।कान्तिपुर

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments