मेसिनले रोपियो धान

बिर्तामोड — धान सुपर जोन क्षेत्रमा आइतबार १६ औं राष्ट्रिय धान दिवस मनाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपर जोनमा मेसिन र हातले धान रोपेर दिवस मनाइएको हो ।

कचनकवल गाउँपालिका ६ बनियानीस्थित नौलो भविष्य साना किसान कृषि सहकारी संस्थाको जमिनमा सामूहिक रोपाइँ गरिएको थियो । राइस प्लान्टर र ड्रम सिडरले धान रोपाइँ गरिएको थियो । परियोजनाले यान्त्रीकरण भित्र्याएपछि सुपर जोन क्षेत्रका किसान धान रोप्ने, गोड्नेदेखि काट्नेसम्मको काम मेसिनबाटै गर्न थालेका छन् । माटो हिल्याएर राइस प्लान्टर र ड्रम सिडरले धान रोपाइँ गर्दा लागत घट्ने गरेको किसानको भनाइ छ ।

‘पहिला र अहिलेको असार १५ को महत्त्व नै फेरियो,’ खेतको आलीमा उभिएर राइस प्लान्टरले धान रोपेको हेर्दै गरेकी स्थानीय देवीमाया खडकाले भनिन्, ‘पहिला असार १५ साह्रै रमाइलो हुन्थ्यो । गाउँका सबै भेला भएर धान रोप्थ्यौं । अहिले त मेसिनले नै रोपाइँ गर्न थालेको छ ।’ ‘सामूहिक रोपाइँ हुन्छ भनेको सुनेर हामी आएका थियौं । धान रोप्न हिलोमा छिर्नु नै परेन,’ सीता भुजेलले भनिन्, ‘समयको माग हो । अहिले सबैतिर मेसिनले नै धान रोप्ने गरिन्छ । असार १५ मा पनि धान रोप्नु परेन ।’

झापामा ८७ हजार ५ सय हेक्टर जमिनमा धान खेती गर्ने गरिन्छ । आर्थिक वर्ष ०७३/७४ देखि जिल्लाको कचनकवल गाउँपालिकाका सबै ६ वटा वडा र भद्रपुर नगरपालिकाको १, २ र ३ नम्बर वडामा धान सुपर जोन सञ्चालित छ । सुपर जोन १ हजार २ सय हेक्टर जमिनमा सञ्चालित छ । सुपर जोनमा ड्रम सिडर, सिड ड्रिलबाट छरुवा धान खेती, स्वचालित सिडर मेसिन, राइस ट्रान्सप्लान्टरबाट धान रोपाइँ गरिन्छ ।

सिँचाइ सुविधाको अभाव रहेको उक्त क्षेत्रमा परियोजनाले सौर्य ऊर्जाबाट सिँचाइको व्यवस्था गरेको छ । सिँचाइको अभावमा एक बाली मात्र धान खेती हुँदै आएकामा परियोजना सञ्चालनमा आएपछि उक्त क्षेत्रमा तीन बालीसम्म धान खेती हुने गरेको छ ।

धानको उत्पादकत्व वृद्धि गर्न ब्राउन म्यानुरिङ, ग्रिन म्यानुरिङ, झारपातको उचित व्यवस्थापन गरिएको छ । परियोजनाले किसानलाई धान रोप्ने, गोड्नेदेखि काट्न प्रयोग हुने मेसिन, ट्र्याक्टरलगायत ५० प्रतिशतसम्म अनुदानमा वितरण गर्ने गरेको कृषि अधिकृत सागर विष्टले जानकारी दिए ।

मेसिनको प्रयोगबाट धान खेतीमा किसानको ५० प्रतिशतसम्म लागत घटेको उनले बताए । आइतबारदेखि सुपर जोन क्षेत्रमा मल छर्न पनि इलेक्ट्रिक मेसिनको प्रयोग गर्न थालिएको छ ।कान्तिपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments