मल गोदाम रित्तिँदै, भौंतारिँदै किसान

धनगढी — आकासे–वर्षाको भर पर्दापर्दै धान रोप्न ढिलाइ भएपछि धनगढी उपमहानगरपालिका ५ जाईका शिवम् चौधरीले बोरिङको पानी लगाएर धान रोप्न सुरु गरे । जसोतसो धान रोप्न सुरु गरेका उनलाई अहिले फेरि मलको चिन्ताले सताएको छ ।

मलका लागि बारम्बार साल्ट्र ट्रडिङ कर्पोरेसन र कृषि सामग्री केन्द्र लिमिटेडको क्षेत्रीय कार्यालय धनगढी धाउँदै आएका उनी मल नपाएर हरेक दिन रित्तै हात फर्किन्छन् ।

खेतमा धान रोपेलगत्तै आवश्यक पर्ने डीएपी मल नपाएपछि किसानहरू चिन्तित छन् । ‘डीएपी पाउने आशामा तीन–चारपटक साल्ट्र ट्रेडिङ र कृषि सामग्रीमा धाइसकेँ तर हरेक दिन रित्तै हात फर्किनुपरेको छ’ चौधरीले भने, ‘त्यहाँका कर्मचारीहरूले असार मसान्तमा मात्र डीएपी आउँछ भनेर किसानहरूलाई रित्तो हात फर्काउँछन् ।’

बीउ ठूलो हुँदै जान थालेपछि धान रोप्न सुरु गरेको उनले बताए । धान रोप्नुअघि नै उक्त मल आवश्यक पर्ने किसानहरू बताउँछन् । समयमा मल हाल्न नपाएपछि उत्पादन घट्ने चिन्ता किसानहरूमा छ ।

गत वर्ष पनि धानको सिजनमा डीएपी नपाएका किसानहरूले यस वर्ष पनि आवश्यक परेको बेला प्रदेशमा मल नपाएपछि भारतीय बजारबाट ल्याउने मनसाय बनाउन थालेका छन् । ‘केही दिन अझै कुर्छौं, पाइएन भने भारतीय बजारमै जानुपर्ला,’ शिवम् चौधरीले निराश हुँदै भने ।

भारतबाट पाइने मल हुने र त्यो पनि गुणस्तरहीन हुने किसानहरू बताउँछन् । रहर नभई बाध्यताले भारतीय बजारबाट कमसल तथा महँगोमा मल ल्याउनुपर्ने किसानहरूले बताए ।

‘धान रोप्ने बित्तिकै डीएपी मल चाहिन्छ । प्रदेशमा मल नपाएपछि भारतीय बजारबाटै ल्याउन थालेका छौं,’ कैलारी गाउँपालिका ६ का गोपीलाल चौधरीले भने । उनले वर्षौंदेखि किसानले सिजनमा माग गरेको मल पाउन नसकेको भए पनि सरकारले कहिल्यै ध्यान नएिको उनको गुनासो छ ।

‘चाहिएका बेला कहिल्यै मल मिल्दैन । डीएपी चाहिएको बेला युरिया दिन्छन्, युरिया चाहिएको बेला डीएपी । सरकारले कृषिलाई प्राथमिकता दिने गरेको बताउँदै आएको भए पनि समस्या समाधानका लागि भने कहिल्यै पहल गर्दैन,’ किसान गोपीलालले दुखेसो गरे ।

सुदूरपश्चिममा साल्ट्र ट्रडिङ र कृषि सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले किसानहरूलाई मल उपलब्ध गराउने गर्छ । यी दुवै कार्यालयमा हरेक दिन मल वितरण गर्ने जिम्मा पाएका सहकारी संस्थाका सञ्चालकहरू धाउने गरेका छन् । मल नपाएपछि उनीहरू पनि हरेक दिन निराश भएर रित्तो हात घर फर्किरहेको कैलारी गाउँपालिका ६ प्रित प्रगतिशील सहकारीका सञ्चालक बुधराम चौधरीले बताए ।

अहिले मल वितरण गर्ने कार्यालयका गोदाम रित्तै छन् । ‘किसानहरूको मल अभावको समस्या कहिल्यै नटर्ने भो,’ साल्ट्र ट्रडिङका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले भने, ‘सुदूरपश्चिमका किसानलाई हरेक सिजनमा ३० हजारदेखि ३५ हजार टन मल आवश्यक पर्छ । सरकारले त्यसको ५० प्रतिशत पनि उपलब्ध नगराउने भएकाले हरेक वर्ष हरेक सिजनमा समस्या दोहोरिन्छ ।’

कार्यालयले धानको सिजनका लागि २ हजार ६ सय ७४ टन युरिया, १ सय ७१ टन डीएपी र ८८ टन पोटास ल्याएको थियो । जुन अहिले सबै बिक्री भएर गोदाम खाली छ । डीएपी मल भने असार मसान्तसम्म आइपुग्ने महाप्रबन्धक पाण्डेले बताए ।

उनले डीएपी मलको सट्टा किसानहरूलाई एसएसपी मल उपभोग गर्न सुझाव दिएका छन् । ‘यो गैरअनुदानित मल हो तर यसले बालीलाई डीएपीको आवश्यकता पूर्ति गर्ने गर्छ,’ पाण्डेले भने ।

सुदूरपश्चिममा ७० प्रतिशत मल बिक्री गर्ने जिम्मा पाएको कृषि सामग्रीमा आवश्यक पर्ने डीएपी जेठ महिनामै सकिएको हो । चैतयता धानको सिजनका लागि भनेर १ हजार ३ सय ३३ टन युरिया र १ हजार २ सय ६९ टन मल आएको भए पनि अहिले कार्यालयको गोदाम रित्तो भएको छ ।

‘धानको सिजनका लागि आएको डीएपी मल जेठमै सकिएको छ तर युरिया अलिअलि गरेर आउने क्रम जारी छ,’ कृषि सामग्री धनगढीका प्रमुख नवलसिंह बोगटीले भने, ‘केद्रले नै किसानको आवश्यकताअनुसार मल पठाउँदैन, त्यसैले हरेकचोटि किसानले मल अभाव खेप्नुपरेको हो ।’कान्तिपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments