मुसिकोटबाट बाहिरियो ६० क्विन्टल लसुन

रुकुम (पश्चिम), रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१० चुनबाट ६० क्विन्टल लसुन बाहिरिएको छ । दुर्गम गाउँमा पर्ने चुनमा सडक सुविधा नहुँदा बाहिर पठाउन नसकेर वर्षेनी समस्या भोग्दै आएका कृषकहरुले यसवर्ष सडक पुगेकै दिन उक्त लसुन निर्यात गर्न सफल भएका हुन् । राम्रो लसुन उत्पादन भएपनि ढुवानी गर्न समस्या भएका कारण घरमै कुहिनुपर्ने बाध्यताको यसवर्षदेखि अन्त्य भएको भन्दै कृषकहरु हर्षित भएका छन् ।

गतवर्ष मात्रै सडक सुविधा नहुँदा यहाँका कृषकहरुले उत्पादन गरेको करिब तीनसय क्विन्टल लसुन बाहिर पठान नसकी घरमै कुहिएको थियो । गतवर्ष ठूलो मात्रामा लसुन कुहिएपछि यसवर्ष कृषकहरुले कमै मात्रामा लसुन लगाएका थिए । यसवर्ष भने स्थानीय कृषि सडक निर्माण कार्य सम्पन्न भएपछि यहाँको लसुनले बजार पाएको हो । ‘गतवर्ष असोजसम्म राखेर पनि कुहिएर बाँकी रहेको लसुन स्थानीय स्तरमै प्रतिकेजी ५० रुपियाँमा विक्री गरियो । स्थानीय कृषक झुपलाल खड्काले भन्नुभयो,- ‘अहिले भित्र्याउने बेलामै गाडी आएपछि एकमुष्ट रुपमा दाङ पठाइएको छ ।’

गाउँमै गाडी आएपछि कृषकहरुले प्रतिकेजी ८० रुपियाँमा लसुन बिक्री गरेका छन् । गतवर्ष घरमै लसुन कुहिएको समस्या भोगेपनि अहिले गाडीको सुविधा पुगेपछि अझै बढि खेती गर्ने सोच रहेको कृषक खड्काले बताउनुभयो । बजारसम्मको पहुँच भएमा खेती गर्न समस्या नहुने उहाँको भनाइ छ ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालयको ४० लाख रुपियाँ लगानीमा चौखावाङको होल्तारा–भेरीखोला–हलहले सडकको बैरामूलसम्म सडक निर्माण सम्पन्न भएको हो । सडक निर्माण समितिले काम सम्पन्न गरेर सार्वजनिक लेखापरीक्षण गरेकै दिन लसुनले पनि बजार पाएको मुसिकोट नगरपालिका –१० का वडा सदस्य धनबहादुर खड्का (बसन्त)ले जानकारी दिनुभयो । आगामी वर्षका लागि वडाले कृषकहरुलाई अनुदान समेत उपलब्ध गराएर वडाभित्र कम्तीमा पनि पाँचसय क्वीन्टल लसुन उत्पादन गर्ने लक्ष्य राखेको उहाँको भनाइ छ ।गोरखापत्र

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments