१३ करोडको अकबरे खुर्सानी उत्पादन

तेह्रथुम — व्यावसायिक अकबरे खुर्सानी खेतीमा लागेका जिल्लाका किसान यो वर्ष मूल्य नपाउँदा निराश बनेका छन् । खुर्सानी किसानले गत वर्षको जस्तो यो वर्ष मूल्य पाउन सकेका छैनन् । उत्पादन र क्षेत्रफल बढे पनि मूल्य भने गत वर्षको जति नपाएको किसानको गुनासो छ ।

कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष जिल्लाबाट १२ करोड ४८ लाख रुपैयाँभन्दा बढीको अकबरे खुर्सानी जिल्ला बाहिर पठााइएको थियो । यो वर्ष किसानले खुर्सानी खेती हुने क्षेत्रफल बढाएका कारण उत्पादन पनि बढेको छ । किसानले मूल्य भने कम पाएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।

यो वर्ष १३ करोड रुपैयाँ बराबरको खुर्सानी जिल्ला बाहिर पठाउने लक्ष्य भए पनि मूल्य कम भएकाले लक्ष्य पूरा हुनेमा शंका देखिएको ज्ञान केन्द्रका प्राविधिक रामजुगन यादवले बताए ।

खुर्सानी उत्पादन हुनेमध्ये सिजनमा मूल्य घटेको छथर गाउँपालिका सुदापकी खुर्सानी किसान यनादेवी खड्काले बताइन् । ‘खुर्सानी धेरै फल्यो,’ खड्काले भनिन्, ‘मूल्य भने पोहोरको जति पनि पाइएन ।’

अलैंची र अदुवापछि जिल्लाको प्रमुख नगदेबालीका रूपमा खेती हुने अकबरे खुर्सानीको बिरुवा, फल र बियाँ बिक्री गरेर किसानले प्रत्येक वर्ष आम्दानी बढाउँदै लगेका थिए । उत्पादित अर्गानिक अकबरे खुर्सानीको माग भारतीय बजारबाट समेत आउन थालेपछि किसान यसको व्यावसायिक खेतीतर्फ लागेका थिए ।

भारतबाट माग कम आएको र नेपालका आन्तरिक बजारमा खपत हुन नसक्दा मूल्य घटेको फेदाप गाउँपालिका ओयाक्जुङका खुर्सानी किसान मालती जोगीले बताइन् । गत वर्ष जिल्लामा ३२५ टन खुर्सानी उत्पादन भएको केन्द्रको तथ्यांक छ । उत्पादित खुर्सानी पूर्वी तराई हुँदै बिर्तामोड र जोगबनी नाका भएर भारतका सिलगुढी, दार्जिलिङ, सिक्किम, कालेङपोङ, मेघालयलगायतका भारतीय बजारमा निर्यात हुने गरेको छ । यो वर्ष त्यताबाट माग कम आएको किसानको भनाइ छ ।

पछिल्लो समय हङकङ, सिंगापुर लगायत मुलुकमा बस्ने नेपालीले पनि अकबरे खुर्सानीको खपत बढाएका छन् । स्थानीय बजारमा गत वर्ष प्रतिकेजी ४ सयदेखि ५ सय रुपैयाँसम्ममा बिक्री भएको खुर्सानी यो वर्ष मूल्य घटेर २ सय ५० देखि ३ सय रुपैयाँमा मात्र बिक्री भइरहेको छ ।

यहाँका दुई नगरपालिका र चारवटै गाउँपालिकामा अकबरे खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ । कार्यालयका अनुसार उत्पादित खुर्सानीमध्ये करिब ४५ प्रतिशत पूर्वका विभिन्न बजार हुँदै भारतीय बजारतर्फ निर्यात हुने गरेको छ । पर्याप्त सिँचाइ सुविधा नभएको जमिनमा समेत खुर्सानी खेती गर्न सकिने र थोरै जमिनमा पनि राम्रो आम्दानी हुने भएकाले अकबरे खुर्सानी खेतीप्रति किसानको आकर्षण बढदै गएको केन्द्रले जनाएको छ ।

पिरो प्रजातिका ६ देखि ७ प्रकारका खुर्सानी यहाँ खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । ठुल्लो डल्ले, सानो डल्ले, गोलो लाम्चे, चिप्लो लाम्चेलगायतका आकारका अबकरे खुर्सानी किसानले खेती गर्दै आएका छन् । हावापानीको हिसाबले १ हजारदेखि १ हजार ९ सय मिटरको उचाइसम्म अकबरे खुर्सानी खेती गर्न सकिने प्राविधिकहरूको भनाइ छ । कम मिहिनेत, लगानी र क्षेत्रफलमा पनि धेरै उत्पादन गर्न सकिने भएकाले व्यावसायिक अकबरे खुर्सानी खेतीमा लागेको म्याङलुङ नगरपालिका आम्बुङका खुर्सानी किसान चन्द्रकुमार श्रेष्ठले बताए ।कान्तिपुर

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments