बाढी , पहिराे र विषाादीकाे बहानामा तरकारीकाे भाउले ढाड सेक्यो

काठमाडौँ, दैनिक उपभोग्य तरकारीको भाउ गतवर्ष यो बेलाको तुलनामा थोकमै ३५५ प्रतिशतसम्म महँगिएको छ । गत बिहीबारदेखिको लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानका कारण तरकारी आयातमा अवरोध पुगेपछि तरकारीको भाउ आकासिएको हो ।

लगातारको वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरोले सडकमा क्षति पुगेर तरकारी आयात नै कम हुन थालेपछि उपत्यकामा तरकारीको भाउ आकासिएको व्यापारी बताउँछन् । लगातारको वर्षाका कारण महँगिएको तरकारीको भाउले गर्दा उपभोक्तालाई मात्रै होइन, व्यापारीलाई समेत समस्या भएको व्यापारी बताउँछन् । कालीमाटीका थोक व्यापारी रमेश गतवर्ष यही समयमा धार्नी र ढकमा तरकारी किन्न आउने ग्राहक अहिले केजीमा मात्रै भाउ सोध्न आउने गरेको अनुभव सुनाउनुभयो । देशका ठाउँ–ठाउँमा लगातार ठूलो वर्षाले बाटो भत्किएर बजारमा तरकारी नै आएको छैन, अलिअलि आएको पनि भाउ छोइसाध्यै छैन, उहाँले भन्नुभयो । कलङ्कीबाट कालीमाटी तरकारी बजारमा तरकारी किन्ने आउनुभएकी कल्पना घिमिरेले तरकारी र फलफूलको मूल्य महँगिएको सुनेर चकित हुनुभयो । उहाँले भन्नुभयो ‘के तरकारी किन्ने भन्ने नै अन्योल भयो, के किन्ने महँगो उतिकै छ त्यही पनि ताजा भए त हुन्थ्यो नि, हेर्दै बासी जस्तो छ, के किन्ने खै !’ वरपरको पसलमा राम्रो तरकारी नपाएपछि कालीमाटीमै आइपुग्नुभएका नवराज पौडेलले महँगोमा पनि राम्रो तरकारी नपाएको गुनासो गर्नुभयो ।

एक सय रुपियाँ मुस्किलले एक किलो तरकारी किन्न सकिन्छ । व्यवसायीले पसलपिच्छे फरक मूल्यमा बिक्री गरेका छन् । बजारमा खुला ठगी भए पनि सम्बन्धित निकाय भने मौन बसेको छ । बजार अनुगमन, नियमन र हस्तक्षेप गर्ने अधिकार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको हो तर, विभागले प्रभावकारी रूपमा अनुगमन गरेको देखिँदैन । बजारभाउ बढ्नुमा सरकारी निकाय मौन बसेको आरोप उपभोक्ताकर्मी बताउँछन् । उपभोक्ता अधिकारकर्मी माधव तिमिलसेनाले पसलै पिच्छे तरकारी र फलफूलको भाउ फरक हुँदा पनि यसको सरकार निकायबाट कुनै अनुगमन नहुनु विडम्बना हो भन्नुभयो । बजार अनुगमन गर्ने जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले माग र आपूर्तिको सन्तुलन नमिल्दा केही दिनदेखि बजारमा तरकारी महँगो भएको स्वीकार गर्नुभयो । आपूर्ति विभागले तरकारीको गुणस्तर र कालोबजारी भएर वा नभएको अनुगमन गर्ने भन्दै गौचनले भन्नुभयो ‘‘व्यापारीले कालोबजारी र ठगी गरेको प्रमाणित भए कालोबजारी ऐनअनुसार कारबाही हुन्छ ।’’

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार गतवर्ष यो बेलाको तुलना हरियो तरकारी भाउ थोक मूल्यमै २० देखि ३५५ प्रतिशतसम्म बढेको छ । थोक मूल्यमै भाउ बढेपछि खुद्रा व्यापारीले पनि मनोमानी रूपमा मूल्य बढाउँदै आएका छन् । समितिका अनुसार गतवर्ष ३० गते प्रतिकेजी १५ रुपियाँमा पाइएको सानो गोलभेडा अहिले थोकमा ६८ रुपियाँमा कारोबार भएको छ । यस्तै प्रतिकेजी सेतो मूला २८ रुपियाँबाट ६२, लाम्चो भन्टा ३५ रुपियाँबाट ५८, लौका ४० रुपियाँबाट ५८ रुपियाँ पुगेको छ । घिरौँला, बन्दा, झिँगनी २५ प्रतिशतसम्म महँगो भएको छ ।

समितिका अनुसार सामान्य अवस्थामा अरू बेलामा यस बजारमा दैनिक झन्डै एक हजार टनको हाराहारीमा तरकारी भित्रिने गरेकोमा शनिबारदेखि ६०० देखि ६५० टनको हाराहारिमा मात्रै तरकारी भित्रिएको छ । उपत्यकावासीको माग झन्डै ७० प्रतिशत कम मात्रै तरकारी आयात हुनु र आएको तरकारी पनि पानीले बिग्रेका कारण भाउ आकासिएको समितिले जनाएको छ ।गोरखापत्र

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments