झरीले महँगियो तरकारी

सुनसरी — बजारमा हरियो तरकारीको अभाव भएपछि मूल्य अकासिएको छ । पूर्वी क्षेत्रमा निरन्तरको झरीले तयार भइसकेको हरियो तरकारी नष्ट भएको छ । वर्षाले कोसी करिडोर र सहायक सडकहरू पनि अवरुद्ध छन् । तरकारी महँगिएपछि उपभोक्ता मारमा परेका छन् । गृहिणीहरूलाई चुलामा हरियो तरकारी तयार गर्न मुस्किल भएको छ ।

धरान–१५ मिलनचोक बस्ने अञ्जना लिम्बूले लगातार झरी परेपछि चुलामा हरियो तरकारी पाक्न छाडेको बताइन् । ‘चोकको तरकारी बजारमा खुद्रा बिक्रीका लागि राखिएका तरकारी पनि किलोमा होइन पाउको दाम सुन्दा पनि तर्सिनुपरेको छ,’ उनले भनिन् ।

आठ–दसजनाको परिवारका लागि एकछाक हरियो तरकारी तयार गर्नुपरे कम्तीमा २५०रुपैयाँ खर्च हुन थालेको लिम्बूको भनाइ छ ।
भारी वर्षा हुनुअघि १५ रुपैयाँ मुठामा पाइने सागको मूल्य अहिले ५० रुपैयाँ पुगेको छ । लिम्बूले ठट्यौली पारामा भनिन्, ‘अब यस्तै हो भने हरियो तरकारीको फोटो हेर्दै दाल र भात मात्र खाने बेला भयो ।’

उनले १२ दिनअघि मात्र आफूले ५५ रुपैयाँ किलोका दरले सिमी किनेको तर सोमबार खुद्रा तरकारी पसलमा त्यति नै सिमी किन्दा १ सय ४० रुपैयाँ तिर्नु परेको बताइन् । तितेकरेला त झन् पाउको ४० रुपैयाँमा किन्नुपरेको बताइन् । ‘दालसँग मात्र खाना खान पनि अप्ठ्यारो, तरकारी किन्नै नसकिने अवस्था छ,’ लिम्बूले सुनाइन् । कम आयस्रोत भएका परिवारले हरियो तरकारी किनेर उपभोग गर्ने अवस्था अहिले छैन । झरिपछि बजारमा मुला, टमाटर, काउली, सिमी, धनियाँ पत्ता, गाजर, हरियो खुर्सानीको मूल्यमा शतप्रतिशत वृद्धि भएको छ ।

धरानस्थित कृषि उपज बजारको थोक मूल्यमै हरियो तरकारीको मूल्य सयदेखि १ सय २० प्रतिशत वृद्धि भएको छ । निरन्तर झरी परेयता थोकमा काउली प्रतिकिलो ७० रुपैयाँ पुगेको छ । झरीअघि प्रतिकिलो ३५ रुपैयाँमा पाइने गरेको थियो । सिमी थोक मूल्यमा प्रतिकिलो सय रुपैयाँ पुगेको छ । झरीअघि प्रतिकिलो ४० रुपैयाँमा पाइन्थ्यो । टमाटरको मूल्य प्रतिकिलो ४० रुपैयाँबाट वृद्धि भएर ९० रुपैयाँ र २० रुपैयाँमा पाइने मुला ४५ रुपैयाँ पुगेको छ ।

कृषि उपज बजारका थोक व्यापारी चन्द्र मगरले भने, ‘यो सिजनमा कोसी पहाडी जिल्लाको तरकारी मात्र कारोबार हुन्छ । तराई सबै डुबानमा परेकाले पनि तरकारीको माग उच्च भएकाले आपूर्ति धान्न सकेको छैन ।’ उनले यो वर्ष तरकारीको उत्पादन कोसी करिडोरमा अत्यधिक देखिए पनि निरन्तर वर्षाले चौपट बनाएपछि अभाव भएको बताए ।

बजार व्यवस्थापक लक्ष्मण भट्टराईले तरकारीको मूल्य अकासिनुको मुख्य कारण एउटा मात्र नरहेको बताए । उनका अनुसार लगातारको झरीले तराई डुबानमा पर्नु, झरीले उत्पादनलाई नोक्सान गर्नु र आपूर्ति कम हुनु, बाटोघाटो अवरुद्ध हुनु, मार्केट चेन बाटो अवरुद्ध हुनु र लागत मूल्यअनुसार मूल्य कायम गर्ने व्यवस्था नहुँदा अभाव भएसँगै महँगिएको हो ।

प्रत्येक बिहान कृषि उपज बजारमा थोक व्यापारीहरू पोखरीमा बकुल्लाले माछा ढुकेर बसेजस्तै पहाडबाट ल्याइने तरकारी पर्खेर बसेका हुन्छन् । तरकारी नआएर रित्तै फर्कने गरेका छन् । कसैले सानो टिपरमा ल्याएको देख्ना साथ लुछाचुँडी गर्दै हानाथाप गर्ने गरेको बजार व्यवस्थापक भट्टराईले बताए ।

उनले भने, ‘यो सिजनमा दैनिक औसतमा १२५ टन तरकारीको कारोबार हुनुपर्ने हो तर निरन्तर झरीपश्चात् दैनिक ४५ देखि ५५ टन मात्र कारोबार हुँदै छ । मुख्यगरी धनकुटाबाट तरकारी आपूर्ति हुने गरेको छ । त्यसपछि तेह्रथुम, संखुवासभा, मोरङको उत्तरी क्षेत्र र सुनसरीको पाँचकन्य र विष्णुपादुकाबाट आपूर्ति हुने गरेको छ ।कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments