विषादीका कारण स्वास्थ्यमा गम्भीर असर

किटनाशक विषादीको विकल्पमा ‘जैविक विषादी’

काठमाडौं । अन्य देशको तुलनामा नेपाली कृषकले किटनाशक औषधीको प्रयोग कमै मात्र गर्ने भए पनि यसको वढी असर नेपालमा नै पाइएको छ । प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा.डिल्लीराज शर्माका अनुसार नेपालमा प्रति हेक्टर ३९६ ग्राम मात्र किटनाशक विषादीको प्रयोग गर्ने गरिएको छ ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रको आयोजनामा बुधबार राजधानीमा आयोजित नेपालमा विषादीको प्रयोग र स्वास्थ्यमा असर विषयक कार्यक्रममा उनले भने,‘ नेपालीले विषादीको प्रक्रिया मिलाएर उचित प्रयोग गर्न नजानेका कारण वढी असर देखि रहेको छ । ’

डा.शर्माका अनुसार जापानमा प्रति हेक्टर १०.८ किलो, कोरियामा १६.६ किलो , इटालीमा १३ किलो विषादीको प्रयोग हुन्छ । त्यता मिलाएर प्रयोग गरिने भएका कारण नेपालमा जतिको स्वास्थ्यमा गम्भीर असर देखिएको छैन । ’

विषादी प्रयोग गरिएका खाद्यान्न र तरकारीको उपभोग गर्दा स्वास्थ्यमा असर हुने जानकारी दिंदै उनले कालिमाटी तरकारी बजारमा कार्बामेट र अर्गानोफोसफेट परीक्षण गर्ने मेसिन राखेर अनुगमन गरिरहेको जानकारी दिए ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले राशायनिक विषादीलाई विस्थापित गरी जैविक विषादीको प्रयोग गर्न सवै तह र तप्काबाट दबाब दिनुपर्ने बताए । सदनमा अलपत्र अवस्थामा झैं रहेको जीवनाशक विषादी व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक अविलम्व पारित गराउन पहल गर्नुपर्ने धारणा राखे ।

यो विधेयकमा विषादीको अनुचित प्रयोग गरिएको खण्डमा कम्तिमा २५ हजार जरिवाना र १ महिना जेल सजाय हुने व्यवस्था गरिएको छ भने वढीमा २ लाख रुपैयाँ जरिवाना र १ वर्ष जेल हुने प्रावधान राखिएको छ ।

मुल्मीले भने, ‘विषादीकै कारण धेरै जनता अनाहकमा विरामी हुन परिरहेको र राज्यले जनताको स्वास्थ्यमा अझ चिन्ता लिएर प्रचारात्मक अभियान चलाउनुपर्ने बताए ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष प्रा.डा.शरदराज वन्तले नेपालमा २५ थरीका जैविक विषादीको प्रयोग भइरहेको र यसलाई प्रमाणिकरण गरी प्रयोग गर्न प्रोत्साहन दिएको खण्डमा जनता स्वस्थ हुन सक्ने जानकारी दिए ।

जनस्वास्थ्यविद डा. अरुणा उप्रेतिले विषादीयुक्त खानाको सेवनले फोक्सो, कलेजो, स्वासप्रस्वास प्रणाली र प्रतिरोधात्मक क्षमतामा दीर्घ असर पर्ने जानकारी दिए । विभिन्न अध्ययनले विषादीबाट स्मरणशक्तिमा ¥हास हुने, मनोरोग लाग्ने ,छालाको रोग लाग्ने पुष्टि भएको पनि उनले बताए । उनका अनुसार विषादीको अधिक प्रयोगले प्रजनन प्रणालीमा असर भइ गर्भ तुहिने, गर्भ नबस्ने, प्रजनन् क्षमतामा कमी हुने गर्दछ ।

फोरेस्ट एक्सनका कृष्ण पौडेलले खानेकुरामा मन्द विष रहेको जानकारी दिंदै मधुमेह, रक्तचाप, मुटुरोग, क्यान्सर र मिर्गौला रोगको कारक तत्व विषादीयुक्त खाना भएको बताए ।

माटोले अहिले काम गर्न छाडेको, खानेकुरा अस्वस्थकर हुँदै गएको र पर्यावरण पनि विग्रेको जानकारी उनले दिए । कार्यक्रममा सवैभन्दा वढी तराइमा विषादी प्रयोग हुने गरेको र नेपालमा आउने विषादी मध्ये ८० प्रतिशत तरकारीमा प्रयोग हुने गरेको जानकारी पनि दिइएको थियो ।
सामाजिक अभियन्ता मदन राइले हाम्रो शरीर र ब्रम्हाण्ड पञ्चतत्वले बनेको कारणले जैविक पर्यावरणमा जोड दिनुपर्ने बताए । उनले भने, यहाँ अस्पताल खुल्छ तर रोग लाग्न नदिन कुनै निकाय खोलिंदैन ।’ कार्यक्रममा यमूना घले र टीना गोर्खालीले पनि किटनाशक औषधी र विषादीका सम्वन्धमा प्रस्तुति दिएका थिए ।

आर्थिकन्यूज

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments