दूधको माग बढ्दै, उत्पादन घट्दै

दूधमा अनुदान

दार्चुला,दार्चुलाको सदरमुकाम खलङ्गामा मागअनुसारको दूध उत्पादन तथा सङ्कलन नहुने र उत्पादित दूधसमेत कम गुणस्तरको हुने गरेको गुनासो बढ्दै गएको छ ।खलङ्गा बजारमा आधा दर्जन डेरी व्यावसायी र केही खुद्रा व्यापारीले दूध तथा दूधजन्य पदार्थको सङ्कलन र बिक्रीवितरण गर्ने गरेका छन् । दार्चुला डेरीका सञ्चालक प्रकाश सामन्तले भन्नुभयो, बजार क्षेत्रका साथै महाकाली नगरपालिकाको दत्तु, सकार, बेत, काकँडा, धाप, श्रीबगड, बाँजलगायत गाउँबाट गाई र भैँसीको दूध सङ्कलन हुने गरेको छ । विभिन्न गाउँबाट दूध सङ्कलन गर्दा समेत बढ्दो मागलाई धान्न सकिएको छैन ।

गौमाता गाईपालन तथा डेरी उद्योगका सञ्चालक दलजितसिंह महताले भन्नुभयो, दूध गोठदेखि ओठसम्म सफा हुनुपर्ने हो तर कृषकहरूलाई तालिमको व्यवस्था नहुँदा सरसफाइ र दूधको गुणस्तरमा धेरै समस्या छ । किसानहरूलाई द्ूध उत्पादनबारे आधारभूत जानकारीसमेत नहुनु, समयमै चिस्यान केन्द्रसम्म दूध नपुग्नु, सरसफाइको कमी हुनु र नउमालेरै दूध प्रयोग गर्ने बानीका कारण गुणस्तरमा समस्या देखिएको छ । दुईवटा गाई पालेर व्यवसाय सुरु गरेका महताले अहिले १० वटा गाई पालेर फर्म सञ्चालन गरेका छन् । आफ्नो डेरी उद्योगमा सङ्कलन भएको र घरमा उत्पादन गरेको समेत गरेर ३०० लिटर दूध र दूधजन्य उत्पादन दैनिक बिक्री गर्ने गरेको उहाँले बताउँनुभयो ।

दार्चुला डेरीका सञ्चालक प्रकाश सामन्तले भन्नुभयो, यहाँका धेरै किसानले पशुपालन गरेका छन् तर आवश्यक ज्ञानको अभावमा मेहनतअनुसारको उत्पादन र उत्पादनअनुसारको गुणस्तर हुन सकेको छैन । दूध दुहुने, सङ्कलन गर्ने र प्रयोग गर्ने तरिकाबारे कृषकलाई नगरपालिकाले तालिम दिनुपर्ने डेरी सञ्चालकहरूको माग छ । उत्पादन घट्दै जाँदा किसानहरू पशुपालन व्यवसायबाट निराश हुनुपर्ने अवस्था आउन थालेकोले कृषि लक्षित कार्यक्रममा नगरपालिकाले तालिमको व्यवस्था गर्नुपर्ने सामन्तले बताउनुभयो ।

खलङ्गाका डेरी तथा पशलहरूबाट दैनिक एक हजार २०० लिटर बढी दूध तथा दूधजन्य उत्पादन बिक्रीवितरण हुने गरेको छ । उद्यमी सामन्तले भन्नुभयो, दैनिक एक लाख बढी मूल्य पर्ने दूध खलङ्गामा बिक्री हुन्छ तर विद्युत् नियमित नहुनु र समयमै फ्रिजमा दूध राख्न नसक्नुका कारण दूधमा गुणस्तर घट्ने गरेको छ । मागअनुसारको उत्पादन नहुँदा बेलुकीको समयमा ग्राहकहरूलाई रित्तै हात फर्काउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

पशुहरूमा लाग्ने विभिन्न रोगको जिल्लामै औषधि उपचार नपाउँदा पशुपालक कृषक निराश बनेका छन् । उद्यमी दलजितसिंह महताले भन्नुभयो, सामान्य सुई लगाउन, पशुका लागि दानापानी ल्याउनसमेत भारतीय बजार धारचुला धाउनुपर्ने बाध्यता छ । नगरपालिकाले कृषकलाई कृषिमा आत्मनिर्भर बनाउन पशुपालन व्यवसायमा लगानी बढाउनु आवश्यक छ । आफूले व्यवसाय सञ्चालन गरेको छ वर्ष बिते पनि अहिलेसम्म कसैले सहयोग नगरेको उहाँको गुनासो छ । गोरखापत्र

Subscribe
Notify of
guest

6 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments