मकैबालीमा भालु र बाँदरको आतंक

रुकुम (पूर्व), जिल्लाको सिस्ने गाउँपालिका –१ ओख्रेनाका किसानले लगाएको मकैबालीमा भालुको आतंक बढेको छ । भालुले स्थानीय १६ घरपरिवारको ठूलो मात्रामा पाक्न थालेको मकैबालीमा क्षति पुराएको हो ।

भालुले स्थानीयको मकैबालीका साथै गाईगोरु समेत मार्ने गरेको वडाध्यक्ष मानबहादुर बुढाले जानकारी दिनुभयो । मकैबाली जोगाउन किसानहरुले बारीमा कुकुरहरु बाँध्ने गरे पनि भालु आउन नछाडेको उहाँको भनाई छ ।

सिस्ने हिमालको फेदमा रहेको ठूलो जंगलमा स्थायी रुपले बस्दै आएका भालुहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको वडाध्यक्ष बुढाले बताउनुभयो । मान्छेहरुलाई समेत आक्रमण गर्ने भएकोले भालु धपाउन समस्या भएको किसानहरुको गुनासो रहेको छ ।

यसैबीच, मुसिकोट नगरपालिका –२ राउखेतका चारजना किसानले लगाएको मकैबालीमा बाँदरले क्षति पु¥याएको छ । आफूहरुले लगाएको मकै बाँदरले सखाप बनाएपछि किसानहरु चिन्तित बनेका छन् । स्थानीय किसानहरु पूर्णबहादुर खत्री, विर्खध्वज पुन, मानबहादुर पुन, खम्बु खड्का र तिलक खड्काले लगाउनुभएको मकै बाँदरले ठूलो मात्रामा क्षति पुराएको हो ।

आफ्नो करिब चार/पाँच मुरी उत्पादन हुने मकैबाली बाँदरले खाइदिएको किसान पूर्णबहादुर खत्रीले दुखेसो गर्नुभयो । यहाँ प्रत्येक वर्ष बाँदर लाग्ने गरेकोमा अहिले सबैभन्दा बढि क्षति पुराएको बताइएको छ ।

‘बाँदर धपाउन हामी सबैले पालैपालो पहरा बस्ने गरेपनि झुक्याएर यत्रो क्षति पु¥याइदियो ।’ खत्रीले भन्नुभयो,‘मुख्य अन्नबालीमा बाँदरले क्षति गरेपछि ६ महिनाको दुःख त्यत्तिकै खेर गयो ।’ नजिकै रहेको सानीभेरी नदी माथिको जंगलमा बसेको बाँदरको यो समूहले यसका आसपासका अन्य गाउँमा समेत क्षति गर्ने गरेको स्थानीयको भनाई छ । गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments