काठमाडौंका बजारभरी तरुलै तरुल

काठमाडौं – माघे संक्रान्ती भित्रँदै गर्दा बजारमा तरुलको बिक्री पनि बढ्दै गएको छ। पुस महिनामा पर्ने ल्होसार र माघे संक्रान्तीमा तरुल लगायत कन्दमूल खाने परम्परा अनुरुप बजारमा यसको माग बढेको हो। तरुल, सक्खरखण्ड लगायतको कन्दमूलको व्यापार पुसको अन्तिम हप्ता वर्षभरीकै बढी रहने कालीमाटी फलफूल तथा तरकारी विकास समितिका प्रवक्ता विनय श्रेष्ठ बताउँछन्। ‘अन्य समयको तुलनामा माघे संक्रान्तीको आसपास तरुल तथा सक्खरखण्डको बिक्री बढी हुन्छ,’ उनले भने, ‘वर्षभरीको बिक्रीको ९० प्रतिशत बिक्री यही समयमा हुन्छ।’

कालीमाटीमा मात्रै यो वर्ष आइतबारसम्म एक हजार ५० टन तरुल भित्रिएको समितिको तथ्यांक छ। प्रवक्ता श्रेष्ठ पुस महिनाका बाँकी दुई दिनमा यो तथ्यांक १२ सय पुग्ने बताउँछन्। कालीमाटीले उपत्यकाको ६० प्रतिशत बजार समेट्ने तथ्यांकको आधारमा यो समयमा उपत्यकामा दुई हजार टन तरुल तथा सक्खरखण्ड भित्रिने देखिन्छ। यो वर्ष पोहोरभन्दा दुई सय टनले बढी तरुल भित्रिएको श्रेष्ठले बताए। बजारमा आउने अधिकांश तरुल नेपाली उत्पादन छ। श्रेष्ठ बजारमा तराई र काठमाडौं आसपासका जिल्लाबाट पर्याप्त तरुल आउने गरेको बताउँछन्। उनका अनुसार यो वर्ष कालीमाटीमा सर्लाहीबाट मात्र चार सय ५० टन तरुल भित्रिएको छ।

‘उपत्यका आसपासका जिल्लादेखि चितवन, झापासम्मको तरुल आएको छ,’ उनले भने, ‘सक्खरखण्ड भारतबाट आउने गरे पनि तरुललाई बाहिरको भर पर्नुपर्दैन।’यो वर्ष कालीमाटीमा ४० टन सक्खरखण्ड भारतबाट भित्रिएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनासम्ममा ४७ लाख बराबरको दुई सय ६२ टन सक्खरखण्ड आयात भएको छ। पोहोर वर्षभरमा डेढ करोड बराबरको आठ सय ३५ टन भित्रिएको थियो। विगतका वर्षको तथ्यांक हेर्दा आयात पनि पुस महिनामा बढीदेखिन्छ। पोहोरको तथ्यांक हेर्दा पुस महिनासम्ममा सात सय ८० टन भन्दा बढी सक्खरखण्ड आएको थियो।

अन्य तरकारी जस्तै यस वर्ष तरुलको मूल्य पनि बढेको छ। सामान्यतया स्रोत र तरुलको जातका आधारमा तरुलको मूल्य फरकफरक रहेको श्रेष्ठ बताउँछन्। उनका अनुसार बजारमा तरुलको मूल्य ६० देखि चार सय रुपैयाँ प्रतिकिलोसम्म छ। उनले तरुलको मूल्य यति नै हुने भन्दा पनि माग र बिक्रीको आधारमा घट्ने बढ्ने गरेको बताउँछन्। संस्कृतिविद् राजेन्द्रकुमार आचार्य यो समयमा तरुल खाने परम्परामात्र नभएर माघे संक्रान्तीमा सूर्य उत्तरायण हुने र चन्द्रमा दक्षिणायन हुने हुँदा धार्मिक रुपमा पनि कन्दमूल खाने उपयुक्त समय भएको बताउँछन्। ‘माघे संक्रान्तीमा नदी तथा सागरमा माघ स्नान गरी कन्दमूल खानुपर्छ भन्ने धार्मिक विश्वास छ,’ आचार्यले भने, ‘कन्दमूलमा अन्नमा भन्दा विशिष्ट गुण हुने हुँदा पनि यसको महत्व बढी छ।’

कन्दमूल आदिवासी जनजातिसँग जोडिएको र उनीहरुको विभिन्न पर्व र नयाँ सम्बत्सर यही समयमा पर्ने हुँदा पनि तरुल खाने चलन बढी रहेको उनको भनाइ छ। आचार्य प्राकृतिक रुपमा पनि कन्दमूल ठ्याक्कै यही समयमा फलेर खानयोग्य हुने बताउँछन्।नागरिक

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments