चल्लाको मूल्य बढाउने व्यापारीमाथि निगरानी

काठमाडौं,राष्ट्रिय कुखुरा पालक संघर्ष समितिले कुखुराको चल्ला र दानामा अत्याधिक मूल्य वृद्धि भएको भन्दै मूल्य घटाउन आग्रह गरेको छ । संघर्ष समितिले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई मूल्य घटाउन ज्ञापनपत्र बुझाएको हो ।

समितिले तीन दशक भन्दा लामो इतिहास बोकेको कुखुरा पालन व्यवसाय दिन प्रतिदिन विचौलियाको चलखेलका कारण किसानहरु मारमा परेको बताएको छ । सरकारले उचित चासो नदिदाँ चल्ला र दानाका कालो बजारी भएको संघर्ष समितिका संयोजक विष्णु खड्का बताउनुहुन्छ ।
चल्लाको मूल्य ह्याचरी व्यवसायीले चल्लाको दाना तोक्न पाउँछ भने मासुकोे मूल्य आफूले तोक्न पाउनुपर्ने माग गरेको छ ।

कुखुरा किसानको समस्या बारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायत सरोकार निकायलाई ध्यानाकर्षण गराए पनि सुनुवाई हुन नसकेकोे संयोजक खड्काको दुःखेसो छ । यता, दाना उद्योग संघका अध्यक्ष रविन पुरी संघर्ष समितिले लगाएको आरोपमा सहमत हुन नसकिने बताउनुहुन्छ ।

अध्यक्ष पुरी अहिले बजारमा दानाको मूल्य बढेको नभई प्रतिबोरा एक सय रुपैयाँ घटेको गोरखापत्र अनलाईनलाई जानकारी दिनुभयो । अहिले संघर्ष समिति बनाएर दानाको मूल्य बढ्यो, कालोबजारी भयो भन्नेहरु किसान मात्र नभई केही कोल्ड स्टोर व्यापारी समेत भएको उहाँ आरोप लगाउनुहुन्छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सहायक सूचना अधिकारी दिपक पोखरेल दानाको मूल्य के छ बुझ्दै गरेको जानकारी दिँदै चल्लाको मूल्य केही दिन अघि प्रतिवटा ३५ रुपैयाँ भएको अहिले ७० रुपैयाँ सम्म बेचेको पाइएको बताउनुभयो ।

चल्लाको मूल्य किन बढ्यो भन्दा चल्ला व्यवसायीलाई सोध्दा पुरानो मूल्यमा बेच्दा लागत नउठने प्रतिक्रिया दिने गरेको पोखरेल बताउनुहुन्छ । विभागले चल्लाको मूल्य वृद्घिको विषयमा सरोकारवाला निकायसँग छलफल गर्न बोलाएको जानकारी दिनुहुँदै विस्तृत कारण पत्ता लगाउने उहाँको भनाइ छ ।
विभागले बजार अनुगमन अहिले पनि निरन्तर गरिरहेको जानकारी दिँदै विना कारण चल्लाको मूल्य बढाउनेमाथि सरकारले कारबाही गर्ने पोखरेल बताउनुहुन्छ ।गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments