पेट्रोलियम पदार्थ र ग्यासको कृत्रिम अभाव गराउनेलाई कडा कारबाही गरिने

काठमाडौँ — नेपाल आयल निगमले ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउने विक्रेता एवं ढुवानीकर्तालाई कडा कारबाही गर्ने जनाएको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले उपभोक्ताको माग बमोजिम पेट्रोल, डिजेल तथा ग्यासको सहज आपूर्ति भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘सर्वप्रथम विषम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बावजुत पनि निगमले उपभोक्ताको माग बमोजिम पेट्रोल, डिजेल तथा एलपी ग्या लगायतका पेट्रोलियम पदार्थहरुको निर्वाध आपूर्ति एवं विक्री वितरण गरिरहेको र आगामी दिनमा पनि सम्पूर्ण पेट्रोलियम पदार्थहरु सहज रुपमा उपलब्ध गराउन निगम प्रतिवद्ध रहेको व्यहोरा सहर्ष जानकारी गराउँदै हालका केही समयमा बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी सर्वसाधारण उपभोक्ताहरुलाई भयवित गराइ फाइदा उठाउने कार्यमा निगमका विक्रेता, ढुवानीकर्ता तथा एलपी ग्यास विक्रेता आदिको संलग्नता पाइएमा नेपाल आयल निगम लिमिटेडले कडा कारबाही गर्ने व्यहोरा आश्वस्त पार्न चाहन्छौं।’

यस्तै निगमले उपभोक्तालहरुलाई पनि घरमा हल्लाको पछि लागेर आवश्यक भन्दा बढी ग्यास तथा पेट्रोलियम पदार्थ भण्डारण नगर्न आग्रह गरेको छ।

निगमले विज्ञप्तिमा भनेको छ, ‘आमउपभोक्ता वर्ग, हल्लाको पछि लागेर अत्यन्त प्रज्वलनशील पदार्थहरुको भण्डारण नगर्नु हुन तथा आवश्यक भन्दा बढी ग्यासको सिलिण्डर घरमा सुरक्षा एवं आगजनीको दृष्टिकोणमा समेत असुरक्षित हुने भएकोले सञ्चय नगर्नु हुन समेत हार्दिक अनुरोध गर्दछौं।’

यसैबीच उद्योग वाणिज्‍य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बुधबार काठमाडौं उपत्यकाका विभिन्न पेट्रोल पम्प, ग्यास उद्योग, ग्यास डिलर तथा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेका छन्।कोरोना भाइरस कोभिड-१९ को संक्रमण फैलने त्रासले व्यापारीहरुले कालोबजारी गरेको गुनासो बढ्न थालेपछि मन्‍त्री भट्टले बजार अनुगमन गरेका छन्।

मन्त्री भट्टले पुल्चोक, जावलाखेल, कुमारीपाटी, महालक्ष्मीस्थान, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, टेकु, त्रिपुरेश्वरलगायतको ठाउँमा झण्डै दुई दर्जन पेट्रोल पम्पमा अनुगमन गरेका छन्।

अनुगमनका क्रममा अधिकांश पेट्रोल पम्पमा नियमित रुपमा आपूर्ति र खपत भएको पाइएको छ। तर नाकाबन्दीको बेलाजस्तो न्यून आपूर्ति हुने डरले उपभोक्ताले चाहिनेभन्दा बढी स्टक राख्‍न थालेपछिआपूर्तिमा समस्या देखिएको पनि मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए।कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments