केराले बजार नपाउँदा किसान चिन्तित

केरा आयात

बलेवा, चैत ६ गते । बागलुङ जैमिनी नगरपालिका १ र २ का किसानले ठूलो लगानी गरी केरा खेती गरेका छन् । विगतमा मौसमले साथ दिँदा राम्रो कमाइ गर्दै आएका किसान पछिल्लो समय सो खेतीले बजार पाउन छाडेपछि निराश बनेका छन् ।

आम्दानी राम्रो हुने र कम जनशक्तिले समेत खेती गर्न मिल्ने भएकाले अन्नबाली मासेर लगाएको केराले बजार पाउन छाडेको स्थानीय किसान सूर्यनाराण पौडेलले गुनासो गर्नुभयो । कुश्मीशेराको खौर, किसेक र टुनीवोटमा केरा खेती शुरु भएको दश वर्षभन्दा धेरै भयो । सो खेतीबाट राम्रो आम्दानी गरेका यहाँका किसानले यस वर्षको हिउँदमा नोक्सानी बेहोर्नुपरेको थियो ।

यस वर्षको हिउँदमा मात्रै लाखौँको केरा बिक्री नभएर खेर गएको उहाँले बताउनुभयो । “‘गर्मी लागे पनि केराको माग आएको छैन”, उहाँले भन्नुभयो, “चिसोको चार महिना बारीमै कुहिएर गए ।” डोकोभरी केरा बोकेर बजार पु¥याउन हिँडिरहने उहाँको दैनिकी यस वर्षको हिँउदमा कायम रहन सकेन ।

उहाँले किसानको बारीबाटै केरा उठाएर डोको भर्नुहुन्थ्यो । आफ्नो बारीको केरा पनि बजार पु¥याउनुहुन्थ्यो र केही आफँै बेच्नुहुन्थ्यो । बजारै नपाएकाले उहाँजस्तै धेरै किसान मर्कामा छन् । केराको आम्दानीले दैनिक खर्च चलाउनेको सङ्ख्या गाउँमा ३० भन्दा धेरै छ । उहाँको तीन मुरी कोदो फल्ने बारीमा केराको बगान छ । वर्षातको समयमा मात्रै कोदो र मकै फल्ने बारीलाई सदुपयोग गरेर किसान पौडेलले वर्षमा झण्डै तीन लाख कमाउनुभएको थियो ।

मकै र कोदोको मूल्य हिसाब गर्दा वर्षमा रु १८ हजार कमाइ हुन्थ्यो, रोप्ने, गोड्ने दुःख त कति हो कति उहाँ भन्नुभयो, “समयमा पानी र मल दिएपछि राम्रो फल्ने केराले अहिले मेरो दैनिकीनै बद्लिएको छ, तर चिसोमा केरा नबिक्दा समस्यामा परियो ।” सुक्खा रातोमाटो रहेको खौर, किसेकको डाँडामा वर्षात्को समयमा मात्रै खेती हुने गरेको थियो । पछिल्लो समय उक्त गाउँका किसानले परम्परागत खेतीलाई परिवर्तन गरेर केरा खेती गरेका छन् ।

सूर्य पौडेलको जस्तै खौरका ऋषिराम शर्माले चार रोपनी बारीमा केरा खेती गर्नुभएको छ । शुरुको पहिलो वर्षमा उत्पादन दिएको केराले अहिले भने हिउँद बर्खा दुवै सिजनमा राम्रो फसल दिएकाले आफू सन्तुष्ट रहेको शर्माले बताउनुभयो । उहाँको पनि सूर्यको जस्तै बजारको समस्या छ ।

किसेकका अग्नीधर शर्मा पेशाले शिक्षक हुनुहुन्छ । उहाँको चार रोपनी घरबारीमा केरा खेती छ । केराभित्र उनले कफी पनि लगाउनुभएको छ । तीन मुरी कोदो र चार मुरी मकै फल्ने बारीमा लगाएको कफी र केराबाट शर्माले वार्षिक पाँच लाखभन्दा धेरै आम्दानी गरेको बताउनुभयो । यो गाउँमा झण्डै ४० रोपनी जग्गामा किसानले केराको खेती गरेका छन् ।

पकेट कार्यक्रमका लागि प्रदेश सरकार र स्थानीय जैमिनी नगरपालिकाले यो गाउँलाई अनुदान पनि दिएको छ । यस वर्ष सिँचाइका लागि प्लाष्टिक ट्याङ्की र कालो पाइप किसानलाई दिएको हो । “सामान्य सहयोग त पाइयो तर हाम्रो आवश्यकता बजार हो”, शर्माले भन्नुभयो, “चिसो समयको केराबाट अरु उत्पादन गर्ने वातावरण बनाइदिए हुन्थ्यो ।” किसानको मर्का बुझेको केरा पकेट समूहले यस वर्ष उत्पादनमा जोड दिएर आगामी वर्षबाट बजारको व्यवस्थापनमा लाग्ने जनाएको छ ।

“ बाहिरबाट आउने केरालाई हामीले विस्थापन गर्छौं” पकेट समूहका अध्यक्ष गोपाल आचार्यले भन्नुभयो, “चिसो मौसममा फल्ने केरा स्टोर गरेर राख्ने व्यवस्था पनि गर्नुपर्छ ।” गर्मीमा भने यहाँको केरालाई बजारको समस्या छैन । यहाँको केरा किसानले रु ६० दर्जनमा व्यापारीलाई दिने गरेका छन् । व्यापारीले भने रु १०० देखि १२० मा बिक्री गर्छन् । खौर र किसेका किसानले एकापसमा मिलेर केराको उत्पादन गरी रहेका छन् । सिँचाइको लागि पानीको चरम समस्या रहेको उक्त ठाउँमा खानेपानीका लागि ल्याइएको पानीलाई बचाएर सिँचाइ गर्दै आएका छन् ।गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?