किसानले बनाउन थाले च्याउको सुकुटी

च्याउखेती शुरू

काठमाडौँ — किसानले उत्पादन खेर नजाओस् भनेर च्याउको सुकुटी बनाए पनि बिक्री गर्न बजार नपाएको गुनासो गरेका छन् । लकडाउनका कारण उत्पादित ताजा च्याउले बजार पाएको छैन । बिक्रीको विकल्पमा उनीहरूले सुकुटी बनाएर राखे । तर सुकुटी पनि खेर जाने हो कि भन्ने चिन्ता रहेको किसान बताउँछन् ।

अछामको मंगलसेन नगरापालिका–५ स्थित दुर्गा कृषि च्याउ उत्पादन केन्द्र र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित तिमिल्सिना च्याउ फार्मले बढी भएको च्याउको सुकुटी बनाएर राखिरहेका छन् ।दुर्गा कृषि च्याउ केन्द्रका गुमानसिंह बटालाले अहिलेसम्म ४६ क्विन्टल च्याउको सुकुटी बनाइसकेको जानकारी दिए । १० किलो च्याउ बराबर एक किलो सुकुटी हुने उनको भनाइ छ । त्यस्तै काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित तिमिल्सिना च्याउ फार्मका सञ्चालक सीताराम तिमल्सिनाले पनि ७० केजी च्याउको सुकुटी बनाएर राखिरहेको बताए ।

लकडाउनका कारण सबै च्याउ किसान समस्यामा परेको बटालाको भनाइ छ । मंगलसेनमा ५ रोपनी र पञ्चदेवल विनायक नगरपालिका–२ मा ४ रोपनी क्षेत्रफलमा उनले कन्ये च्याउको खेती गरेका छन् । १० लाख रुपैयाँ लगानीबाट खेती सुरु गरेका उनले अहिले व्यवसाय धरापमा रहेको गुनासो गरे ।

‘लकडाउनले गरेर १० लाख रुपैयाँ बराबरको नोक्सान भयो । गत असोजमा ५ लाख रुपैयाँ लगानी गरेर पहिलो लटको च्याउ लगाएँ,’ उनी भन्छन्, ‘फागुनदेखि उत्पादन दिन थाल्यो । तर चैतबाट लकडाउन सुरु भयो । अर्काे लटका लागि च्याउ लगाउन समस्या छ ।’

ताजा च्याउ बिक्री हुन नसकेका बेला सुकुटी बिक्री गर्न झनै समस्या रहेको तिमिल्सिना बताउँछन् । उनले पनि यस अवधिमा १० लाख रुपैयाँ नोक्सान भएको जानकारी दिए । ‘फागुनमा १७ लाख रुपैयाँ लगानी गरेर ८ हजार पोका च्याउ लगाएँ । बेच्ने बेला लकडाउन भयो,’ उनले भने ।कान्तिपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments