गहुँ प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ

गहु

काठमाडौँ — सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सुझाएअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा मूल्य सिफारिस गरेको हो । बैठकले त्यसलाई स्वीकृत गरेको आपूर्ति मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिए ।

‘मन्त्रालयले समर्थन मूल्य तोक्ने प्रस्ताव स्वीकृत भएको छ,’ आपूर्तिमन्त्री लेखराज भट्टका निजी सचिवसमेत रहेका बस्नेतले भने, ‘उत्पादन लागत २ हजार ३ सय १९ रुपैयाँ ४९ पैसा, ढुवानी खर्च २ सय ३१ रुपैयाँ ९५ पैसा र किसानलाई नाफा ४ सय ६३ रुपैयाँ ९० पैसासहित ३ हजार १५ रुपैयाँ ३४ पैसा समर्थन मूल्य सिफारिस गरिएको हो।’ यसअघि कृषि र आपूर्ति मन्त्रालयबीच भएको छलफलमा बीउ राख्ने बेलामै समर्थन मूल्य तोक्नुपर्ने पनि छलफल भएको उनले बताए। मल, पानी, परिश्रमसहित प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँले नपुग्ने भएकाले सुरुमै मूल्य तोक्दा किसानलाई प्रोत्साहन मिल्ने उनको भनाइ छ।

समर्थन मूल्यका लागि ३६ जिल्लाको आँकडा लिइएको कृषि मन्त्रालयका सहसचिव सबनम शिवाकोटीले जानकारी दिइन्। सीमा बजार, उत्पादन, ढुवानीसहित जोडेर समर्थन मूल्यका लागि आपूर्तिमा प्रस्ताव गरिएको उनको भनाइ छ। ‘सबै अध्ययन गरेर चार दिनअघि समर्थन मूल्यको प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गरेका थियौं। आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेस गरिएको हो,’ उनले भनिन्।

कृषिको प्रस्तावअनुसार मन्त्रिपरिषद्मा वैशाख १० गते समर्थन मूल्य पठाइएको आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बताइन्। ‘गहुँको समर्थन मूल्य पहिलो पटक कार्यान्वयन हुँदै छ,’ उनले भनिन्। मन्त्रालयका अनुसार यसअघि सरकारले तोके पनि कार्यान्वयन हुन सकेको थिएन। गत वर्ष मूल्य नै तोकिएन। ‘गत वर्ष कृषिले प्रतिक्विन्टल गहुँको २८ सय रुपैयाँ प्रस्ताव गरेको थियो,’ उनले भनिन्, ‘तर, स्वीकृत भएन।’ मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि आपूर्तिले नै कार्यान्वयन गर्छ। चालु आवका लागि आपूर्ति व्यवस्था तथा व्यापार कम्पनीले ३ हजार टन खरिद गर्ने लक्ष्य राखेको छ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले पनि गहुँको मूल्य अहिलेसम्म कार्यान्वयन नभएको बताइन्। कम्पनीको नियमित कार्यक्रमअन्र्तगत गहुँ खरिदमा ९ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिइन्। उक्त रकमबाट करिब ३ हजार टन गहुँ खरिद गरिने उनको भनाइ छ। ‘प्रतिक्विन्टल २७/२८ सय रुपैयाँका दरले ३ हजार टन खरिद गर्ने लक्ष्य थियो। मन्त्रालयले चिठी पठाएपछि समर्थन मूल्यमै गहुँ किन्छौं,’ उनले भनिन्।

कम्पनीले आव ०७४/७५ मा १२ सय ६५ टन र ०७५/७६ मा ३ सय ८१ टन गहुँ किनेको थियो। त्यति बेला ठाउँअनुसार औसत प्रतिक्विन्टल २७ सय रुपैयाँ परेको थियो। टीकापुर, धनगढी, राजापुर, नेपालगन्ज, भैरहवालगायत क्षेत्रबाट किनेको गहुँ मागअनुसार दुर्गमसँगै काठमाडौंमा पनि बिक्री गरिने जनाइएको छ।

सबैभन्दा बढी गहुँ धनगढी, कञ्चनपुर, बझाङ, दार्चुलालगायत सुदूरपश्चिम क्षेत्रमा खपत हुने कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए। उत्पादन पनि सोही क्षेत्रमा हुने गरेको छ। नेपालमा वार्षिक २० लाख टन गहुँ उत्पादन हुने उनको भनाइ छ। चालु आवमा २१ लाख टन उत्पादन हुने अनुमान छ।

‘गहुँका लागि चाहिने पानी पर्याप्त पर्‍यो। त्यसैले यसपालि उत्पादन १ लाख टन बढ्ने अनुमान छ,’ रेग्मीले भने। गहुँ मुख्यत: पाउरोटीजन्य पदार्थ र बेकरीमा प्रयोग हुन्छ। वार्षिक १ लाख टन गहुँ भने आयात भइरहेको कृषि मन्त्रालयले जनाएको छ।कान्तिपुर

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments