खेतीकै बेला बीउ र मल नपाउँदा समस्या

किसान मोर्चा

धनगढी — किसानले लकडाउनमै गहुँबाली भित्र्याए । तर धानको बेर्ना राख्न बीउ र मल पाउन नसकिएको उनीहरूको गुनासो छ । दिनदिनै किसान मल र बीउका लागि धाउन थालेको किसान बहुउद्देश्यीय सहकारी संस्था प्रतापपुरका जग्गुनारायण चौधरीले बताए ।

‘हामीले पनि कृषि सामग्री कम्पनी लिमिटेडबाट मल र बीउ ल्याएर किसानलाई बेच्ने हो,’ उनले भने, ‘कम्पनीले बोलाएपछि मात्रै लैजान आउनू भनेको छ । जहिले बोलाउँछ, उहिले लिन धनगढी जानुपर्ला ।’ धानको बीउ राख्ने बेला पानी पनि परे पनि सहकारी र बजारमा बीउमल नपाइएको थापापुरका सुनिल कठरियाको भनाइ छ । कृषि सामग्री कम्पनीले कैलालीलाई चाहिने जति मल र बीउ कहिल्यै आपूर्ति गर्न नसकिएको उनको भनाइ छ । ‘सामान्य अवस्थामा किसानले बीउ र मल स्थानीय बजारबाट खरिद गर्ने गर्थे,’ उनले भने, ‘अहिले त्यो अवस्था पनि छैन ।’

कृषि प्रयोजनका लागि लकडाउन खुकुलो पारिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए । ‘कृषि कामका लागि डिजेल, मल र बीउ लैजान पाउने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘सम्बन्धित कार्यालयलाई सामाजिक दूरी, मास्क प्रयोगलगायत उपाय अवलम्बन गर्न निर्देशन दिएका छौं ।’

कृषि सामग्री कम्पनी लिमिटेडका रूपबहादुर कुँवरले भने बिहीबारदेखि मल र बीउ टीकापुरबाट किसानलाई दिन थालिएको जाजनकारी दिए । ‘बुधबार मात्रै स्थानीय प्रशासनले मल तथा बीउ ढुवानी र वितरण गर्न दिने अनुमति दिएको हो,’ उनले भने, ‘सबै स्थानीय तहका सहकारी संस्थालाई पालैपालो बोलाएर मल र बीउ दिन्छौं । सहकारी संस्थाको पालो आउने दिन तोकेर खबर पनि गर्छाैं ।’

एक दिनमा ८/१० वटा सहकारी संस्थालाई वितरण गर्न निर्देशन आएको कुँवरले बताए । कृषि सामग्री कम्पनी लिमिटेडको प्रदेश कार्यालयमा अहिले डीएपी १५ सय, युरिया २६ सय र पोटास ३ हजार ५ सय टन मौज्दात रहेको उनले जानकारी दिए । तर यो परिणाम कैलालीका लागि पर्याप्त होइन । कम्पनी आफैंले कैलाली र कञ्चनपुरमा उत्पादन गरेको धानको ९० मेट्रिक टन बीउ पनि मौज्दात रहेको रहेको उनको भनाइ छ ।

कैलाली र कञ्चनपुरका लागि मात्रै धानको बीउ करिब ४ हजार मेट्रिक टन चाहिने उनले बताए ।कान्तिपुर

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments