बीमा विस्तार अब कृषि, लघु तथा घुम्ती सेवातर्फ

कठमाडौँ, अर्थ मन्त्री डा. युवराज खतिवडाले नेपालको बीमा बजारलाई गतिशील बनाउन अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिपादित बीमाका नवीनतम सिद्धान्त नेपाली बीमा बजारमा लागू गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको ५२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानीमा आयोजना गरिएको सेमिनारमा बीमा प्रदायक संस्थाको व्यापक विस्तारका कारण पछिल्ला वर्षमा बीमा सेवाको उल्लेख्य विस्तार भए पनि हालसम्म कुल जनसङ्ख्याको २२ प्रतिशतमा मात्र बीमाको पहुँच पुगेको परिप्रेक्ष्यमा बीमा सेवाको दु्रत विस्तारमा समितिको प्रभावकारी भूमिकामाथि जोड दिनुभयो ।

चाँडै बीमा प्राधिकरण ऐन संसद्बाट पारित हुने र बीमाको नियमन तथा व्यवसाय विस्तारले व्यापकता पाउने जानकारी पनि उहाँले दिनुभयो ।बीमा व्यवसायमा कृषि बीमा, लघु बीमा तथा घुम्ती बीमा जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै काम अगाडि बढाउन उहाँको आग्रह थियो । बीमाको पहुँच द्रुत गतिमा विस्तार गर्नुपर्नेमा जोड दिँदै उहाँले अहिलेका कम्पनीले त्यस्तो सम्भव नभएमा नयाँ कम्पनी थप्नुपर्ने बताउनुभयो ।

नयाँ बीमा र पुनर्बीमा कम्पनीको लाइसेन्स खोल्न सक्ने भन्दै उहाँले पुनर्बीमा कम्पनीले समेत पुनर्बीमाको दायरा बढाउन सक्नुपर्ने भन्दै अन्यथा नयाँ पुनर्बीमा कम्पनी खोल्नुपर्ने बताउनुभयो ।लघु बीमाको विस्तार प्राथमिकतामा राख्नुपर्ने, बीमा समितिको नियामकीय क्षमता बढ्नुपर्ने भनाइ राख्दै अर्थ मन्त्री खतिवडाले अहिले कृषि तथा पशु बीमाको कार्यक्रम व्यापक बनाउन जोड दिनुभयो ।

बीमा सेवाको विकास र विस्तारका लागि आकर्षक बीमा योजना, सेवाको विविधीकरण, आधुनिक प्रविधिको प्रयोग मार्फत कार्यकुशलतामा वृद्धिका साथै व्यवसायिक कार्य संस्कारको विकास गरी उत्तरदायित्वको अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले बीमाको पहुँच पुग्न नसकेका क्षेत्र लगायत प्रत्येक स्थानीय तहसम्म बीमा सम्बन्धी चेतना अभिवृद्धि गर्दै बीमाको पहुँच बढाउन नियामक निकायका रूपमा रहेको समितिले अझ सशक्त कदम चाल्नुपर्ने बताउनुभयो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले समितिले गरेको विभिन्न नीतिगत तथा कानुनी सुधारका कारण यो वर्ष नेपाली बीमा बजारको विकास र आधुनिकीकरणका लागि महìवपूर्ण वर्षका रूपमा रहन गएको बताउनुभयो । बीमा क्षेत्रका सबै सरोकारवालाको अथक प्रयास स्वरूप हाल वैदेशिक रोजगार म्यादी बीमासमेत गणना गर्दा करिब २७ प्रतिशत नागरिकमा बीमा पहुँच पुगेको जानकारी दिँदै उहाँले आगामी दिनमा पनिआवश्यक नीतिनिर्माण र समयसापेक्ष नीतिगत तथा प्रक्रियागत सुधारको क्रम जारी राख्न समिति तत्पर रहने बताउनुभयो ।

हाल विश्वलाई त्रसित बनाएको कोरोना महामारीका कारण मानव अस्तित्वमा नै सङ्कट उत्पन्न हुनुका साथै विश्व अर्थतन्त्र नै सङ्कुचन हुने स्थिति सिर्जना भएको भन्दै उहाँले सङ्कटको जोखिमको रक्षावरण गरी आर्थिक सबलीकरण गर्ने कार्यमा बीमा क्षेत्रले अझ बढी कार्य गर्नुपर्ने देखिएको बताउनुभयो । गोरखापत्र

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments