मकैमा फौजी कीराको प्रकोप बढ्न थालेपछि इलामका किसान चिन्तित

इलाम: मकैमा फौजी कीराको प्रकोप बढ्न थालेपछि इलामका किसान चिन्तित भएका छन् । धानचामर आउन थालेको मकैमा कीरा लागेपछि किसान चिन्तित भएका हुन् ।

आफूले करिब १२ रोपनी जमिनमा लगाएको मकैलाई कीराले खाएपछि माङसेबुङ गाउँपालिकास्थित इभाङका किसान करणवीर योङहाङले अहिलेसम्म कीरा नियन्त्रणको कुनै उपाय निकाल्न सक्नुभएको छैन । उहाँले भन्नुभयो, “गाउँपालिकाको कृषि शाखामा कुरा गर्दा अहिले कीरा नियन्त्रणका लागि केही पनि औषधि नभएको जवाफ पाएँ । यो वर्ष मकै सबै सखाप भए । यस्तो कीरा त कहिल्यै देखिएको थिएन । ”

जिल्लाका माङसेबुङ, चुलाचुली, फाकफोकथुम, माई, इलाम, सूर्योदय नगरपालिका लगायत सबैजसो स्थानीय तहमा लगाइएको मकैमा फौजीको प्रकोप देखिएको छ । जिल्लाको साढे पाँच सय हेक्टर जमिनमा लगाइएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र इलामका कृषि प्रसार अधिकृत रुजन खड्काले बताउनुभयो । फौजीको प्रकोप बढेपछि दैनिक पाँच–सात जना किसान कार्यालयमै आएर यसको रोकथामको उपाय सोध्नुहुन्छ, दैनिक १५–१६ जना किसानले टेलिफोनबाटै रोकथामको उपाय सोधिरहनुभएको छ, खड्काले भन्नुभयो, “नियन्त्रणको उपायबारे किसानलाई बताउँछौँ, औषधि सिफारिस गर्छौं तर यहाँबाट दिने औषधि भने छैन । ” चालू आर्थिक वर्षमा कार्यालयले आकस्मिक बजेटका लागि रकम नछुट्याएकाले फौजी नियन्त्रणका लागि औषधि खरिद गर्न नसकिएको खड्काको भनाइ छ ।

कार्यालयबाट किसानलाई औषधि दिन नसकिएपछि कृषि निर्देशनालय विराटनगर र बाली संरक्षण प्रयोगशाला विराटनगरमा पत्र पठाएर आवश्यक सहयोग माग गरिएको उहाँले जानकारी दिनुभयो । खड्काका अनुसार सूर्योदय र देउमाई नगरपालिकामा यो कीराको प्रकोप भर्खरै सुरु भएकाले औषधि भए नियन्त्रण गर्न सकिन्छ । अन्य स्थानमा पनि दस दिनयता कीराको प्रकोप धेरै बढेको छ । मकैको गुबो नै खाइसक्यो भने नियन्त्रण गर्न गाह्रो हुन्छ, उहाँले भन्नुभयो, “खैरो रङको पुतलीले कीरा सार्ने गरेको छ । त्यस्तो पुतली बसेपछि लार्भा छोड्छ, पछि त्यो कीराको रूपमा विकास भएको पाइन्छ । ” समयमै नियन्त्रण गर्न नसके यो वर्ष जिल्लामा लगाइएको मकै उत्पादन धैरै कम हुने खड्काले बताउनुभयो ।

इलाममा ३१ हजार ३९६ हेक्टरमा मकै खेती हुने गरेको छ । गत वर्ष जिल्लामा ९१ हजार ४८ मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । आजको गोरखापत्र अनलाइनमा खबर छ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments