गर्मी छल्न भेडीगोठ लेकतिर

लमजुङ : जाडो मौसम छल्नका लागि बेसीतिर झरेका भेडीगोठहरु पुनः लेकतिर फर्कन थालेका छन् । हिमाली भेगबाट चिसो छल्नका लागि गाउँ र बस्तीनजिकै डाँडाकाँडामा आईपुगेका भेडीगोठहरु गर्मी बढ्न थालेपछि लेक र खर्कमा फर्कन थालेका हुन् ।

वैशाख अन्तिम सातादेखिनै भेडीगोठहरु लेकतर्फ लाग्न थालेको भेटेरीनरी अस्पताल तथा पशुसेवा केन्द्र लमजुङका प्रमूख डा. रुपेश श्रेष्ठले बताए। यसपटक कतिपय गोठहरुमा रहेका भेडा बाख्रालाई पिपिआर भ्याक्सिन लगाएर लेकतर्फ लगिएको उनले जानकारी दिए। उत्तरपश्चिम लमजुङका भेडीगोठहरु मनाङ र कास्कीको सिमानासम्म पुग्ने गर्दछन्।

दूधपोखरी नजिकैको थुर्जु लेक र लमजुङ हिमालको काख लगायतका ठाउँहरु भेडीगोठका लागि प्रख्यात छन्। पश्चिम लमजुङको घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, उत्तरी लमजुङको सिउरुङ, ताघ्रिङ, भूलभूले, र उत्तर पूर्वी लमजुङको ईलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी लगायतका ग्रामीण क्षेत्रका बासिन्दाहरुका भेडीगोठ रहेका छन्।

भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र लमजुङका अनुसार जिल्लामा ८० भन्दा बढी भेडीगोठ रहेका छन्। ती भेडी गोठमा २० हजारभन्दा बढी भेडाबाख्राहरु रहेको कार्यालयले जनाएको छ।

लमजुङमा भेडीगोठहरू ६ महिना लेक र ६ महिना बेसीमा रहने गर्छन् । अहिले उकालो लागेका भेडीगोठहरू जाडो बढ्न थालेपछि पूनः बेसी फर्कने गर्दछन् । जिल्लाका उत्तरी भागमा रहेका भेडीगोठबाट करोड भन्दा बढि आम्दानी हुने गरेको छ । भेडीगोठमा रहेका भेडाहरुको उन तथा मासुबाट करोडभन्दा बढी रुपैया आम्दानी हुने गरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा केन्द्रले जनाएको छ ।

घुम्ती भेडीगोठमा पालिएका भेडाबाट मात्रै वार्षिक २०० मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । प्रतिकिलो ५ सयका दरमा भेडाको मासु बिक्री हुने गर्दछ । भेडाको मासुबाट मात्रै १० करोडभन्दा बढी रकम आम्दानी हुने गरेको कार्यालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?