धानको बाला लाग्ने बेलामा रोग देखिएपछि किसानहरु चिन्तित

भरतपुर: धान यो वर्ष निकै सप्रिएको थियो । पर्याप्त पानी परेका कारण यस वर्ष धान राम्रै फल्ने अनुमान किसानले गरेका थिए। चितवनको खैरहनीका कृष्णप्रसाद धरेल धानको उत्पादन बढ्ने देखेर खुशी थिए। तर बाला लाग्ने बेलामा रोग देखिएपछि उनलाई चिन्ता परेको छ।

‘केही दिनअघिसम्म मैले २९ कठ्ठामा लगाएको हर्दिनाथ जातको धान राम्रो थियो। अहिले फूल खेल्न नपाउँदै झर्न थालेको छ। केही ठाउँको धानमा कालो टाटा देखिएको छ,’ उनले भने, ‘हामीलाई प्राविधिकको खाँचो छ।’ कृषि प्राविधिकले २० प्रतिशत मात्र धान निस्कने बताएको उनले सुनाए।

धरेलको मात्रै होइन, पूर्वी चितवनका धेरै किसान अहिले धानमा रोग देखिएपछि चिन्तित छन्। अहिले गुणस्तरीय बिउ, प्रांगारिक मल, रासायनिक मल, अन्य उत्पादन सामग्री, सहजै दक्ष प्राविधिक सेवाको पहुँच नहुँदा समस्या आएको धरेलले बताए। चितवनको भण्डारा, कुमरोज, पिप्ले र कठार क्षेत्रमा लगाइएको धान काट्ने समयमा दानामा लाग्ने डढुवा र नेक ब्लाष्ट नामको रोग देखिएको हो।

उक्त क्षेत्रमा लगाइएको ६० प्रतिशत धानमा रोग देखापरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जनाएको छ। ‘अहिले पूर्वी चितवनमा तीन हजार हेक्टरमा लगाइएको हर्दिनाथ-१ धानको दानामा डढुवा रोग लागेको छ,’ कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले भने, ‘तत्कालै सचेत नहुने हो भने समस्या अझ बढेर जाने देखिन्छ।’ चितवनमा आठ हजार हेक्टरमा चैते धान खेती हुने गरेको छ।

त्यसमा पूर्वी चितवनमा मात्रै पाँच हजार हेक्टरमा चैते धान लगाइन्छ। अहिले चैते धान झुल्ने बेला हो। विशेषगरी हर्दिनाथ-१ र बिजी १४४२ जातको धानमा डढुवा रोग र नेक ब्लाष्ट रोग देखापरेको तिमिल्सिनाले बताए।

यस्तै पिआर र जेरी जातमा पनि शिथब्लाइट रोग देखापरेको छ। हर्दिनाथ-१ भन्दा जेरी एक महिना अगाडि पाक्ने तर उत्पादन कम हुने गरेको किसानले बताएका छन्। त्यसले गर्दा किसानले पछिल्लो समय हर्दिनाथ-१ धान रोप्दै आएका छन्। खैरहनी नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक ध्रुव आचार्यले नगरको ६ र ७ नम्बर वडामा यो रोगले चैत धान बालीमा क्षति पुर्‍याएको बताए। नगरकै वडा नम्बर १३ का केही स्थानमा पनि रोग देखिएको उनले बताए।

लकडाउनका कारण प्राविधिकले फिल्डमा निस्कन समस्या परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकारी माधव पौडेलले बताए। ‘अहिले कोरोनाको जोखिम उच्च छ, त्यसमा पनि जथाभावी बाहिर निस्कन पाइँदैन। किसानको खेतमा पुग्नका लागि सवारी साधनसमेत हामीसँग छैन,’ उनले भने, ‘सकेसम्म हामी किसानको खेतमा पुग्ने गरेका छौं ।’

-रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?