किसानका कृषि उपज नगरपालिकाले खरिद गर्ने

स्याङजा :

भीरकोट नगरपालिकाले‘तरकारी खरिद तथा बिक्री केन्द्र’ संचालनमा ल्याएको छ । लकडाउनका कारण बजार नपाएका किसानका कृषि उपज नगरपालिकाले खरिद गर्नेगरी वडा नं. १ स्थित सिसौघारीमा केन्द्र संचालनमा ल्याएको हो ।

किसानका उत्पादनले बजार र उपभोक्ताले हरियो तरकारी खान पाउने वातावरण मिलाउने उद्देश्यले नगरपालिकाले यस्तो अभियान सुरु गरेको नगरप्रमुख छायाँराम खनालले जानकारी दिए । अहिले किसानका घरघरमा घिरौला, चिचिण्डो, काँक्रो, सिमी, करेला, लौका, फर्सी, अकबरे खुर्सानी, बन्दा, साग लगायतका मौसमी तथा बेमौसमी तरकारी फलेका छन् । ‘तिनीहरुलाई समयमै ब्यवस्थापन गर्न सकिएन भने किसानका लाखौं रुपैयाँ माटोमा मिल्छ भने कृषिप्रतिको जोस र जाँगर पनि कमी हुन्छ ’, प्रमुख खनालले भने, ‘किसान नै हाम्रा सम्मृद्धिका प्रमुख आधार हुन् । ’

केन्द्र संचालनमा ल्याएपछि यहाँका किसान र उपभोक्ता खुशी छन् । लकडाउनका कारण आफ्ना उपज बजारसम्म पुर्‍याउन नपाएका किसान नगरपालिकाको कामबाट खुशी भएको जनाए । लकडाउनका बेला पनि नगरपालिकाले किसानका मर्म बुझेर बजारीकरणको ब्यवस्था मिलाएकोमा खुशी ब्यक्त गरे भीरकोट नगरपालिका ५ पकानका मोहनीलाल चापागाईले । उनी जस्तै अर्का किसान डाँसीनारायण अर्याल पनि धेरै खुशी देखिए । यहाँ दर्जनौं ब्यावसायी किसान छन् । जसले तरकारी खेतीबाटै वार्षिक ३-४ लाख रुपैयाँ आम्दानी गर्दैआएका छन् ।

मौसमी तथा बेमौसमी तरकारी लगाउने दर्जनौं ब्यावसायी किसान छन् भीरकोटमा । पकान, तोरीडाँडा, चिदेयार, बगरेबजार, गैह्राथोक, जगतपुर, बयरघारीबजार, छाङछाङद, हेलु, बलमाटा लगायतका स्थान प्रमुख तरकारीका पकेट क्षेत्र हुन भने अन्य धेरै स्थानमा पनि तरकारी खेती गरिन्छन् । केन्द्रस्थलमा पुगेपछि सावुन पानीले हातसफा गर्नुपर्ने छ । सामाजिक दुरी कायम गरी, एकैपटक भीडभाड हुन नदिने र किसान, क्रेता र बिक्रेताबीच तालमेल मिलाइएको उपप्रमुख सीमा क्षेत्री कर्माचार्यले जानकारी दिइन् ।

नगरपालिकाले हाल कायम थोकबिक्रीको मुल्यअनुसार खरिद गर्ने र २ प्रतिशत थपलिएर उपभोक्तालाई बिक्री गर्ने जनाएको छ । किसानले बिहान ९ बजेदखि साँझ ४ बजेसम्म केन्द्रमा ल्याएर बुझाउन सक्नेछन् । उपभोक्ताले भने मध्यान्ह १२ बजेपछि मात्र खरिद गर्न पाउँछन् । किसानका उपजलाई खरिद तथा बिक्री गर्नका लागि नगरपालिकाले २ जना कर्मचारी खटाएको नगर प्रवक्ता दिपेन्द्र केसीले बताए । कृषि संयोजक समेत रहेका प्रवक्ता क्षेत्रीले थपे, ‘आफ्ना कृषि उपज बजारीकरणका लागि किसानले दिनै बिताउन नपरोस् भन्ने हाम्रो उदेश्य हो ।’ अन्नपुर्ण पोस्टमा खबर छ।

भवानी अधिकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?