किसानका कृषि उपज नगरपालिकाले खरिद गर्ने

स्याङजा :

भीरकोट नगरपालिकाले‘तरकारी खरिद तथा बिक्री केन्द्र’ संचालनमा ल्याएको छ । लकडाउनका कारण बजार नपाएका किसानका कृषि उपज नगरपालिकाले खरिद गर्नेगरी वडा नं. १ स्थित सिसौघारीमा केन्द्र संचालनमा ल्याएको हो ।

किसानका उत्पादनले बजार र उपभोक्ताले हरियो तरकारी खान पाउने वातावरण मिलाउने उद्देश्यले नगरपालिकाले यस्तो अभियान सुरु गरेको नगरप्रमुख छायाँराम खनालले जानकारी दिए । अहिले किसानका घरघरमा घिरौला, चिचिण्डो, काँक्रो, सिमी, करेला, लौका, फर्सी, अकबरे खुर्सानी, बन्दा, साग लगायतका मौसमी तथा बेमौसमी तरकारी फलेका छन् । ‘तिनीहरुलाई समयमै ब्यवस्थापन गर्न सकिएन भने किसानका लाखौं रुपैयाँ माटोमा मिल्छ भने कृषिप्रतिको जोस र जाँगर पनि कमी हुन्छ ’, प्रमुख खनालले भने, ‘किसान नै हाम्रा सम्मृद्धिका प्रमुख आधार हुन् । ’

केन्द्र संचालनमा ल्याएपछि यहाँका किसान र उपभोक्ता खुशी छन् । लकडाउनका कारण आफ्ना उपज बजारसम्म पुर्‍याउन नपाएका किसान नगरपालिकाको कामबाट खुशी भएको जनाए । लकडाउनका बेला पनि नगरपालिकाले किसानका मर्म बुझेर बजारीकरणको ब्यवस्था मिलाएकोमा खुशी ब्यक्त गरे भीरकोट नगरपालिका ५ पकानका मोहनीलाल चापागाईले । उनी जस्तै अर्का किसान डाँसीनारायण अर्याल पनि धेरै खुशी देखिए । यहाँ दर्जनौं ब्यावसायी किसान छन् । जसले तरकारी खेतीबाटै वार्षिक ३-४ लाख रुपैयाँ आम्दानी गर्दैआएका छन् ।

मौसमी तथा बेमौसमी तरकारी लगाउने दर्जनौं ब्यावसायी किसान छन् भीरकोटमा । पकान, तोरीडाँडा, चिदेयार, बगरेबजार, गैह्राथोक, जगतपुर, बयरघारीबजार, छाङछाङद, हेलु, बलमाटा लगायतका स्थान प्रमुख तरकारीका पकेट क्षेत्र हुन भने अन्य धेरै स्थानमा पनि तरकारी खेती गरिन्छन् । केन्द्रस्थलमा पुगेपछि सावुन पानीले हातसफा गर्नुपर्ने छ । सामाजिक दुरी कायम गरी, एकैपटक भीडभाड हुन नदिने र किसान, क्रेता र बिक्रेताबीच तालमेल मिलाइएको उपप्रमुख सीमा क्षेत्री कर्माचार्यले जानकारी दिइन् ।

नगरपालिकाले हाल कायम थोकबिक्रीको मुल्यअनुसार खरिद गर्ने र २ प्रतिशत थपलिएर उपभोक्तालाई बिक्री गर्ने जनाएको छ । किसानले बिहान ९ बजेदखि साँझ ४ बजेसम्म केन्द्रमा ल्याएर बुझाउन सक्नेछन् । उपभोक्ताले भने मध्यान्ह १२ बजेपछि मात्र खरिद गर्न पाउँछन् । किसानका उपजलाई खरिद तथा बिक्री गर्नका लागि नगरपालिकाले २ जना कर्मचारी खटाएको नगर प्रवक्ता दिपेन्द्र केसीले बताए । कृषि संयोजक समेत रहेका प्रवक्ता क्षेत्रीले थपे, ‘आफ्ना कृषि उपज बजारीकरणका लागि किसानले दिनै बिताउन नपरोस् भन्ने हाम्रो उदेश्य हो ।’ अन्नपुर्ण पोस्टमा खबर छ।

भवानी अधिकारी

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments