तेल उद्योग बन्द हुने अवस्थामा

विराटनगर: आयातित कच्चा तोरी प्रशोधनमा निर्भर सुनसरी–मोरङ करिडोरका तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । तेस्रो मुलुक र भारतबाट कच्चा आयातमा समस्या परेपछि लामो बन्दाबन्दीको असर तेल उद्योगमा देखिन थालेको हो ।

कच्चा अभावकै कारण विराटनगर–४, खारजीमा रहेको श्याम एग्रो इन्डस्ट्रिज भने बन्द भएको छ । त्यसबाहेक अन्य उद्योगलाई समेत कच्चा अभावको प्रभाव पर्दै गएको सम्बन्धित उद्योगीको भनाइ छ ।

श्याम एग्रोका सञ्चालक जीवन रिजालले तोरी आयातमा समस्या भएका कारण तत्काल उद्योग बन्द गर्नुपर्ने अवस्था आएको जानकारी दिनुभयोे । दैनिक १५ टन तोरी प्रशोधन गर्दै आएको उद्योग बन्द हुनुपर्ने कारणबारे सञ्चालक रिजालले क्यानडा, युक्रेन र अस्ट्रेलियाबाट पछिल्लो बन्दाबन्दीसँगै कच्चा आयात गर्न नसकिएको बताउनुभयो । यसैगरी भारतमा समेत ठूला मन्डी बन्द गराइएका कारण तोरी आयातमा समस्या परेको हो ।

अर्डर गरिसकिएको २५ कन्टेनर तोरी आउन नसक्दा उद्योग बन्द हुने अवस्था आयो, रिजालले भन्नुभयो, “कोलकाता बन्दरगाहमा समेत समस्या परिरहेको छ । ” विराटनगरकै चन्द्र शिव राइस मिलका सञ्चालक नरेश राठीका अनुसार कच्चा बोकेको जहाज कोलकाता बन्दरगाहमै धेरै दिनसम्म अड्किएर रहेको छ ।
बन्दाबन्दीको यस अवधिमा कच्चा आयात गर्न नसकेकाले एक हप्ताका लागि मात्रै भण्डारण गरिएकाले पुग्ने राठीको भनाइ छ । मेरो २६ कन्टेनर तोरी कोलकातामा रोकियो, राठीले भन्नुभयो, “मजदुर, बैङ्क प्रक्रिया, बन्दरगाहको अवस्थाले समस्या थपिदिएको छ तर कसैलाई भन्ने अवस्था पनि छैन । ”
पछिल्लो समय तोरीको मूल्य प्रतिकेजी ७५ बाट ८५ रुपियाँमा वृद्धि भएको छ । भारत निर्यात गरिने पिनासमेत गोदामै राख्नुपर्ने अवस्था आएको छ । भारत निर्यात हुँदा ४५ रुपियाँ प्रतिकेजी रहेको पिना अहिले ४० रुपियाँमा झरेको छ ।

तोरी उद्योगले भारतको बिहार र राजस्थानबाट समेत कच्चा तोरी आयात गर्दै आएका थिए तर बन्दाबन्दीपछि मन्डी नै बन्द भएपछि ल्याउनसक्ने अवस्था नरहेको हो । भारतले पछिल्लो समय तोरीमा मन्डी कर प्रतिकिलो एक रुपियाँ असुल गर्न थालेको उद्योगी बताउँछन् । भारतको बिहारमा रहेको गुलाब बाग मन्डी तोरीका लागि प्रख्यात रहेको छ ।

कच्चा मौज्दात रहेका उद्योगमा समेत एक सातालाई मात्रै पुग्ने रहेका कारण बन्दाबन्दी लम्बिँदै जाँदा आयात हुन नसके भान्सामा प्रयोग गर्ने तेलमा समस्या हुनसक्ने उद्योगीको भनाइ छ तर ठूला होटल र रेस्टुरेन्टमा खपत नहुँदा तत्कालै भान्साका लागि मात्रै तेलको अभाव हुन नसक्ने तर्क पनि गरिन्छ ।
गृहलक्ष्मी आयल मिलका सञ्चालक मुकेश बोथडाले तयारी अवस्थामा रहेको र भइरहेको कच्चा प्रशोधनबाट निस्कने तोरीले अझै डेढ महिनासम्म थेग्नसक्ने बताउनुभयो । उहाँले ठूलो घानी चलाउने उद्योगलाई कच्चाको समस्या हुने भए पनि साना घानीवाला उद्योगहरूलाई अहिले नै कच्चा अभाव नहुने बताउनुभयो ।
नेपालमा वार्षिक ५० हजार टन तोरी तेल खपत हुँदै आएको छ । जसमध्ये ९५ प्रतिशत कच्चा भने आयातमा निर्भर पर्नुपर्ने बाध्यता छ । दुई दशकअघिसम्म नेपाल तोरीमा आत्मनिर्भर रहे पनि अहिले आयात गर्नुपर्ने बाध्यता हुनुमा जमिन बाँझो र तराईमा प्लटिङ बढ्नुलाई मानिएको छ । बन्दाबन्दीमा सहरबाट गाउँ फर्केका नागरिकले घरमै प्रयोगमा आउने घिउको भुटुन चलाउने भएकाले आत्तिइहाल्नुपर्ने अवस्था छैन । गोरखापत्र अनलाइनमा खबर छ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments