लिचीको ठेक्का मूल्य करिब आधाले घट्यो : ठेक्का लाग्न अझै सकेन

लकडाउनका कारण सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको लिची ठेक्का लाग्न सकेको छैन ।

लालबन्दी नगरपालिकास्थित बागवानीमा उत्पादन भएको लिची ठेक्का नलागेको केन्द्रले जनाएको छ । केन्द्रले लिची बिक्रीका लागि प्रथमपटक १४ लाख १० हजार तीन सय दुई रुपैयाँ मूल्य राखेर बढाबढ प्रक्रियामा गत २४ वैशाखमा १५ दिने सूचना जारी गरेको थियो । १५ दिनमा कसैको पनि आवेदन नपरेपछि केन्द्रले फेरि दोस्रोपटक सूचना जारी गरेको छ ।

दोस्रोपटक सूचना जारी गरेको केन्द्रले लिचीको ठेक्का मूल्य करिब आधाले घटाएको छ । यसपटक ठेक्का मूल्य सात लाख ९२ हजार आठ सय १८ मात्र कायम गरेको केन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौबेले जानकारी दिए । गत वर्ष उक्त बगैँचाको लिची करिब २२ लाखमा ठेक्का लागेको थियो । तर, यसपटक पनि आवेदन पर्ने सम्भावना न्यून रहेको केन्द्रले जनाएको छ ।

लकडाउनका कारण बजार तथा यातायातका साधन नखुल्ने भएपछि लिची बिक्री–वितरण गर्न नसकिने भएकाले पनि ठेक्का आवेदन नपरेको हुन सक्ने केन्द्रका प्रमुख डा. चौबेको भनाइ छ । ‘ठेक्का लिएर पनि लकडाउनले गर्दा व्यापारीलाई बिक्री गर्न समस्या छ,’ उनले भने, ‘समयमै बिक्री गर्न सकिएन भने ठेक्का डुब्ने डरले पनि कसैले ठेक्का नहालेको हुन सक्छ ।’

बगैँचामा लिची पाक्न सुरु भएको दुई हप्ताभित्रमा ठेक्का र बिक्री सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उनले बताए । उनले भने, ‘पाकेको लिची बोटमा धेरै दिन राख्न सकिँदैन । समयमै टिप्न भ्याइएन भने कुहिएर झर्छ ।’ केन्द्रको १५ बिघा क्षेत्रफल बगैँचामा १६ देखि २० लाख दाना लिची फलेको अनुमान छ । नयापत्रिकामा खबर छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?