लाङटाङ चीज उत्पादन केन्द्रले चीज उत्पादन सुरु

चिज उत्पादन

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, क्यान्जिनमा रहेको लाङटाङ चीज उत्पादन केन्द्रले चीज उत्पादन सुरु गरेको छ । यसअघि बैशाख १ गतेबाट चीज उत्पादन गर्दै आएको भएपनि यसपटक लकडाउनका कारण ढिलो गरी उत्पादन सुरु गरेको हो ।

अहिले केन्द्रमा दैनिक ८० लिटरसम्म दुध संकलन हुने गरेको केन्द्र प्रमुख ग्याल्बो लामाले बताए । उनका अनुसार अहिले ८ केजीसम्म चीज उत्पादन भइरहेको छ । केन्द्रमा अहिले कृषकले दुध ल्याइरहेका छन् । पछि केन्द्रले टाढाटाढासम्म पुगेर दुध संकलन गर्छ ।

केन्द्रले गत वर्ष ४ हजार किलो चीज र ९ सय किलो मखन उत्पादन गरेको थियो । त्यो मध्ये २ हजार ७ सय केजी चीज अझै बिक्री भएको छैन । ‘यहाँ उत्पादन भएको चीज यही खपत हुँदै आएको थियो’, उनले भने, ‘यस वर्ष पर्यटक नआउँदा चीज स्टक बसेको हो ।’

जिल्लाको अन्य पाँच वटा उत्पादन केन्द्रले भने दुग्ध विकास संस्थानमा नै लैजाने गरेका छन् । जिल्लामा गत वर्ष चारवटा उत्पादन केन्द्रले ३९ हजार ६ सय ८० किलो याक चीज उत्पादन गरेका थिए ।

गएको वर्ष गोसाइँकुण्ड चीज उत्पादन केन्द्र चन्दनबारीले ११ हजार किलो याक चीज र ३ हजार ९ सय किलो मखन, पाङलेखर्क चीज उत्पादन केन्द्रले ११ हजार ३ सय ८० किलो याक चीज र ३ हजार ९ सय किलो मखन र गत्लाङले १३ हजार ३ सय किलो याक चीज र ३ हजार ७ सय किलो मखन उत्पादन गरेका थिए ।

दुग्ध विकास संस्थानद्वारा सञ्चालित केन्द्रमा उत्पादन भएको चीज तथा मखन केही मात्रामा स्थानीय बजारमा खपत हुने र बाँकी संस्थानमा नै लैजाने गरिएको छ । जिल्लाको चारवटा केन्द्रमा वार्षिक ३६ हजार केजी चीज उत्पादन गर्ने क्षमता रहेको छ ।

चिसो समयमा दुध कम उत्पादन हुने र नजम्ने समस्या कारण ६ महिना उत्पादन बन्द हुने गरेको उनले बताए । गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र लाङटाङमा ६ हजार किलो चिज उत्पादन गर्ने क्षमता रहेको छ । जिल्लामा वैशाखदेखि असोज मसान्तसम्म चीज उत्पादन हुने गरेको छ । नागरिक दैनिकमा खबर छ।
हिमनाथ देवकोटा

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments