बजेटप्रति कृषि मन्त्रालयको असन्तुष्टि

काठमाडौं: सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेटप्रति कृषि तथा पशुपक्षी विकास मन्त्रालयले असन्तुष्टि जनाएको छ ।

मन्त्रालयले आगामी वर्षको बजेट मन्त्रालयको प्रस्तावित योजनाअनुसार नआएको भन्दै असन्तुष्टि जनाएको हो ।

मन्त्रालयले उत्पादन सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवा–टेवा, सस्तो र सुलभ ऋण, बाली तथा पशुपक्षी बिमा र न्यूनतम् बचतको ग्यारेन्टीलगायतका योजना अघि सारेको थियो ।

मन्त्रालयबाट प्रस्ताव गरेको कार्यक्रम बजेटमा समावेश भएपनि मन्त्रालयको अवधारणाअनुसार नआएको मन्त्रालयका उपसचिव डा. गंगा आचार्यले बताए ।

कृषि मन्त्रालयले कृषिजन्य उपजको उत्पादन वृद्धि गर्ने नारासहित पाँचओटा नीतिगत आधार तयार गरेपनि ती आधारलाई प्रस्टिने गरी बजेट नआएका कारण भ्रम सिर्जना भएको आचार्यले बताए ।

उनले बजेटमा आएको विभिन्न कार्यक्रम निराशाजनक नभएपनि मन्त्रालयको योजनाअनुसार भने नआएको बताए ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा कृषि बिमा गर्ने, एक स्थानीय तह एक उत्पादन, सिँचाइ, मल, बीउ, पुँजी प्रविधि तथा बजार सुनिश्चितता कार्यक्रम अघि सारेको छ ।

यस्तै, रासायनिक मलको पर्याप्त आपूर्ति, खाद्य भन्डारण केन्द्र स्थापना, सबै स्थानीय तहमा एक कृषि र पशु प्राविधिक तथा किसानलाई ऋणमा सहजीकरण गर्न किसान क्रेडिट कार्डको व्यवस्था गरेको छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments